परमप्रभुको भवन बनाउन दाऊदको तयारी
22
तब दाऊदले भने: “परमप्रभु परमेश्वरको भवन यही हो, र इस्राएलका निम्ति होमबलिको वेदी यही हो।” 2 अनि दाऊदले इस्राएल देशमा भएका परदेशीहरूलाई भेला गर्नू भनी आज्ञा गरे। अनि उनले ढुङ्गा फोर्ने डकर्मीहरूलाई परमेश्वरको भवन बनाउनलाई खोपेका ढुङ्गाहरू काट्न लगाए। 3 अनि दाऊदले मूलढोकाहरूका दैलाहरूका निम्ति र जोर्नीहरूका काँटीहरूका निम्ति प्रशस्तै मात्रामा फलाम तयार गरे, र प्रशस्त पित्तल पनि – त्यसको वजन असाध्यै थियो; 4 साथै असंख्य देवदारका रूखहरू पनि; किनकि सिडोनीहरू र टायरकाहरूले दाऊदकहाँ प्रशस्तै देवदारका रूखहरू ल्याइदिएका थिए। 5 अनि दाऊदले भने: “मेरो छोरा सुलेमान जवान र अनुभवहीन छ; अनि परमप्रभुका निम्ति बनाउनुपर्ने भवन बड़ो गौरवशाली, सबै देशहरूभरि प्रसिद्ध र शोभायमान हुनुपर्छ। यसकारण अब म यसका निम्ति तयार गर्नेछु।” यसैले दाऊदले आफ्नो मृत्युभन्दा अघि प्रशस्त हुने गरी तयार गरिराखे।6 तब उनले आफ्ना छोरा सुलेमानलाई बोलाए, र तिनलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति एउटा भवन बनाउने जिम्मा सुम्पिदिए। 7 अनि दाऊदले आफ्ना छोरा सुलेमानलाई भने: “मचाहिँ – परमप्रभु मेरा परमेश्वरको नामका निम्ति एउटा भवन बनाउने मेरो हृदय थियो; 8 तर मकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: ‘तिमीले प्रशस्त रगत बगाएका छौ, र ठूला लड़ाइँहरू लड़ेका छौ; तिमीले मेरो नामका निम्ति भवन बनाउनेछैनौ; किनभने तिमीले मेरो दृष्टिमा पृथ्वीमाथि प्रशस्त रगत बगाएका छौ। 9 हेर, तिम्रा निम्ति एउटा छोरा जन्मनेछ, जो विश्रामको मानिस हुनेछ। अनि म उसलाई चारैतिर उसका शत्रुहरूबाट विश्रामदिनेछु; किनकि उसको नाम सुलेमानक हुनेछ, र म उसको जीवनभरि इस्राएललाई शान्ति र विश्रामदिनेछु। 10 उसैले चाहिँ मेरो नामका निम्ति एउटा भवन बनाउनेछ; अनि ऊ मेरो पुत्र हुनेछ र म उसको पिता हुनेछु; अनि इस्राएलमाथि म उसको राज्यको सिंहासन सदा-सर्वदा स्थापित गर्नेछु।’ 11 अब हे मेरो छोरा, परमप्रभु तिम्रो साथमा होऊन्; र तिमी सफल होऊ! अनि उहाँले तिम्रो विषयमा भन्नुभएझैं परमप्रभु आफ्ना परमेश्वरको भवन बनाऊ! 12 केवल परमप्रभुले तिमीलाई बुद्धि र समझशक्ति दिऊन्, र परमप्रभु तिम्रा परमेश्वरको व्यवस्था पालन गर्नलाई उहाँले तिमीलाई इस्राएलको विषयमा आज्ञा गरून्! 13 तब तिमी सफल हुनेछौ, इस्राएलको विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका विधिहरू र न्याय-वचनहरू तिमीले होशियारसाथ पालन गर्यौ भने। बलिया होऊ, र साहसी होऊ! नडराऊ, र हताश नहोऊ! 14 अनि हेर, मेरो कष्टमा मैले परमप्रभुको भवनका निम्ति एक लाख किक्करख सुन र दस लाख किक्करख चाँदी तयार गरिदिएको छु, अनि पित्तल र फलाम पनि, जसको वजन असाध्यै छ; किनकि त्यो प्रशस्त छ। काठपात र ढुङ्गाहरू पनि मैले तयार गरेको छु; र तिनमा तिमीले थप्न सक्छौ। 15 साथै तिमीसँग प्रशस्त मात्रामा कारिगरहरू अर्थात् ढुङ्गा फोर्ने डकर्मीहरू, सिकर्मीहरू र हरेक किसिमको कामका निम्ति सिपालु भएका सबै मानिसहरू छँदैछन्। 16 सुन, चाँदी, पित्तल र फलाम असंख्य छन्। यसकारण उठ र यो काम गर, अनि परमप्रभु तिम्रो साथमा रहून्!”
17 अनि दाऊदले इस्राएलका सबै प्रधानहरूलाई पनि यसो भन्दै आफ्ना छोरा सुलेमानलाई सहायता गर्ने आज्ञा गरे: 18 “के परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको साथमा हुनुहुन्न र? अनि के उहाँले तिमीहरूलाई चारैतिर विश्राम दिनुभएन त? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मेरो हातमा सुम्पिदिनुभयो; अनि यो देश परमप्रभुको सामु र उहाँको प्रजाको सामु अधीनतामा आयो। 19 अब परमप्रभु आफ्ना परमेश्वरको खोजी गर्नलाई आफ्नो हृदय र आफ्नो प्राण लगाओ! यसकारण उठ, अनि परमप्रभुको वाचाको सन्दुक र परमेश्वरका पवित्र पात्रहरू परमप्रभुको नामका निम्ति बनिने भवनमा ल्याउनलाई परमप्रभु परमेश्वरको पवित्रस्थान निर्माण गर!”