रूबेनका सन्तानहरू
5
अनि इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: (किनकि तिनीचाहिँ जेठा छोरा थिए, तर तिनले आफ्ना बुबाको ओछ्यान अशुद्ध पारिदिएका हुनाले तिनको जेठाको अधिकारचाहिँ इस्राएलका छोरा यूसुफका छोराहरूलाई दिइयो; यसैले जेठाको अधिकारअनुसार वंशावली चलेन; 2 किनकि यहूदा आफ्ना दाजुभाइहरूमाथि प्रबल भए, र उनीबाट शासक निस्केर आए; तर पनि जेठाको अधिकारचाहिँ यूसुफको भयो।) 3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हनोक, पल्‍लू, हेस्रोन र कर्मी थिए। 4 योएलका छोराहरू: तिनका छोरा शमायाह थिए, जसका छोरा गोग, जसका छोरा शिमी थिए; 5 जसका छोरा मीका, जसका छोरा रायाह, जसका छोरा बाल, 6 र जसका छोरा बेरा थिए, जसलाई अश्शूरका राजा तिल्गत-पिल्नेसेरले कैद गरेर लगेका थिए। तिनीचाहिँ रूबेनीहरूका प्रधान थिए। 7 अनि तिनीहरूका पुस्ताको वंशावली ठहरिएको समयमा तिनीहरूका परिवारहरूअनुसार तिनका दाजुभाइहरू प्रधान यइएल, अनि जकर्याह, 8 र आजाजका छोरा बेला थिए, जो शेमाका नाति, योएलका पनाति थिए; तिनले अरोएरमा नबो र बाल-मओनसम्म बसोबास गरे। 9 अनि पूर्वपट्टि तिनी यूफ्रेटिस नदीदेखि लिएर उजाड़स्थानको पस्‍ने ठाउँसम्म बस्‍न लागे; किनकि गिलाद देशमा तिनीहरूका गाईबस्तु संख्यामा बढ़ेर गएका थिए। 10 अनि शाऊलको समयमा तिनीहरूले हगारीहरूसँग लड़ाइँ गरे, जो तिनीहरूको हातद्वारा मारिए; अनि तिनीहरू गिलादको पूर्वपट्टि सारा देशभरि यिनीहरूका पालहरूमा बसे।
गादका सन्तानहरू
11 अनि गादका छोराहरू तिनीहरूको सामु बाशान देशमा सल्कासम्म बसे – 12 प्रधान योएल, द्वितीय शापाम, त्यसपछि यानै र बाशानमा शापात। 13 अनि उनीहरूका पितापुर्खाहरूको घरानाका उनीहरूका दाजुभाइहरू मिकाएल, मशुल्‍लाम, शेबा, योरै, याकान, जिआ र हेबेर – सातजना थिए। 14 यिनीहरू बूजका छोरा यहदोका छोरा यशिशैका छोरा मिकाएलका छोरा गिलादका छोरा यारोहका छोरा हूरीका छोरा अबिहैलका सन्तान थिए; 15 अनि अब्दिएलका छोरा, गूनीका नाति अहीचाहिँ उनीहरूका पितापुर्खाहरूको घरानाका प्रधान थिए। 16 अनि उनीहरू गिलादमा बाशान र त्यसका गाउँहरूमा, अनि शारोनका सबै खुला जमिनहरूमा उनीहरूका सिमाना-सिमानासम्म बसोबास गरे। 17 यिनीहरू सबैको वंशावली यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामको समयमा उल्‍लेख गरिएको थियो।
मनस्‍सेको आधा कुलकाहरू
18 रूबेनका छोराहरू, गादीहरू र मनस्सेको आधा कुल – शूरवीरहरूमध्ये लड़ाइँ गर्न जानेहरू चवालीस हजार सात सय साठी मानिसहरू थिए, जो ढाल र तरवार बोक्ने, धनुर्धारी र लड़ाइँ गर्नमा निपुण थिए। 19 अनि उनीहरूले हगारीहरूसित, यतूर, नापीश र नोदाबसँग लड़ाइँ गरे। 20 अनि तिनीहरूको विरोधमा उनीहरूले सहायता पाए, अनि हगारीहरू र तिनीहरूको साथमा हुने सबै उनीहरूको हातमा सुम्पिए; किनकि उनीहरूले लड़ाइँमा परमेश्‍वरलाई पुकारे, र उहाँले उनीहरूको विन्‍ती सुनिदिनुभयो; किनभने उनीहरूले उहाँमाथि भरोसा राखे। 21 अनि उनीहरूले तिनीहरूका पशुधन: तिनीहरूका पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ाबाख्रा र दुई हजार गधा, साथै एक लाख मानिसहरूलाई कैद गरेर लगे। 22 किनकि धेरै मानिसहरू मारिएर लड़े; किनभने लड़ाइँ परमेश्‍वरतर्फबाट भएको थियो। अनि उनीहरूले आफू कैदमा नलगिउन्जेल तिनीहरूका ठाउँहरूमा बसोबास गरे।
23 अनि मनस्सेका आधा कुलका सन्तानहरू देशमा बसे; उनीहरू बाशानदेखि बाल-हर्मोन, सनीर र हर्मोन पहाड़सम्म बढ़्दै गए। 24 अनि उनीहरूका पितापुर्खाहरूको घरानाका प्रधानहरू यिनीहरू थिए: एपेर, यिशी, एलिएल, अज्रिएल, यर्मिया, होदव्याह र यहदिएल। उनीहरू शूरवीर योद्धा र नाम चलेका मानिसहरू थिए, र आफ्ना पितापुर्खाहरूको घरानाका प्रधानहरू थिए। 25 तर उनीहरूले आफ्ना पितापुर्खाहरूका परमेश्‍वरको विरोधमा अपराध गरे, र जुन देशका मानिसहरूलाई परमेश्‍वरले उनीहरूको सामुबाट नाश गर्नुभएको थियो, तिनीहरूकै देवताहरूको पछि लागेर वेश्याकर्म गरे। 26 तब इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूलको आत्मा र अश्शूरका राजा तिल्गत-पिल्नेसेरको आत्मा उभाड़्नुभयो; अनि तिनले उनीहरूलाई अर्थात् रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुललाई कैद गरेर लगे, र उनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा पुर्‍याए, जहाँ उनीहरू आजको दिनसम्म छन्।