यहूदामाथि मिस्रको हमला
12
अनि यस्तो भयो: जब रहबामले राज्यलाई स्थापित गरे, र आफू पनि बलिया भए, तब उनले र उनको साथमा सारा इस्राएलले परमप्रभुको व्यवस्थालाई त्यागे। 2 अनि यस्तो भयो: उनीहरूले परमप्रभुको विरोधमा अपराध गरेका हुनाले राजा रहबामको पाँचौं वर्षमा मिस्रका राजा शिशकले 3 बाह्र सय रथ र साठी हजार घोड़चढ़ीहरू लिएर यरूशलेममाथि चढ़ाइ गरे; अनि तिनीसँग मिस्रबाट आएका मानिसहरू अनगन्ती थिए: लूबीहरू, सुक्कीहरू र कूशीहरू। 4 अनि तिनले यहूदाका पर्खालले घेरिएका शहरहरू कब्जा गरे, र तिनी यरूशलेमसम्म आए। 5 तब भविष्यवक्ता शमायाह रहबामकहाँ र शिशकको कारणले यरूशलेममा भेला भएका यहूदाका शासकहरूकहाँ आए, र उनीहरूलाई भने: “परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूले मलाई त्यागेका छौ; यसकारण मैले पनि तिमीहरूलाई शिशकको हातमा छोड़िदिएको छु।” 6 तब इस्राएलका शासकहरू र राजाले आफूलाई नम्र तुल्याए, र भने: “परमप्रभु धर्मी हुनुहुन्छ।” 7 अनि जब परमप्रभुले उनीहरूले आफूलाई नम्र तुल्याएका देख्नुभयो, तब शमायाहकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: “उनीहरूले आफूलाई नम्र तुल्याएका छन्; यसकारण म उनीहरूलाई नाश गर्नेछैनँ, तर उनीहरूलाई केही मात्रामा छुटकाराक दिनेछु; अनि मेरो क्रोध शिशकद्वारा यरूशलेममाथि खन्याइनेछैन। 8 तापनि उनीहरू तिनका दास हुनेछन्, र उनीहरूले मेरो सेवा र देश-देशका राज्यहरूको सेवामा के भिन्नता रहेछ, सो जानून्।”9 अनि मिस्रका राजा शिशकले यरूशलेममाथि चढ़ाइ गरे, र परमप्रभुको भवनका धनसम्पत्ति र राजभवनका धनसम्पत्ति लगिदिए; अँ, तिनले सबै थोकहरू लगिदिए। अनि तिनले सुलेमानले बनाएका सुनका ढालहरू पनि लगे। 10 ती ढालहरूको सट्टामा राजा रहबामले पित्तलका ढालहरू बनाए, र तिनलाई ती पहरेदारहरूकाख प्रधानहरूको हातमा सुम्पे, जसले राजभवनको मूलढोकाको रखवाली गर्थेग। 11 अनि जब-जब राजा परमप्रभुको भवनमा जान्थे, तब-तब ती पहरेदारहरू आउँथे र ती ढालहरू बोक्ने गर्थे, त्यसपछि तिनलाई फेरि पहरेदारहरूको कोठामा फर्काउँथे।
12 अनि जब उनले आफूलाई नम्र तुल्याए, तब उनीबाट परमेश्वरको क्रोध हट्यो, र उहाँले उनलाई सम्पूर्ण रूपले नाश गर्नुभएन; अनि यहूदामा पनि कुराहरू ठीकसँग चल्न थाले।
13 यसरी राजा रहबामले यरूशलेममा आफूलाई बलियो पारेर राज्य गरे। किनकि राज्य गर्न शुरु गर्दा रहबाम एकचालीस वर्षका थिए; अनि उनले सत्र वर्ष यरूशलेममा अर्थात् त्यस शहरमा राज्य गरे, जुन शहर परमप्रभुले त्यहाँ आफ्नो नाम राख्न भनेर इस्राएलका सबै कुलहरूको बीचबाट चुन्नुभएको थियो। अनि तिनकी आमाको नाम नामा थियो, जो अम्मोनी थिइन्। 14 अनि उनले खराबी गरे; किनकि तिनले परमप्रभुको खोजी गर्न आफ्नो मन लगाएनन्।
15 अनि रहबामका शुरुदेखि अन्तसम्मका कामकुराहरू – के ती कुराहरू वंशावलीअनुसार भविष्यवक्ता शमायाह र दर्शी इद्दोको पुस्तकमा लेखिएका छैनन् र? अनि रहबाम र यारोबामको बीचमा निरन्तर लड़ाइँ भइरह्यो। 16 अनि रहबाम आफ्ना पितापुर्खाहरूसित सुते, र दाऊदको शहरमा गाड़िए; अनि उनको सट्टामा उनका छोरा अबियाहलेघ राज्य गरे।