योसियाहले ल्याएको धार्मिक सुधार
23
अनि राजाले पठाए, अनि उनीहरूले यहूदा र यरूशलेमका सबै बूढ़ा प्रधानहरूलाई तिनीकहाँ भेला गरे। 2 अनि राजा, र तिनको साथमा यहूदाका सबै मानिसहरू र यरूशलेमका सबै बासिन्दाहरू, साथै पूजाहारीहरू, भविष्यवक्ताहरू र साना-ठूला सबै मानिसहरू माथि परमप्रभुको भवनमा गए; अनि तिनले उनीहरूले सुन्ने गरीक परमप्रभुको भवनमा भेट्टाइएको वाचाको पुस्तकका सबै वचनहरू पढ़ेर सुनाए। 3 तब राजा खाँबाको छेउमा उभिए, अनि यस पुस्तकमा लेखिएको त्यस वाचाका वचनहरू पूरा गर्नलाई हामी परमप्रभुको पछि-पछि हिँड़्नेछौं, अनि आफ्नो सम्पूर्ण हृदयले र आफ्नो सम्पूर्ण प्राणले उहाँका आज्ञाहरू, उहाँका साक्षी-वचनहरू र उहाँका नियमहरू पालन गर्नेछौं भनी परमप्रभुको सामु एउटा वाचा बाँधे। अनि सबै मानिसहरूले यस वाचालाई समर्थन गरे।4 अनि राजाले महापूजाहारी हिल्कियाहलाई, दोस्रो दर्जाका पूजाहारीहरूलाई र ढोकामा पहरा दिनेहरूलाई बाल, अशेराको मूर्ति र आकाशको सारा गणका निम्ति बनाइएका सबै भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आज्ञा गरे; अनि तिनले ती थोकहरू यरूशलेमबाहिर किद्रोनका खुला जमिनहरूमाख जलाइदिए, र तिनको खरानी बेतएलमा लगे। 5 अनि यहूदाका राजाहरूले यहूदाका शहरहरूमा भएका उच्च स्थानहरूमा र यरूशलेमको वरिपरि भएका ठाउँहरूमा धूप बाल्नलाई नियुक्त गरेका मूर्तिपूजक पूजाहारीहरूलाई, अनि बाल, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशको सारा गणका निम्ति धूप बाल्नेहरूलाई हटाइदिएग। 6 अनि तिनले अशेराको मूर्ति परमप्रभुको भवनबाट निकालेर यरूशलेमबाहिर, किद्रोन खोलामा ल्याए, र त्यसलाई त्यही किद्रोन खोलामा जलाइदिए, र त्यसलाई धूलोपीठो पारे, अनि त्यसको धूलो साधारण मानिसहरूका चिहानहरूमाथि छरिदिए। 7 अनि तिनले परमप्रभुको भवनमा भएका ती पुरुषगामीहरूकाग घरहरू भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराका निम्ति पर्दाहरूग बुन्ने गर्थे। 8 अनि यहूदाका शहरहरूबाट तिनले सबै पूजाहारीहरूलाई ल्याए, र गेबादेखि बेरशेबासम्म पूजाहारीहरूले धूप बाल्ने गरेका उच्च स्थानहरू अशुद्ध तुल्याइदिए, अनि मूलढोकाहरूका उच्च स्थानहरू भत्काइदिए, जुन उच्च स्थानहरू शहरका शासक यहोशूको मूलढोकाको पस्ने ठाउँमा थिए, जुनचाहिँ शहरको मूलढोकाको देब्रेपट्टि थिए। 9 तर ती उच्च स्थानहरूका पूजाहारीहरू माथि यरूशलेममा परमप्रभुको वेदीनिर आउँदैनथिए, तर आफ्ना दाजुभाइहरूको बीचमा अखमिरे रोटी खान्थे। 10 अनि कसैले पनि आफ्नो छोरा वा आफ्नी छोरीलाई मोलेकका निम्ति आगोमा होम नगरोस्घ भनेर तिनले हिन्नोमका छोराहरूको बेंसीमा भएको तोपेत अशुद्ध तुल्याइदिए। 11 अनि यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोड़ाहरू तिनले हटाए, जुन घोड़ाहरू परमप्रभुको भवनको पस्ने ठाउँमा, अधिकारी नातान-मेलेकको कोठाको छेउमा राखिएका थिए, जुन कोठाचाहिँ बाहिरी भागमाङ थियो; अनि सूर्यका रथहरू तिनले आगोले जलाइदिए। 12 अनि आहाजको माथिल्लो कोठाको कौसीमा यहूदाका राजाहरूले बनाएका वेदीहरू र मनस्सेले परमप्रभुको भवनका दुई चोकमा बनाएका वेदीहरू राजाले भत्काइदिए, त्यहाँबाट ढालेर तिनलाई धूलोपीठो पारे र तिनको धूलो किद्रोन खोलामा फ्याँकिदिए। 13 अनि यरूशलेमको सामु, त्यस विनाशको डाँड़ाको दाहिनेपट्टि राखिएका उच्च स्थानहरू, जो इस्राएलका राजा सुलेमानले सिडोनीहरूको घृणित वस्तु अश्तोरेत, मोआबीहरूको घृणित वस्तु कमोश र अम्मोनीहरूको घृणित वस्तु मिल्कोमका निम्ति बनाएका थिए, ती उच्च स्थानहरू राजाले अशुद्ध तुल्याइदिए। 14 अनि तिनले मूर्तिहरू टुक्रा-टुक्रा पारे, र अशेराका मूर्तिहरू काटेर ढालिदिए अनि तिनीहरूका ठाउँहरू मानिसहरूका हड्डीले भरिदिए;
15 त्यसबाहेक बेतएलमा भएको वेदी र त्यो उच्च स्थान, जुन उच्च स्थान इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामले बनाएका थिए, अँ, त्यो वेदी र त्यो उच्च स्थान दुवैलाई तिनले ढालिदिए; अनि तिनले त्यो उच्च स्थान जलाए र त्यसलाई धूलोपीठो पारिदिए, अनि अशेराको मूर्ति पनि जलाइदिए। 16 अनि योसियाहले फर्केर हेर्दाच तिनले त्यस पहाड़मा चिहानहरू देखे, र मानिसहरू पठाएर ती चिहानहरूबाट हड्डीहरू निकाले, अनि परमेश्वरको जनले घोषणा गरेको परमप्रभुको वचनअनुसार, जसले यी वचनहरू घोषणा गरेका थिए, तिनले ती हड्डीहरूछ त्यस वेदीमाथि जलाए र त्यसलाई अशुद्ध तुल्याइदिए। 17 त्यसपछि तिनले भने: “मैले देखिरहेको त्यो स्मारकचाहिँ के हो?” अनि त्यस शहरका मानिसहरूले तिनलाई भने: “त्योचाहिँ तिनै परमेश्वरको जनको चिहान हो, जो यहूदाबाट आएका थिए, र जसले तपाईंले बेतएलको वेदीको विरोधमा जेजसो गर्नुभयो, ती कुराहरूकै घोषणा गरेका थिए।” 18 अनि तिनले भने: “तिनलाई छोड़िदेओ! तिनका हड्डीहरू कसैले पनि नचलाओस्!” तब तिनीहरूले तिनका हड्डीहरू, र सामरियाबाट आएका भविष्यवक्ताका हड्डीहरूलाई पनि छोड़िदिए। 19 अनि सामरियाका शहरहरूमा भएका उच्च स्थानहरूका सबै घरहरू, जुन घरहरू परमप्रभुलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, ती घरहरू पनि योसियाहले हटाए; अनि बेतएलमा तिनले जस्तो गरेका थिए, तीसित तिनले त्यस्तै गरे। 20 अनि तिनले त्यहाँ भएका ती उच्च स्थानहरूका सबै पूजाहारीहरूलाई ती वेदीहरूमाथि मारे, तीमाथि मानिसहरूका हड्डीहरू जलाए; त्यसपछि तिनी यरूशलेममा फर्के।
निस्तार चाड़को पुनर्स्थापन
21 अनि राजाले सारा प्रजालाई यसो भन्ने आज्ञा गरे: “यस वाचाको पुस्तकमा लेखिएझैं परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति निस्तार चाड़ मनाओ!” 22 निश्चय, योजस्तो निस्तार चाड़ त न्यायकर्ताहरूले इस्राएललाई न्याय गरेका दिनहरूदेखि मनाइएको थिएन – न इस्राएलका राजाहरूका सबै दिनहरूमा, न यहूदाका राजाहरूका दिनहरूमा; 23 तर राजा योसियाहको अठारौं वर्षमा यरूशलेममा परमप्रभुका निम्ति यो निस्तार चाड़ मनाइएको थियो। 24 त्यसबाहेक पूजाहारी हिल्कियाहले परमप्रभुको भवनमा भेट्टाएको पुस्तकमा लेखिएका व्यवस्थाका वचनहरू पूराज गर्नलाई योसियाहले भूतप्रेत खेलाउनेहरू, टुनामुना गर्नेहरूझ, घर-देवताहरू, मूर्तिहरू र यहूदा देशमा अनि यरूशलेममा देखा परेका सबै घिनलाग्दा वस्तुहरू हटाइदिए।
25 अनि तिनीभन्दा अघि मोशाको व्यवस्थाअनुसार आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले परमप्रभुतिर फर्कने तिनीजस्तो अरू कुनै राजा भएनन्, न ता तिनीपछि तिनीजस्तो कोही उठे। 26 तापनि परमप्रभु आफ्नो ठूलो क्रोधको प्रचण्डताबाट हट्नुभएन; किनकि उहाँको क्रोध ती सबै रिस उठाउने कामहरूले गर्दा यहूदाको विरोधमा दन्केको थियो, जुन कामहरूद्वारा मनस्सेले उहाँलाई रिस उठाएका थिए। 27 अनि परमप्रभुले भन्नुभयो: “जसरी मैले इस्राएललाई हटाएँ, त्यसरी नै म यहूदालाई पनि मेरो दृष्टिबाट हटाउनेछु, अनि मैले चुनेको यस यरूशलेम शहरलाई र जुन भवनको विषयमा ‘मेरो नाम त्यहाँ रहनेछ’ भनी मैले भनेको थिएँ, त्यस भवनलाई पनि म फालिदिनेछुञ।” 28 अब योसियाहका अरू बाँकी कामकुराहरू, अनि तिनले गरेका सबै कामहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
29 तिनको समयमा मिस्रका राजा फाराओ-नेकोले यूफ्रेटिस नदीमा अश्शूरका राजामाथि चढ़ाइ गरे; अनि राजा योसियाह तिनको विरोधमा निस्के। अनि तिनलाई देखेपछि फाराओ-नेकोलेट तिनलाई मेगिद्दोमा मारे। 30 अनि तिनका सेवकहरूले तिनलाई मरेको अवस्थामा एउटा रथमा बोकेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको चिहानमा गाड़े। तब देशका मानिसहरूले योसियाहका छोरा यहोआहाजलाई लिए, उनलाई अभिषेक गरे र उनलाई उनका बुबाको सट्टामा राजा बनाए।
यहूदामा यहोआहाजको शासन, र तिनको कैद
31 राज्य गर्न शुरु गर्दा यहोआहाज तेइस वर्षका थिए; अनि उनले यरूशलेममा तीन महिना राज्य गरे। अनि उनकी आमाको नाम हमूतल थियो, जो लिब्नाका यिर्मयाहकी छोरी थिइन्। 32 अनि उनले सबै कुराहरूमा उनका पुर्खाहरूले गरेझैं परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे। 33 अनि उनले यरूशलेममा राज्य गर्न नपाऊन् भनेर फाराओ-नेकोले उनलाई हमात देशको रिब्लामा बन्धनमा राखे, र देशमाथि एक सय किक्कर चाँदी र एक किक्कर सुन जरिवाना लगाइदिए।
यहूदामा यहोयाकिमको शासन
34 अनि फाराओ-नेकोले योसियाहका छोरा एल्याकिमलाई तिनका बुबा योसियाहको सट्टामा राजा बनाए, र तिनको नाम बदली गरेर यहोयाकिम राखिदिए, तर यहोआहाजलाई चाहिँ उनले लगे; अनि यिनी मिस्रमा पुगे, र त्यहीं मरे। 35 अनि यहोयाकिमले फाराओलाई त्यो चाँदी र त्यो सुन दिए; तर फाराओको आज्ञाअनुसार त्यो पैसा दिनलाई तिनले देशमाथि कर लगाए। फाराओ-नेकोलाई दिनका निम्ति तिनले देशका मानिसहरूबाट, हरेक मानिसबाट उसको मूल्याङ्कनअनुसार हुने गरी त्यो चाँदी र त्यो सुन असुल गरे।