सुलेमानले वाचाको सन्दुक परमप्रभुको भवनभित्र ल्याए
5
यसरी परमप्रभुको भवनका निम्ति सुलेमानले गरेको सब काम बनिसिद्धियो; अनि सुलेमानले आफ्ना पिता दाऊदले अर्पण गरेका थोकहरू अर्थात् चाँदी, सुन र सबै भाँड़ाकुँड़ाहरू भित्र ल्याएर परमेश्‍वरको भवनका भण्डारहरूमा राखे।
2 तब सुलेमानले दाऊदको शहर अर्थात् सियोनबाट परमप्रभुको वाचाको सन्दुक माथि ल्याउनलाई इस्राएलका बूढ़ा प्रधानहरू, सबै कुलहरूका सबै प्रधानहरू अर्थात् इस्राएलीहरूका पितापुर्खाहरूका प्रधानहरूलाई यरूशलेममा भेला गरे। 3 यसैले सातौं महिनामा, चाड़को समयमा इस्राएलका सबै मानिसहरू राजाकहाँ भेला भए। 4 अनि इस्राएलका सबै बूढ़ा प्रधानहरू आए; अनि लेवीहरूले त्यो सन्दुक उठाए। 5 अनि उनीहरूले त्यो सन्दुक, भेट हुने पाल र त्यस पालभित्र भएका सबै पवित्र पात्रहरू माथि ल्याए – ती थोकहरू पूजाहारीहरू र लेवीहरूले माथि ल्याए। 6 अनि राजा सुलेमानले र सन्दुकको सामु तिनीकहाँ भेला भएको इस्राएलको सारा समुदायले भेड़ाहरू र बहरहरू बलि चढ़ाइरहेका थिए, जो अति धेरै भएका हुनाले गन्ती गर्न सकिँदैनथियो, न ता संख्या लिन सकिन्थ्यो। 7 अनि पूजाहारीहरूले परमप्रभुको वाचाको सन्दुक भित्र त्यसको ठाउँमा अर्थात् त्यस भवनको भित्री पवित्रस्थानमा, अँ, महापवित्रस्थानभित्र करूबहरूका पखेटामुनि ल्याए। 8 किनकि ती करूबहरूले त्यस सन्दुक भएको ठाउँमाथि आफ्ना पखेटाहरू फैलाइरहेका थिए; अनि ती करूबहरूले त्यो सन्दुक र त्यसका डण्डाहरू माथिबाट ढाकेका थिए। 9 अनि उनीहरूले ती सन्दुकका डण्डाहरू यति लामा थिए, कि ती डण्डाहरूका टुप्पाहरू त्यस सन्दुकबाट बाहिर भित्री पवित्रस्थानको सामु देखिन्थे; तर बाहिरचाहिँ ती देखिँदैनथिए। अनि आजको दिनसम्म ती त्यहाँ छन्। 10 त्यस सन्दुकभित्र ती दुईवटा पाटीबाहेक अरू केही पनि थिएन, जुन पाटीहरू इस्राएलीहरू मिस्रबाट निस्केर आउँदा परमप्रभुले उनीहरूसित वाचा बाँध्‍नुभएको बेलामा होरेबमा मोशाले त्यसभित्र हालेका थिए।
11 अनि यस्तो भयो: जब पूजाहारीहरू पवित्रस्थानबाट निस्केर आए; (किनभने त्यहाँ उपस्थित भएका सबै पूजाहारीहरूले आ-आफ्नो दलको पालो नपर्खीकनै आफूलाई पवित्र गरेका थिए; 12 अनि लेवी गायकहरू, अँ, उनीहरू सबैजना अर्थात् आसाफ, हेमान र यदूतून उनीहरूका छोराहरू र उनीहरूका दाजुभाइहरूको साथमा मिहिन मलमलको वस्त्र पहिरेको अवस्थामा झ्याली, सितार र वीणाहरू लिएर वेदीको पूर्वपट्टि उभिएका थिए, र उनीहरूको साथमा एक सय बीस पूजाहारीहरूले तुरहीहरू फुकिरहेका थिए); 13 तब यस्तो भयो: जब तुरही फुक्नेहरू र गायकहरू एउटै मानिस भई एउटै आवाज निकालेर परमप्रभुलाई स्तुति गरिरहेका र धन्‍यबाद चढ़ाइरहेका थिए; अनि जब उनीहरूले तुरही, झ्याली र अरू बाजाहरू बजाउँदै आफ्नो सोर उचालेर ‘किनभने उहाँ भला हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ’ भन्दै परमप्रभुको स्तुति गरिरहेका थिए, तब त्यो भवन, अँ, परमप्रभुको भवन बादलले यतिसम्म भरियो, 14 कि त्यस बादलले गर्दा पूजाहारीहरूले सेवा गर्नलाई खड़ा रहन सकेनन्; किनभने परमप्रभुको महिमाले परमेश्‍वरको भवन भरिएको थियो।