शैतानको प्रेरणाद्वारा दाऊदले इस्राएलका मानिसहरूलाई गन्‍न लगाए
21
अनि शैतान इस्राएलको विरोधमा उठ्यो, र दाऊदलाई इस्राएलको गिन्ती लिनलाई सुर्‍यायो। 2 अनि दाऊदले योआब र मानिसहरूका प्रधानहरूलाई भने: “जाओ, बेरशेबादेखि दानसम्म इस्राएलको गन्ती लेओ, अनि तिनीहरूको संख्या मकहाँ ल्याओ, र म त्यो जान्‍न सकूँ!” 3 तब योआबले जवाफ दिए: “परमप्रभुको प्रजा जति छ, उहाँले तिनीहरूमा सय गुणा थपिदिऊन्! तर हे मेरा प्रभु राजा, के तिनीहरू सबै मेरा प्रभुका दासहरू होइनन् र? तब किन मेरा प्रभुले यो कुराको माग राख्‍नुहुन्छ? उहाँ किन इस्राएलका निम्ति अपराधको कारण बन्‍नुहुन्छ?” 4 तर राजाको वचन योआबमाथि प्रबल भयो। यसकारण योआब निस्केर गए, र सारा इस्राएलभरि घुमे अनि यरूशलेममा आइपुगे। 5 अनि योआबले मानिसहरूको जम्मा संख्या दाऊदलाई सुम्पिदिए। अनि इस्राएलमा जम्मा एघार लाख तरवार चलाउनेहरू थिए, र यहूदामा चार लाख सत्तरी हजार तरवार चलाउनेहरू थिए। 6 तर तिनले उनीहरूसित लेवी र बिन्यामिनलाई गनेनन्; किनकि राजाको वचन योआबका निम्ति घिनलाग्दो थियो।
7 अनि त्‍यो कुरा परमेश्‍वरलाई खराब लाग्‍यो; यसकारण उहाँले इस्राएललाई प्रहार गर्नुभयो। 8 तब दाऊदले परमेश्‍वरलाई भने: “यो काम गरेर मैले ठूलो पाप गरेको छु। तर अब, म तपाईंलाई विन्‍ती गर्दछु, तपाईंको दासको अधर्म हटाइदिनुहोस्; किनकि मैले साह्रै मूर्ख काम गरेको छु।”
9 तब परमप्रभु दाऊदका दर्शी गादसित यसो भन्दै बोल्नुभयो: 10 “जाऊ, र दाऊदलाई यसो भन: परमप्रभु यसो भन्‍नुहुन्छ, म तिमीमाथि तीनवटा कुरा लगाउँछु; तीमध्ये एउटा कुरा आफ्ना निम्ति रोज, जुनचाहिँ म तिम्रा निम्ति गर्नेछु!” 11 तब गाद दाऊदकहाँ आए, र उनलाई भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, आफ्ना निम्ति रोज! 12 तीन वर्षसम्म अनिकाल, वा तीन महिनासम्म तिम्रा शत्रुहरूको तरवारले तिमीलाई फेला पारेर तिम्रा विरोधीहरूको सामु तिम्रो विनाश भइरहनु, वा तीन दिनसम्म देशमा परमप्रभुको तरवार अर्थात् महामारी, जसमा परमप्रभुका दूतले इस्राएलका सबै इलाकाहरूभरि नाश गर्नेछन्! यसकारण अब मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ फर्काएर लानुपर्ने हो, सो विचार गर!” 13 अनि दाऊदले गादलाई भने: “म ठूलो आपदमा छु। विन्‍ती छ, म परमप्रभुकै हातमा परूँ; किनकि उहाँका कोमल कृपाहरू धेरै महान् छन्। तर म मानिसको हातमा पर्नु नपरोस्!”
14 तब परमप्रभुले इस्राएलमाथि महामारी ल्याउनुभयो, र इस्राएलका सत्तरी हजार मानिसहरू मरे। 15 अनि परमेश्‍वरले एकजना दूतलाई यरूशलेममा त्यसलाई नाश गर्न पठाउनुभयो; अनि तिनले त्यो नाश गरिरहेको बेलामा परमप्रभुले देख्‍नुभयो, र त्यस विपत्तिको विषयमा आफ्नो मन बदल्नुभयो, अनि ती नाश गर्ने दूतलाई भन्‍नुभयो: “भयो; अब आफ्नो हात थाम!” अनि परमप्रभुका दूत यबूसी ओर्नानको खलाको छेउमा खड़ा थिए। 16 अनि दाऊदले आफ्ना आँखाहरू उठाउँदा परमप्रभुका ती दूतलाई आफ्नो हातमा थुतेको तरवार यरूशलेममाथि उजाएर पृथ्वी र आकाशको बीचमा उभिरहेका देखे। तब भाङ्ग्राको लुगा ओढ़ेका दाऊद र इस्राएलका बूढ़ा प्रधानहरूले भुइँसम्‍म आफ्ना शिर झुकाएर घोप्‍टो परे। 17 अनि दाऊदले परमेश्‍वरलाई भने: “प्रजाको गन्ती लिने आज्ञा दिने के म नै होइनँ र? अँ, पाप गर्ने म नै हुँ, र मैले नै दुष्‍ट काम गरेको छु; तर यी भेड़ाहरू – यिनीहरूले के गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंलाई विन्‍ती गर्छु, तपाईंको हात ममाथि र मेरो बुबाको घरानामाथि परोस्, तर तपाईंको प्रजामाथि होइन! उनीहरूमाथि महामारी नपरोस्!”
18 तब परमप्रभुका दूतले गादलाई दाऊदलाई यसो भन्‍ने आज्ञा दिए: दाऊद माथि जाओस्, र यबूसी ओर्नानको खलामा परमप्रभुका निम्ति एउटा वेदी खड़ा गरोस्! 19 तब परमप्रभुको नाममा बोलेको गादको वचनअनुसार दाऊद माथि गए। 20 अनि ओर्नान पछिल्तिर फर्के, र ती दूतलाई देखे; अनि तिनको साथमा भएका तिनका चारजना छोराहरू लुके। त्यस घड़ी ओर्नान गहुँ दाइँ गरिरहेका थिए। 21 अनि जब दाऊद ओर्नानकहाँ आइपुगे, तब ओर्नानले हेरे र दाऊदलाई देखे, अनि खलाबाट निस्के, र आफ्नो अनुहार भुइँसम्‍म झुकाएर दाऊदको सामु घोप्‍टो परे। 22 तब दाऊदले ओर्नानलाई भने: “मलाई यस खलाको जग्गा देऊ, र यसमा म परमप्रभुका निम्ति एउटा वेदी बनाउन सकूँ! तिमीले पूरा दाम लिएर यो मलाई देऊ, र मानिसहरूबाट त्यो महामारी थामियोस्!” 23 अनि ओर्नानले दाऊदलाई भने: “हजुरले यो लिनुहोस्! मेरा प्रभु राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्! हेर्नुहोस्, म होमबलिहरूका निम्ति यी बहरहरू, दाउराका निम्ति यी दाइँ गर्ने हतियारहरू र अन्‍नबलिका निम्ति त्यो गहुँ दिन्छु; म जम्मै दिइहाल्छु।” 24 अनि राजा दाऊदले ओर्नानलाई भने: “होइन, तर निश्‍चय म यसको पूरा दाम दिएर यो किन्‍नेछु; किनकि जे तिम्रो छ, त्यो म परमप्रभुका निम्ति लिनेछैनँ, न ता दाम नपर्ने होमबलिहरू चढ़ाउनेछु।” 25 तब दाऊदले त्यस जग्गाका निम्ति ओर्नानलाई छ सय शेकेल सुन तौलेर दिए। 26 अनि त्यहाँ दाऊदले परमप्रभुका निम्ति एउटा वेदी बनाए, अनि होमबलिहरू र मेलबलिहरू चढ़ाएर परमप्रभुलाई पुकारे; तब उहाँले त्यस होमबलिको वेदीमाथि स्वर्गबाट आगो बर्साएर उनलाई जवाफ दिनुभयो। 27 अनि परमप्रभुले ती दूतलाई आज्ञा गर्नुभयो; र तिनले आफ्नो तरवार फेरि त्यसको म्यानमा हाले।
28 त्यस बेला यबूसी ओर्नानको खलामा परमप्रभुले उनलाई जवाफ दिनुभएको देखेर दाऊदले त्यहीं बलि चढ़ाए। 29 किनकि मोशाले उजाड़स्थानमा बनाएका परमप्रभुको निवासस्थान र होमबलिको वेदी त्यस समयमा गिबोनको उच्‍च स्थानमा थिए। 30 तर दाऊद परमेश्‍वरबाट सोधखोज गर्नलाई त्यसको सामु जान सकेनन्; किनकि परमप्रभुका दूतको तरवारदेखि उनी डराएका थिए।