सुलेमानका अन्य कामहरू
8
अनि बीस वर्षको अन्तमा, जो अवधिभित्र सुलेमानले परमप्रभुको भवन र आफ्नो भवन बनाइसके, यस्तो भयो: 2 हूरामले सुलेमानलाई दिएका शहरहरू सुलेमानले निर्माण गरे, र त्यहीं इस्राएलीहरूलाई बसाए। 3 अनि सुलेमान हमात-जोबाहमा गएर त्यसमाथि विजयी भए। 4 अनि तिनले उजाड़स्थानमा तद्मोर र सबै भण्डारका शहरहरू बनाए, जुन शहरहरू तिनले हमातमा बनाए। 5 अनि तिनले माथिल्लो बेत-होरोन र तल्ला बेत-होरोन बनाए, जुनचाहिँ पर्खालहरू, मूल-ढोकाहरू र आग्लाहरूले बलिया पारिएका शहरहरू थिए; 6 साथै बालात, अनि सुलेमानका सबै भण्डारका शहरहरू, रथहरूका शहरहरू, घोड़चढ़ीहरूका शहरहरू र यरूशलेममा, लेबानोनमा र आफ्नो अधिकारको सारा देशमा सुलेमानलाई जे-जे बनाउन इच्छा लाग्यो, सो तिनले बनाए।7 हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूबाट बाँकी रहेका सबै मानिसहरू, जो इस्राएलबाटका थिएनन्, 8 तिनीहरूका सन्तानहरू, जो तिनीहरूपछि देशमा बाँकी रहे, जसलाई इस्राएलीहरूले सखाप गरेनन्, तिनीहरूलाई नै सुलेमानले बेगारीमा लगाए, जस्तो आजको दिनसम्म भइरहेको छ। 9 तर इस्राएलीहरूबाट सुलेमानले कसैलाई पनि आफ्नो कामका निम्ति कमारा बनाएनन्; तर उनीहरूचाहिँ योद्धाहरू, तिनका कप्तानका प्रधानहरू अनि तिनका रथहरू र घोड़चढ़ीहरूका कप्तानहरू थिए। 10 अनि यिनीहरू राजा सुलेमानका अढ़ाई सय अफिसरहरूका प्रधानहरू थिए, जसले मानिसहरूमाथि शासन गर्थे।
11 अनि सुलेमानले फाराओकी छोरीलाई दाऊदको शहरबाट माथि तिनले यिनका निम्ति बनाइदिएको भवनमा ल्याए; किनभने तिनले भन्थे: “इस्राएलका राजा दाऊदको भवनमा मेरी पत्नी बस्नुहुँदैन; किनकि जुन ठाउँहरूमा परमप्रभुको सन्दुक आएको छ, ती ठाउँहरू पवित्र छन्।”
12 तब सुलेमानले दलानको सामु आफूले बनाएको परमप्रभुको वेदीमाथि परमप्रभुका निम्ति होमबलिहरू चढ़ाए; 13 अँ, तिनले हरेक दिनको आवश्यकताअनुसार, मोशाको आज्ञाबमोजिम विश्रामदिनहरू, औंसीहरू र तोकिएका चाड़हरूमा वर्षमा तीनपल्ट अर्थात् अखमिरे रोटीहरूको चाड़, हप्ताहरूको चाड़ र झुपड़ीहरूको चाड़मा चढ़ाउने गर्थे। 14 अनि तिनले आफ्ना पिता दाऊदको आदेशअनुसार पूजाहारीहरूका दलहरूलाई उनीहरूका सेवाका निम्ति, अनि हरेक दिनको आवश्यकताअनुसार स्तुति गर्न र पूजाहारीहरूको सामु सेवा गर्न लेवीहरूलाई तिनीहरूका अभिभाराहरूका निम्ति, र एक-एक मूलढोकामा द्वारपालहरूलाई यिनीहरूका दलहरूअनुसार खटाए; किनकि परमेश्वरको जन दाऊदको आज्ञा यस्तै थियो। 15 अनि कुनै पनि विषयमा वा भण्डारहरूको विषयमा पूजाहारीहरू र लेवीहरूलाई दिइएको राजाको आज्ञाबाट उनीहरू हटेनन्। 16 अब परमप्रभुको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सुलेमानको सबै कामको व्यवस्था मिलेको थियो। यसरी परमप्रभुको भवन बनिसिद्धियो।