परमप्रभुको भवन निर्माण गर्ने योजना
2
अनि सुलेमानले परमप्रभुको नामका निम्ति एउटा भवन र आफ्नो राज्यका निम्ति एउटा भवन बनाउने निश्‍चय गरे। 2 अनि सुलेमानले सत्तरी हजार भारी बोक्नेहरू, अस्सी हजार पहाड़मा ढुङ्गा काट्नेहरू र तिनीहरूमाथि तीन हजार छ सय मानिसलाई अधिकारीहरूको रूपमा गन्ती गरे। 3 अनि सुलेमानले टायरका राजा हूरामकहाँ यसो भन्‍ने खबर पठाए: “जसरी तपाईंले मेरा बुबा दाऊदसित गर्नुभयो, अनि उनका निम्ति त्यसमा वास गर्नलाई एउटा भवन बनाउन उनीकहाँ देवदारका रूखहरू पठाइदिनुभयो, मसित पनि त्यस्तै गर्नुहोस्! 4 हेर्नुहोस्, उहाँको सामु सुगन्धित धूप बाल्न, सधैंभरि भेटीका रोटीहरू राख्‍न अनि बिहान, बेलुकी, विश्रामदिनहरूमा, औंसीका दिनहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाड़हरूमा होमबलिहरू चढ़ाउनलाई – योचाहिँ इस्राएलका लागि सधैंका निम्ति ठहराइएको विधि हो – म परमप्रभु मेरा परमेश्‍वरको नामका निम्ति एउटा भवन उहाँलाई अर्पण गर्न भनी निर्माण गर्न लागिरहेको छु। 5 अनि मैले निर्माण गर्न लागेको यो भवन महान् हुनेछ; किनभने हाम्रा परमेश्‍वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ। 6 तर कसले उहाँका निम्ति एउटा भवन बनाउन सक्ला; किनकि स्वर्ग त के, सर्वोच्‍च स्वर्गमा पनि उहाँ अटाउनुहुन्‍न? तब म को हुँ र, कि म उहाँका निम्ति एउटा भवन निर्माण गरूँ? यो त उहाँको सामु धूप बाल्नुबाहेक अरू कुनै कामका निम्ति होइन। 7 यसकारण अब मलाई एउटा निपुण मानिस पठाइदिनुहोस्, जसले सुन, चाँदी, पित्तल र फलामको, साथै बैजनी, गाढ़ा रातो र नीलो कपड़ाको काम गर्छ, अनि जसले यहूदा र यरूशलेममा मसित भएका निपुण कारिगरहरूको साथमा, जसलाई मेरा पिता दाऊदले जुटाइदिनुभएको छ, बेलबुट्टाहरू कुँद्‍न सक्छ। 8 लेबानोनबाट मलाई देवदार, सल्‍ला र चन्दनका काठ पनि पठाइदिनुहोस्; किनभने तपाईंका सेवकहरू लबानोनमा काठ काट्न निपुण छन् भनी मलाई थाहा छ। अनि हेर्नुहोम्, मेरा दासहरू तपाईंका दासहरूसँग हुनेछन्, 9 र मेरा निम्ति प्रशस्त मात्रामा काठ तयार होस्; किनकि मैले निर्माण गर्न लागेको भवन महान् र अद्‌भूत हुनेछ। 10 अनि हेर्नुहोस्, काठ काट्ने तपाईंका दासहरूलाई म बीस हजार कोर कुटेको गहुँ, बीस हजार कोर जौ, बीस हजार बत दाखमद्य र बीस हजार बत तेल दिनेछु।”
11 तब टायरका राजा हूरामले लिखित जवाफ दिए, र त्यो जवाफ सुलेमानलाई पठाए: “परमप्रभुले आफ्ना जनहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई उनीहरूमाथि राजा बनाउनुभएको छ।” 12 हूरामले अझै भने: “आकाश र पृथ्वी बनाउनुहुने परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्, जसले राजा दाऊदलाई एउटा बुद्धिमान छोरा दिनुभयो, जो विवेकशील र समझदार हुनुहुन्छ, जसले परमप्रभुका निम्ति एउटा भवन र आफ्नो राज्यका निम्ति एउटा भवन बनाउनुहुन्छ। 13 अनि अब मैले एकजना निपुण र समझदार मानिसलाई अर्थात् हूराम-आबीलाई पठाइदिएको छु; 14 तिनी दानका छोरीहरूमध्येकी स्त्रीका छोरा हुन्, अनि तिनका बुबा टायरवासी थिए; तिनले सुन, चाँदी, पित्तल, फलाम, पत्थर र काठको काम, साथै बैजनी, नीलो, मिहिन मलमल र गाढ़ा रातो कपड़ाको काम जान्दछन्। तपाईंका निपुण कारिगरहरू र मेरा प्रभु अर्थात् तपाईंका बुबा दाऊदका निपुण कारिगरहरूको साथमा तिनी सबै प्रकारको बेलबुट्टा कुँद्‌ने काम गर्छन् र तिनलाई दिइएको जुनै पनि प्रकारको शिल्पकारको काम रच्‍न सक्छन्। 15 यसकारण अब मेरा प्रभुले भन्‍नुभएको त्यो गहुँ, जौ, तेल र दाखमद्य आफ्ना दासहरूलाई पठाइदिनुहोस्! 16 अनि तपाईंलाई जति रूखहरू खाँचो छ, त्यत्ति नै रूखहरू हामी लबानोनबाट काट्नेछौं र समुद्रमा तिनलाई योपासम्म बेड़ाहरूको रूपमा तपाईंकहाँ तैर्‍याएर ल्याइदिनेछौं; अनि तपाईंले तिनलाई उठाएर यरूशलेममा लैजानुहोस्!”
17 अनि तिनको पिता दाऊदले तिनीहरूको गन्ती लिएअनुसार सुलेमानले इस्राएल देशमा भएका सबै परदेशीहरूको गन्ती लिए; अनि तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय रहेछन्। 18 अनि तिनले तीमध्ये सत्तरी हजारलाई भारी बोक्ने, अस्सी हजारलाई पहाड़मा ढुङ्गा काट्ने र तीन हजार छ सयलाई ती मानिसहरूलाई काम अह्राउपह्राउ गर्नलाई देखरेख गर्नेहरूको रूपमा नियुक्त गरे।