स्वर्गबाट आगो झर्‍यो र परमप्रभुको महिमाले भवनलाई भर्‍यो
7
अनि जब सुलेमानले प्रार्थना गरिसके, तब स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले त्यो होमबलि र ती बलिहरू भस्म पार्‍यो; अनि त्यो भवन परमप्रभुको महिमाले भरियो। 2 अनि पूजाहारीहरू परमप्रभुको भवनभित्र पस्‍न सकेनन्; किनभने परमप्रभुको महिमाले परमप्रभुको भवन भरिएको थियो। 3 अनि जब सबै इस्राएलीहरूले आगो झरेको र त्यस भवनमाथि परमप्रभुको महिमा आएको देखे, तब तिनीहरूले फर्समाथि भुइँसम्‍म आफ्ना शिर झुकाएर दण्‍डवत्‌ गरे, र यसो भन्दै परमप्रभुको प्रशंसा गरे: “किनकि उहाँ भला हुनुहुन्छ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।”
4 तब राजा र सबै मानिसहरूले परमप्रभुको सामु बलिहरू चढ़ाए। 5 अनि राजा सुलेमानले बाइस हजार बहरहरू र एक लाख बीस हजार भेड़ाहरू बलि चढ़ाए। यसरी नै राजा र सबै मानिसहरूले परमेश्‍वरको भवनलाई समर्पण गरे। 6 अनि पूजाहारीहरूले आ-आफ्नो कार्यभार सम्हालिरहेका थिए, साथै लेवीहरू पनि परमप्रभुका ती बाजाहरूसित उपस्थित थिए, जुन बाजाहरू राजा दाऊदले ‘किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ’ भन्दै परमप्रभुको प्रशंसा गर्नलाई त्यस बेलाका निम्ति बनाएका थिए, जति बेला दाऊदले लेवीहरूको सेवा लिएर स्तुति गरेका थिए। अनि पूजाहारीहरूले उनीहरूको अघि तुरहीहरू फुके; अनि सारा इस्राएल खड़ा थियो। 7 अनि सुलेमानले परमप्रभुको भवनको सामु भएको चोकको बीच-भाग पवित्र गरे; किनकि त्यहीं तिनले होमबलिहरू, अनि मेलबलिहरूको बोसो चढ़ाए; किनभने सुलेमानले बनाएको त्यस पित्तलको वेदीचाहिँ ती होमबलिहरू, अन्‍नबलिहरू र बोसो अटाउन सानो भयो।
8 अनि त्यसै बेला सुलेमान र तिनको साथमा हमातको पस्‍ने ठाउँदेखि लिएर मिस्रको नदीसम्मको सारा इस्राएल – एउटा अत्यन्तै ठूलो समुदायले सात दिनसम्म चाड़ मनाए। 9 अनि आठौं दिनमा उनीहरूले पवित्र महासभा राखे; किनभने सात दिनसम्म उनीहरूले वेदीको समर्पण-सेवा गरे, र सात दिनसम्म चाड़ मनाए। 10 अनि सातौं महिनाको तेइसौं दिनमा परमप्रभुले दाऊद, सुलेमान र आफ्नो प्रजा इस्राएलप्रति गर्नुभएको भलाइका निम्ति रमाउँदै र आनन्दित हृदय लिएर मानिसहरूलाई सुलेमानले आ-आफ्ना वासस्थानहरूतिर जाऊन् भनेर बिदा गरे
11 यसरी सुलेमानले परमप्रभुको भवन र राजभवन बनाइसिद्ध्याए; अनि परमप्रभुको भवन र आफ्नो भवनमा जे-जे बनाउने चाहना सुलेमानको हृदयमा आयो, त्यो सबैमा तिनी सफल भए।
परमेश्‍वरले सुलेमानलाई प्रार्थनाको उत्तर दिनुभएको
12 अनि राति परमप्रभु सुलेमानकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना सुनेको छु, अनि यो ठाउँ मैले आफ्ना निम्ति बलि चढ़ाउने भवनको रूपमा चुनेको छु; 13 हेर, मैले पानी नपरोस् भनी आकाश बन्द गरें भने, वा मैले देशलाई स्वाहा पार्न भनी सलहहरूलाई आज्ञा गरें भने, वा मेरो प्रजाको बीचमा महामारी पठाएँ भने, 14 मेरो नामले कहलाइएका मेरा जनहरूले आफूलाई नम्र तुल्याए, प्रार्थना गरे र मेरो चेहराको खोजी गरे अनि आफ्ना दुष्‍ट चालहरूबाट फर्के भने म स्वर्गबाट सुन्‍नेछु, उनीहरूको पाप क्षमा गरिदिनेछु र उनीहरूको देशलाई निको पारिदिनेछु। 15 अब यस ठाउँमा गरिने प्रार्थनाप्रति मेरा आँखाहरू खुला रहनेछन् र मेरा कानहरूले ध्यान दिनेछन्। 16 किनभने अब यहाँ मेरो नाम सदा-सर्वदा रहिरहोस् भनेर मैले यो भवन चुनेको र पवित्र पारेको छु; अनि मेरा आँखाहरू र मेरो हृदय नित्य यहीं रहिरहनेछन्। 17 अनि तिमीचाहिँ – यदि तिमी मेरो सामु आफ्ना पिता दाऊद हिँड़ेझैं हिँड्यौ र मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरूअनुसार तिमीले गर्‍यौ भने, अनि मेरा नियमहरू र मेरा न्याय-वचनहरू पालन गर्‍यौ भने, 18 म तिम्रो राज्यको सिंहासन स्थापित गर्नेछु, जसरी मैले तिम्रा बुबा दाऊदसित यसो भन्दै वाचा बाँधेको थिएँ: ‘इस्राएलमा राज्य गर्न तिमीलाई कुनै मानिसको अभाव हुनेछैन’; 19 तर तिमीहरू हटेर मैले तिमीहरूको सामु राखिदिएका मेरा नियमहरू र मेरा आज्ञाहरूलाई त्याग्यौ, र गएर अन्य देवताहरूको पूजा गर्‍यौ र तिनीहरूलाई दण्‍डवत्‌ गर्‍यौ भने, 20 मैले उनीहरूलाई दिएको मेरो देशबाट म उनीहरूलाई जरैबाट उखेलिदिनेछु; अनि मैले आफ्नो नामका निम्ति पवित्र पारेको यो भवन म आफ्नो दृष्‍टिबाट फालिदिनेछु, र यसलाई सबै जातिहरूको बीचमा एउटा उपमा र हाँसोको पात्र तुल्याइदिनेछु। 21 अनि यो उच्‍च तुल्याइएको भवनचाहिँ यहाँबाट भएर जाने हरेकका निम्ति एउटा अवाक् पार्ने कारण हुनेछ; अनि उसले यसो भन्‍नेछ: ‘परमप्रभुले यस देश र यस भवनलाई किन यस्तो गर्नुभएको होला नि?’ 22 तब यस्तो जवाफ दिइनेछ: ‘किनभने यिनीहरूले आफूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुने परमप्रभु तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, अन्य देवताहरूलाई अँगाले, तिनीहरूलाई दण्‍डवत्‌ गरे र तिनीहरूको पूजा गरे; यसैकारण उहाँले यिनीहरूमाथि यो सबै विपत्ति ल्याउनुभएको हो।’ ”