यहूदामाथि रहबामको शासन
11
अनि जब रहबाम यरूशलेममा आइपुगे, तब राज्य आफ्नो हातमा फिर्ता ल्याउने उद्देश्यले रहबामले इस्राएलसँग लड़ाइँ गर्नलाई यहूदाको घराना र बिन्यामिनको घरानाबाट एक लाख अस्सी हजार चुनिएका योद्धाहरू भेला पारे। 2 तर परमेश्‍वरको जन शमायाहकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 3 “यहूदाका राजा अर्थात् सुलेमानका छोरा रहबामलाई, साथै यहूदा र बिन्यामिनमा भएको सारा इस्राएललाई यसो भन: 4 ‘परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरू माथि नजाओ, र आफ्नै दाजुभाइहरूसित लड़ाइँ नगर! तिमीहरू हरेक आ-आफ्नो घर फर्क; किनकि यो कुराचाहिँ मबाट भएको हो।’ ” तब तिनीहरूले परमप्रभुका वचनहरू माने र यारोबाममाथि चढ़ाइ नगरी फर्के।
5 अनि रहबाम यरूशलेममा बसे, र यहूदामा सुरक्षाका निम्ति शहरहरू निर्माण गरे; 6 अनि उनले बेतलेहेम, एताम, टेकोअ, 7 बेतसूर, सोको, अदुल्‍लाम, 8 गात, मारेशा, जीप, 9 अदोरैम, लाकीश, अजेका, 10 सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे, जुनचाहिँ यहूदा र बिन्यामिनमा पर्खालले घेरिएका शहरहरू हुन्। 11 अनि उनले किल्‍लाहरू बलियो पारे, र तिनमा कप्‍तानहरूलाई, साथै खानेकुरा, तेल र दाखमद्यका भण्डारहरू राखे। 12 अनि उनले हरेक शहरमा ठूला ढालहरू र भालाहरू राखेर तिनलाई अति बलियो पारे; यहूदा र बिन्यामिन उनको साथमा थिए।
इस्राएलबाट पूजाहारी र लेवीहरू यहूदामा फर्के
13 तब सारा इस्राएलमा भएका पूजाहारीहरू र लेवीहरू आ-आफ्ना इलाकाहरूबाट उनीकहाँ हाजिर भए; 14 किनभने लेवीहरूले आफ्ना खुला जमिनहरू र आफ्ना अधिकारका भागहरू छोड़ेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले उनीहरूलाई परमप्रभुको पूजाहारी-सेवाबाट निकालिदिएका थिए। 15 अनि तिनले डाँड़ाका थानहरूका निम्ति, दुष्‍ट आत्माहरू र आफूले बनाएका बाछाहरूका निम्ति पूजाहारीहरूलाई नियुक्त गरे। 16 अनि उनीहरूको पछि-पछि इस्राएलका सबै कुलहरूबाट जस-जसले परमप्रभु इस्राएलका परमेश्‍वरको खोजी गर्नलाई आफ्नो मन लगाए, तिनीहरू परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरका निम्ति बलि चढ़ाउनलाई यरूशलेममा आए। 17 यसरी उनीहरूले यहूदाको राज्यलाई बलियो पारे, र तीन वर्षसम्म सुलेमानका छोरा रहबामलाई बलियो तुल्याए; किनभने तीन वर्षसम्म उनीहरू दाऊद र सुलेमानको मार्गमा हिँड़े।
18 अनि रहबामले दाऊदका छोरा यरिमोतकी छोरी, अर्थात् यिशाईका छोरा एलिआबकी छोरी अबिहेलकी छोरी महलतलाई विवाह गरे 19 महलतले उनका निम्ति यी छोराहरू जन्माइन् – यउश, शमर्याह र जाहम। 20 अनि महलतपछि उनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले उनका निम्ति अबियाह, अत्तै, जिजा र शलोमितलाई जन्माइन्। 21 अनि रहबामले अब्शालोमकी छोरी माकालाई आफ्ना सबै पत्‍नीहरू र आफ्ना उपपत्‍नीहरूभन्दा बढ़ी प्रेम गर्थे; (किनभने उनले अठार पत्‍नी र साठी उपपत्‍नीहरूलाई राखेका थिए, अनि अठाइस छोराहरूलाई र साठी छोरीहरूलाई जन्माए)। 22 अनि रहबामले माकाका छोरा अबियाहलाई तिनका दाजुभाइहरूको बीचमा शासक हुनलाई प्रधान ठहऱ्याए; किनकि यिनलाई नै राजा तुल्याउने उनको इच्छा थियो। 23 अनि उनले बुद्धिमानीसाथ काम गरे, अनि आफ्ना सबै छोराहरूबाट कसै-कसैलाई लिएर यहूदा र बिन्यामिनका सबै देशभरि हरेक पर्खालले घेरिएको शहरमा यताउता पठाइदिए, र तिनीहरूलाई प्रशस्त खानेकुरा दिए। अनि उनले तिनीहरूका निम्ति धेरै पत्‍नीहरूलाई खोजिदिए।