इस्राएल दुई राज्यमा विभाजन भएको
10
अनि रहबाम शेकेममा गए; किनभने सारा इस्राएल उनलाई राजा बनाउनलाई शेकेममा आएका थिए। 2 अनि यस्तो भयो: जब नबातका छोरा यारोबामले अझै मिस्रमा हुँदा नै यो कुरा सुने, जहाँ तिनी राजा सुलेमानको सामुदेखि भागेर गएका थिए, तब यारोबाम मिस्रबाट फर्के। 3 अनि मानिसहरूलेक पठाए र तिनलाई बोलाए। तब यारोबाम र सारा इस्राएल आए, र रहबामलाई यसो भने: 4 “तपाईंका पिताले हाम्रो जुवा कष्टपूर्ण पारिदिनुभएको थियो; यसकारण तपाईंले अब तपाईंका पिताको त्यो कष्टपूर्ण सेवा र उनले हामीमाथि हालिदिएको उनको त्यो गह्रौं जुवा हलुङ्गो पारिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।” 5 अनि उनले तिनीहरूलाई भने: “तीन दिनपछि मकहाँ फर्केर आओ!” तब मानिसहरू गइहाले।6 अनि राजा रहबामले आफ्ना बुबा सुलेमान जीवित हुँदा उनको सामु खड़ा रहेका बूढ़ा प्रधानहरूसित यसो भन्दै सल्लाह लिए: “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्लाह दिनुहुन्छ?” 7 अनि उनीहरूले उनलाई यसो भने: “तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो, तिनीहरूलाई खुशी पार्नुभयो र तिनीहरूसित असल-असल शब्दहरू बोल्नुभयो भने तिनीहरू सधैंभरि तपाईंका दासहरू हुनेछन्।” 8 तर उनले ती बूढ़ा प्रधानहरूले उनलाई दिएको सल्लाह त्यागे, र आफूसँगै हुर्केबढ़ेका, आफ्नो सामु खड़ा रहने जवान मानिसहरूसित सल्लाह लिए। 9 अनि उनले तिनीहरूलाई भने: “जुन मानिसहरूले मलाई ‘तपाईंका पिताले हामीमाथि हालिदिनुभएको जुवा अलिक हलुङ्गो पारिदिनुहोस्’ भनी भनेका छन्, यिनीहरूलाई म के जवाफ दिऊँ? तिमीहरूले के सल्लाह दिन्छौ?” 10 तब उनीसँग हुर्केबढ़ेका ती जवान मानिसहरूले उनलाई यसो भने: “जुन मानिसहरूले तपाईंलाई ‘तपाईंका पिताले हाम्रो जुवा गह्रौं पारिदिनुभएको थियो; तर तपाईंले चाहिँ यसलाई हाम्रा निम्ति अलिक हलुङ्गो पारिदिनुहोस्’ भनी भनेका छन्, तिनीहरूसित यसो कुरा गर्नुहोस्: ‘मेरो कान्छी औंला मेरा पिताको कम्मरभन्दा मोटो हुनेछ। 11 अनि अब मेरा पिताले तिमीहरूमाथि गह्रौं जुवा हाल्नुभयो भने तिमीहरूको जुवामाथि म अझै थपिदिनेछु; मेरा पिताले तिमीहरूलाई कोर्राहरूले ताड़ना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले ताड़ना दिनेछु।’ ”
12 तब ‘तेस्रो दिनमा मकहाँ फर्केर आओ’ भनी राजाले अह्राएअनुसार तेस्रो दिनमा यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए। 13 अनि राजाले उनीहरूलाई कठोर जवाफ दिए, र बूढ़ा प्रधानहरूको सल्लाह त्यागे; 14 अनि ती जवान मानिसहरूको सल्लाहअनुसार उनले तिनीहरूलाई यसरी जवाफ दिए: “मेरा पिताले तिमीहरूको जुवा गह्रौं पार्नुभयो; तर मचाहिँ त्यसमाथि अझै थपिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राहरूले ताड़ना दिनुभयो; तर म त तिमीहरूलाई बिच्छीहरूले ताड़ना दिनेछु।” 15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्ख; किनभने योचाहिँ परमप्रभुले शिलोनी अहियाहद्वारा नबातका छोरा यारोबामलाई भन्नुभएको आफ्नो वचन पूरा गर्नलाई परमेश्वरबाट भएको मोड़ थियो।
16 अनि जब राजाले तिनीहरूको कुरा नमान्ने रहेछन् भनी सारा इस्राएलले थाहा पाएग, तब ती मानिसहरूले राजालाई यसो भन्दै जवाफ दिए: “दाऊदमा हाम्रो के हिस्सा छ र? अँ, यिशाईका छोरामा हाम्रो कुनै अधिकारको भाग छैन। हे इस्राएलहो, आफ्नो पालतिर लाग! हे दाऊद, अब आफ्नै घर सम्हाल!” तब सारा इस्राएल आ-आफ्ना पालतिर लागे। 17 तर यहूदाका शहरहरूमा बस्ने इस्राएलीहरू – तिनीहरूमाथि चाहिँ रहबामले राज्य गरे। 18 तब राजा रहबामले बेगारीमाथिका अधिकारी हदोरामलाईघ पठाए; अनि इस्राएलीहरूले तिनलाई ढुङ्गाहरूले हाने, र तिनी मरे। तब राजा रहबाम यरूशलेमतिर भाग्न हतार-हतार आफ्नो रथमा चढ़े। 19 यसरी इस्राएलले आजको दिनसम्म दाऊदको घरानाको विरोधमा विद्रोह गर्यो।