गायकहरू र सङ्‌गीतकारहरूको विभिन्‍न प्रकारको सेवा
25
अनि दाऊद र सेनापतिहरूले आसाफ, हेमान र यदूतूनका कति छोराहरूलाई उनीहरूले वीणा, सितार र झ्यालीहरू बजाएर भविष्यवाणी गरून् भनेर सेवाका निम्ति अलग गरे। आ-आफ्नो सेवाअनुसार काम गर्नेहरूको संख्या यस प्रकारको थियो: 2 आसाफका छोराहरूबाट जक्‍कूर, यूसुफ, नतन्याह र अशरेला। आसाफका छोराहरू राजाको आदेशअनुसार भविष्यवाणी गर्ने आसाफको अधीनतामा थिए; ती आसाफले राजाको आदेशअनुसार भविष्यवाणी गर्थे। 3 यदूतूनबाट यदूतूनका छोराहरू: गदल्याह, जरी, यशायाह, हशब्याह र मत्तित्याह, छजना, जो आफ्ना बुबा यदूतूनको अधीनतामा थिए; तिनले परमप्रभुलाई धन्यवाद चढ़ाउन र प्रशंसा गर्न वीणा बजाएर भविष्यवाणी गर्थे। 4 हेमानबाट हेमानका छोराहरू: बुक्‍कियाह, मत्तन्याह, उज्जिएल, शबूएल, यरिमोत, हनन्याह, हनानी, एलियाता, गिद्दल्ती, रोमम्ती-एजेर, योश्बकाशाह, मल्‍लोती, होतीर र महजियोत। 5 यिनीहरू सबैचाहिँ परमेश्‍वरका वचनहरूमा राजाका दर्शी हेमानका उनलाई उच्‍च तुल्याउने छोराहरू थिए। अनि परमेश्‍वरले हेमानलाई चौधजना छोराहरू र तीनजना छोरीहरू दिनुभयो। 6 यिनीहरू सबैले आसाफ, यदूतून र हेमानलाई दिइएको राजाको आदेशअनुसार परमेश्‍वरको भवनको सेवाका निम्ति आ-आफ्ना बुबाको अधीनतामा रहेर परमप्रभुको भवनमा झ्याली, सितार र वीणाहरू बजाएर गीत गाउँथे। 7 अनि परमप्रभुका निम्ति गीत गाउनलाई तालिम पाएका आफ्ना दाजुभाइहरूसहित, जो सबै निपुण थिए, उनीहरूको संख्या दुई सय अठासी थियो।
8 अनि के साना, के ठूला, के गुरु, के चेला – उनीहरूले आ-आफ्नो कामको जिम्मा पाउनका निम्ति गोलाहरू हाले। 9 अनि आसाफका निम्ति पहिलो गोलाचाहिँ यूसुफको नाममा निस्क्यो; दोस्रो गदल्याहको नाममा, जो आफ्ना दाजुभाइहरू र छोराहरूसहित बाह्रजना थिए; 10 तेस्रो जक्‍कूरको नाममा, जो आफ्ना छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 11 चौथो इस्रीको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 12 पाँचौं नतन्याहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 13 छैटौं बुक्‍कियाहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 14 सातौं यशरेलाको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 15 आठौं यशायाहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 16 नवौं मत्तत्याहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 17 दसौं शिमीको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 18 एघारौं अजरेलको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 19 बाह्रौं हशब्याहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 20 तेह्रौं शूबाएलको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 21 चौधौं मत्तित्याहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 22 पन्ध्रौं यरेमोतको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 23 सोह्रौं हनन्याहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 24 सत्रौं योश्बकाशाहको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 25 अठारौं हनानीको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 26 उन्‍नाइसौं मल्‍लोतीको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 27 बीसौं एलियाताको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 28 एक्‍काइसौं होतीरको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 29 बाइसौं गिद्दलतीको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 30 तेइसौं महजियोतको नाममा, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए; 31 चौबीसौं रोमम्ती-एजेरको नाममा निस्क्यो, जो तिनका छोराहरू र दाजुभाइहरूसहित बाह्रजना थिए।