परमप्रभुको भवनको निर्माण
3
तब सुलेमानले यरूशलेममा, मोरियाह पहाड़मा, जहाँ परमप्रभु तिनको पिता दाऊदकहाँ देखा पर्नुभएको थियो अर्थात् ती यबूसी ओर्नानको खलामा दाऊदले तयार पारेको ठाउँमा परमप्रभुको भवन बनाउन शुरु गरे। 2 अनि तिनले आफ्नो शासनकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा बनाउन शुरु गरे।
3 अब परमेश्‍वरको भवन बनाउनका निम्ति सुलेमानले हालेको जगको नाप यस प्रकारको थियो: हातहरूको पहिलेको नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो। 4 अनि भवनको अगाड़िको दलानको लमाइ भवनको चौड़ाइअनुसार बीस हात थियो, र उचाइ एक सय बीस हातको थियो। अनि तिनले त्यसलाई, त्यसको भित्रपट्टि, निखुर सुनले मोहोरे। 5 अनि ठूलो भवनलाई तिनले सल्‍लाका तख्ताहरूले ढाके, त्यसलाई उत्तम सुनले मोहोरे अनि त्यसमाथि खजुरका रूखहरू र साङ्लाका मालाहरू खोपेर लगाए। 6 अनि सोभाका निम्ति तिनले त्यस भवनलाई बहुमूल्य पत्थरहरूले सजाए; अनि सुनचाहिँ पर्वैमबाटको सुन थियो। 7 तिनले त्यस भवनलाई अर्थात् ती निदालहरू, खाँबाहरू, त्यसका भित्ताहरू र त्यसका ढोकाहरू सुनले मोहोरे; अनि भित्ताहरूमा तिनले करूबहरू खोपे।
8 अनि तिनले महापवित्र भवन बनाए, जसको लमाइ भवनको चौड़ाइअनुसार बीस हात र चौड़ाइ बीस हात थियो। अनि तिनले त्यसलाई छ सय किक्‍कर उत्तम सुनले मोहोरे। 9 कीलाहरूको वजन पचास शेकेल सुनको थियो। अनि तिनले माथिल्‍ला कोठाहरू सुनले मोहोरे। 10 अनि महापवित्र भवनभित्र तिनले शिल्पकलाको कामअनुसार दुईवटा करूबहरू बनाए, र तिनलाई सुनले मोहोरे। 11 अनि ती करूबहरूका पखेटाहरू बीस हात लामा थिए – एउटा करूबको एक पखेटा भवनको भित्तासम्म छुने गरी पाँच हातको थियो र त्यसै गरी अर्को पखेटा दोस्रो करूबको पखेटा छुने गरी पाँच हातको थियो। 12 अनि अर्को करूबको एक पखेटा भवनको भित्तासम्म छुने गरी पाँच हातको थियो भने अर्को पखेटा पनि दोस्रो करूबको पखेटा छुने गरी पाँच हातको थियो। 13 ती करूबहरूका पखेटाहरूचाहिँ बीस हात फैलिएका थिए, अनि ती आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुहारहरू भित्रपट्टि फर्केका थिए।
14 अनि तिनले छेक्ने पर्दा नीलो, बैजनी, गाढ़ा रातो र मिहिन मलमलको बनाए, र त्यसमाथि करूबहरू लगाए। 15 अनि तिनले त्यस भवनको अघिल्तिर पैंतीस-पैंतीस हात अग्ला दुईवटा खाँबाहरू बनाए, र ती दुवैको थाप्लामा राखिएको टुप्पा पाँच हातको थियो। 16 अनि तिनले भित्री पवित्रस्थानमा जस्तै साङ्लाका मालाहरू बनाए, र तिनलाई खाँबाहरूका थाप्लाहरूमा लगाइदिए, अनि सयवटा दारीमहरू बनाएर तिनलाई ती साङ्लाका मालाहरूमा लगाइदिए। 17 अनि तिनले ती खाँबाहरू पवित्रस्थानको सामु, एउटालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि खड़ा गरे; अनि तिनले दाहिनेपट्टिकोलाई याकीन र देब्रेपट्टिकोलाई बोअज नाम राखे।