24
तिनको समयमा बाबेलका राजा नबूकद्नेस्सरले चढ़ाइ गरे; अनि तीन वर्षसम्म यहोयाकिम उनको दास बने। त्यसपछि तिनी फर्के, र उनको विरोधमा विद्रोह गरे। 2 अनि परमप्रभुले तिनको विरोधमा कल्दीहरूका दलहरू, अरामीहरूका दलहरू, मोआबीहरूका दलहरू र अम्मोनीहरूका दलहरू पठाउनुभयो; अनि परमप्रभुले आफ्ना दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा बोल्नुभएको आफ्नो वचनअनुसार यहूदालाई नाश गर्नलाई उहाँले तिनीहरूलाई यसको विरोधमा पठाउनुभयो। 3 निश्चय, उनीहरूलाई उहाँको दृष्टिबाट हटाउनलाई मनस्सेले जे-जे गरे, ती सबै कामअनुसारका तिनका पापहरूले गर्दा यो अवस्था परमप्रभुको आज्ञाअनुसार यहूदामाथि आइपर्यो; 4 साथै त्यस निर्दोष रगतले गर्दा पनि यो आइपर्यो, जुन रगत तिनले बगाएका थिए; किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, जुन कुरा परमप्रभुले क्षमा गर्न चाहनुभएन। 5 अनि यहोयाकिमका अरू बाँकी कामकुराहरू, अनि तिनले गरेका सबै कामहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?यहूदामा यहोयाकिनको शासन, र तिनको कैद
6 तब यहोयाकिम आफ्ना पितापुर्खाहरूसित सुते; र तिनको सट्टामा तिनका छोरा यहोयाकिनलेक राज्य गरे। 7 अनि मिस्रका राजा अबदेखि उसो फेरि आफ्नो देशबाट निस्केर आएनन्; किनकि मिस्रको नदीदेखि लिएर यूफ्रेटिस नदीसम्म जेजति मिस्रका राजाको थियो, त्यो सबै बाबेलका राजाले कब्जा गरेका थिए।
8 राज्य गर्न शुरु गर्दा यहोयाकिन अठार वर्षका थिए; अनि तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाम नहुश्ता थियो, जो यरूशलेमका एल-नातानकी छोरी थिइन्। 9 अनि तिनले सबै कुराहरूमा तिनका पुर्खाहरूले गरेझैं परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे। 10 त्यस बेला बाबेलका राजा नबूकद्नेस्सरका सेवकहरूले यरूशलेममाथि चढ़ाइ गरे, र त्यो शहर घेरामा पर्यो। 11 अनि बाबेलका राजा नबूकद्नेस्सर त्यस शहरको विरोधमा आए, अनि उनका सेवकहरूले त्यसलाई घेरा हाले। 12 तब यहूदाका राजा यहोयाकिन – तिनी, तिनकी आमा, तिनका सेवकहरू, तिनका शासकहरू र तिनका अफिसरहरू बाबेलका राजाकहाँ निस्केर गए। अनि बाबेलका राजाले आफ्नो शासनकालको आठौं वर्षमा तिनलाई कैद गरेर लगे। 13 अनि परमप्रभुले भन्नुभएझैं उनले त्यहाँबाट परमप्रभुको भवनको सबै धन र राजभवनको धन निकालेर लगे; अनि उनले इस्राएलका राजा सुलेमानले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका पात्रहरू काटेर टुक्रा-टुक्रा पारे। 14 अनि उनले सारा यरूशलेमलाई, अनि सबै शासकहरू र सबै शूरवीर योद्धाहरू अर्थात् दस हजार कैदीहरूलाई, साथै सबै कारिगरहरू र लोहारहरूलाई कैद गरेर लगे। देशका सबैभन्दा गरिब मानिसहरूबाहेक अरू कोही पनि रहेन। 15 अनि उनले यहोयाकिनलाई कैद गरेर बाबेलमा लगे; अनि यरूशलेमबाट उनले राजाकी आमा, राजाका पत्नीहरू, तिनका अफिसरहरू र देशका शक्तिशाली मानिसहरूलाई कैदीको रूपमा बाबेलमा लगे। 16 अनि सात हजार शूरवीर मानिसहरू र एक हजार कारिगरहरू र लोहारहरू, जो सबै लड़ाइँ गर्न सक्ने शक्तिशाली मानिसहरू थिए, तिनीहरूलाई पनि बाबेलका राजाले कैदीको रूपमा बाबेलमा लगे। 17 अनि बाबेलका राजाले तिनको सट्टामा तिनका काका मत्तन्याहलाई राजा बनाए, र यिनको नाम बदली गरेर सिद्कियाह राखे।
यहूदामा सिद्कियाहको शासन, र यरूशलेमको विनाश
18 राज्य गर्न शुरु गर्दा सिद्कियाह एक्काइस वर्षका थिए; अनि तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम हमूतल थियो, जो लिब्नाका यिर्मयाहकी छोरी थिइन्। 19 अनि तिनले सबै कुराहरूमा यहोयाकिमले गरेझैं परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे। 20 किनकि परमप्रभुको क्रोधको कारणले – जबसम्म उहाँले तिनीहरूलाई आफ्नो सामुबाट निकालेर फ्याँक्नुभएन – यरूशलेम र यहूदामा यस्तो भयो, कि सिद्कियाहले बाबेलका राजाको विरोधमा विद्रोह गरे।