दाऊदले परमप्रभुको भवन बनाउने अभिभारा सुलेमानलाई सुम्पे
28
अनि दाऊदले इस्राएलका सबै शासकहरू, कुल-कुलका प्रधानहरू, राजाको सेवा गर्ने दलहरूका अधिकारीहरू, हजारौंमाथिका र सयौंमाथिका कप्‍तानहरू, अनि राजा र उनका छोराहरूका धनसम्पत्ति र जायजेथाका भण्डारीहरू, साथै अफिसरहरू, शूरवीरहरू र सबै पराक्रमी मानिसहरूलाई यरूशलेममा भेला गरे। 2 तब राजा दाऊद आफ्ना खुट्टामा उभिए, र भने: “हे मेरा दाजुभाइहरू, र मेरो प्रजाहो, मेरो कुरा सुन! मचाहिँ – परमप्रभुको वाचाको सन्दुक र हाम्रा परमेश्‍वरको पाउदानका निम्ति एउटा विश्राम-भवन बनाउने मेरो हृदय थियो; अनि मैले त्यस भवनका निम्ति तयार गरेको थिएँ; 3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो: ‘तिमीले मेरो नामका निम्ति भवन बनाउनेछैनौ; किनकि तिमी लड़ाइँहरू लड़्ने मानिस हौ, र तिमीले रगत बगाएका छौ।’ 4 तर परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताको सम्पूर्ण घरानाबाट मलाई सदाका निम्ति इस्राएलमाथि राजा हुनलाई चुन्‍नुभयो; किनकि उहाँले यहूदालाई शासकको रूपमा चुन्‍नुभयो र यहूदाको घरानाबाट मेरा पिताको घरानालाई चुन्‍नुभयो; अनि मेरा पिताका छोराहरूमध्ये मलाई सारा इस्राएलमाथि राजा बनाउनमा उहाँ प्रसन्‍न हुनुभयो। 5 अनि मेरा सबै छोराहरूमध्ये, (किनकि परमप्रभुले मलाई धेरै छोराहरू दिनुभयो), उहाँले मेरो छोरा सुलेमानलाई इस्राएलमाथि परमप्रभुको राज्यको सिंहासनमाथि बस्‍नका निम्ति चुन्‍नुभयो। 6 अनि उहाँले मलाई भन्‍नुभयो: ‘तिम्रो छोरा सुलेमान – उसैले मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनकि मैले उसलाई मेरो पुत्र हुनलाई चुनेको छु, र म उसको पिता हुनेछु। 7 साथै ऊ आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र मेरा न्‍याय-वचनहरू निरन्‍तर पालन गर्नमा लागिरह्‍यो भने म उसको राज्य सदा-सर्वदाका निम्ति स्थापित गर्नेछु।’ 8 यसकारण अब परमप्रभुको समुदाय, सारा इस्राएलको दृष्‍टिमा र हाम्रा परमेश्‍वरको सुनाइमा परमप्रभु आफ्ना परमेश्‍वरका सबै आज्ञाहरू पालन गर, अनि तिनको खोजी गर, र तिमीहरूले यो असल देश आफ्नो अधिकारमा लिन सक, र तिमीहरूपछि तिमीहरूका सन्तानका निम्ति यसलाई सधैंका लागि पैतृक सम्पत्तिको रूपमा राखिछोड्न सक! 9 अनि तिमी, हे मेरो छोरा सुलेमान, आफ्ना बुबाका परमेश्‍वरलाई चिन, अनि सिद्ध हृदयले र इच्छुक मनले उहाँको सेवा गर; किनकि परमप्रभुले सबै हृदयको जाँचपड़ताल गर्नुहुन्छ र विचारहरूका सबै कल्पना बुझ्नुहुन्छ। तिमीले उहाँको खोजी गर्‍यौ भने उहाँ तिमीद्वारा भेट्टाइनुहुनेछ; तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सधैंका निम्ति अफाल्नुहुनेछ। 10 अब होशियार होऊ! किनकि परमप्रभुले तिमीलाई एउटा भवन पवित्रस्थानको रूपमा एउटा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। बलिया होऊ, र यो गर!”
11 तब दाऊदले दलानको नमुना, साथै त्यसका घरहरू, त्यसका भण्डारहरू, त्यसका माथिल्‍ला कोठाहरू, त्यसका भित्री कोठाहरू र कृपा-आसनको ठाउँको नमुना, 12 अनि परमप्रभुको भवनका चोकहरू, चारैतिरका सबै कोठाहरू, परमेश्‍वरको भवनका भण्डारहरू र अर्पण गरिएका वस्तुहरूका भण्डारहरूको नमुना, अँ, ती सबै कुराहरूको नमुना, जो उनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सुलेमानलाई दिए। 13 साथै पूजाहारीहरू र लेवीहरूका दलहरूका निम्ति, परमप्रभुको भवनको सेवाका सबै कामका निम्ति र परमप्रभुको भवनको सेवामा प्रयोग गरिने सबै पात्रहरूका निम्ति पनि नमुना दिए।
14 सबै प्रकारको सेवामा प्रयोग गरिने पात्रहरूका निम्ति अर्थात् सुनका पात्रहरूका निम्ति उनले सुन तौलेर दिए, र सबै किसिमको सेवामा प्रयोग गरिने पात्रहरूका निम्ति अर्थात् चाँदीका पात्रहरूका निम्ति उनले चाँदी तौलेर दिए; 15 अर्थात् सुनका सामदानहरू र तिनका सुनका दियाहरूको वजन – हरेक सामदान र त्यसका दियाहरूका निम्ति उनले सुन तौलेर दिए, अनि चाँदीका सामदानहरूका निम्ति, हरेक सामदानको कामअनुसार, हरेक सामदान र त्यसका दियाहरूका निम्ति चाँदी तौलेर दिए। 16 अनि भेटीका रोटीहरू राख्‍ने टेबलहरूका निम्ति – हरेक टेबलका निम्ति – उनले सुन तौलेर दिए, र त्यसै गरी चाँदीका टेबलहरूका निम्ति चाँदी दिए; 17 साथै मासु उठाउने काँटाहरू, बाटाहरू र कचौराहरूका निम्ति निखुर सुन, अनि सुनका बटुकाहरूका निम्ति – हरेक बटुकाहरूका निम्ति – उनले सुन तौलेर दिए। अनि त्यसै गरी चाँदीको हरेक बटुकाका निम्ति उनले चाँदी तौलेर दिए; 18 अनि धूपवेदीका निम्ति उनले खारिएको सुन तौलेर दिए, र आफ्ना पखेटाहरू फिँजाएर परमप्रभुको वाचाको सन्दुकलाई ढाक्ने करूबहरूको रथको नमुनाका निम्ति सुन दिए। 19 दाऊदले भने: “यी सबै कुराहरू, अँ, यस नमुनाका सबै कामहरू परमप्रभुले ममाथि आफ्नो हात राखेर लिखित रूपमा मलाई बुझाउनुभएको हो।”
20 तब दाऊदले आफ्नो छोरा सुलेमानलाई भने: “बलिया होऊ, साहसी होऊ र यो काम गर! नडराऊ र हताश नहोऊ; किनकि परमप्रभु परमेश्‍वर, अँ, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ। तिमीले परमप्रभुको भवनको सेवाका सबै कामहरू नसिद्ध्याएसम्म उहाँले तिमीलाई छोड़्नुहुनेछैन र तिमीलाई त्याग्‍नुहुनेछैन। 21 अनि हेर, परमेश्‍वरको भवनको सबै सेवाका निम्ति पूजाहारीहरू र लेवीहरूका दलहरू तिम्रो साथमा हुनेछन्। अनि सबै किसिमको सेवाका निम्ति सबै प्रकारको कारिगरीको सम्बन्धमा हरेक इच्छुक, निपुण मानिस तिम्रो साथमा हुनेछन्। अनि शासकहरू र सबै मानिसहरू पूर्ण रूपले तिम्रा वचनहरूअनुसार चल्नेछन्।”