यहूदामा मनस्सेको शासन, र तिनका घिनलाग्दा पापहरू
21
राज्य गर्न शुरु गर्दा मनस्से बाह्र वर्षका थिए; अनि तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम हेप्सीबा थियो। 2 अनि जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट निकालिदिनुभएको थियो, ती जातिहरूका घिनलाग्दा कामहरूअनुसार तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे। 3 किनकि तिनका बुबा हिजकियाहले नाश गरेका ती उच्‍च स्थानहरू तिनले फेरि निर्माण गरे; अनि इस्राएलका राजा अहाबले झैं तिनले बालका निम्ति वेदीहरू खड़ा गरे, र अशेराको मूर्ति बनाए; अनि तिनले आकाशको सारा गणलाई दण्‍डवत्‌ गरे, र तिनीहरूको पूजा गरे। 4 अनि तिनले परमप्रभुको भवनमा वेदीहरू बनाए, जसको विषयमा परमप्रभुले भन्‍नुभएको थियो: ‘यरूशलेममा म आफ्नो नाम राख्‍नेछु।’ 5 अनि तिनले परमप्रभुको भवनका दुई चोकहरूमा आकाशको सारा गणका निम्ति वेदीहरू बनाए। 6 अनि तिनले आफ्नो छोरालाई आगोमा होम गरे। तिनले साइत हेर्थे, मन्‍त्रतन्‍त्र गर्थे अनि भूतप्रेत खेलाउनेहरू र टुनामुना गर्नेहरूलाई चलाउँथे। उहाँलाई रिस उठाउन तिनले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे। 7 अनि तिनले आफूले बनाएको अशेराको त्यो खोपेको मूर्ति त्यस भवनमा राखे, जसको विषयमा परमप्रभुले दाऊदलाई र उनका छोरा सुलेमानलाई भन्‍नुभएको थियो: ‘यस भवनमा र यरूशलेममा, जुन यरूशलेम मैले इस्राएलका सबै कुलहरूबाट चुनेको छु, म आफ्नो नाम सदा-सर्वदा राख्‍नेछु, 8 अनि इस्राएलीहरूले मैले उनीहरूलाई आज्ञा गरेका सबै कुराअनुसार र मेरो दास मोशाले उनीहरूलाई आज्ञा गरेको सारा व्यवस्थाअनुसार साँच्‍चै होशियारसाथ गरे भने मैले उनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट म इस्राएलका पाउहरू फेरि घुमिहिँड़्‍ने तुल्याउनेछैनँ।’ 9 तर उनीहरूले मानेनन्; अनि जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट नाश गर्नुभयो, ती जातिहरूले भन्दा बढ़ी दुष्‍ट काम गर्नलाई मनस्सेले उनीहरूलाई भड़्काए।
10 अनि परमप्रभुले आफ्ना दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा यसो भन्‍नुभयो: 11 “यहूदाका राजा मनस्सेले यी घिनलाग्दा कामहरू गरेको छ, अनि आफूभन्दा पहिलेका एमोरीहरूले गरेका सबै दुष्‍टताभन्दा बढ़ी दुष्‍टता गरेको छ, र आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पनि पाप गर्न लगाएको छ; 12 यसैकारण परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, यरूशलेम र यहूदामाथि म यस्तो विपत्ति ल्याउनेछु, कि हरेक जसले यसको विषयमा सुन्ला, त्यसका दुवै कान झनझनाउनेछन्। 13 अनि म यरूशलेममाथि सामरियाको नाप्‍ने डोरी र अहाबको घरानाको साहुल लगाउनेछु; अनि जसरी कसैले थाल पुछ्छ, र पुछेर त्यसलाई घोप्ट्याएर राख्छ, त्यसरी नै म यरूशलेमलाई मेटाइदिनेछु। 14 अनि म मेरो पैतृक सम्पत्तिको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र उनीहरूलाई उनीहरूका शत्रुहरूको हातमा सुम्पिदिनेछु; अनि उनीहरू उनीहरूका सबै शत्रुहरूको शिकार र लुटको माल बन्‍नेछन्, 15 किनकि उनीहरूका पितापुर्खाहरू मिस्रबाट निस्केर आएको समयदेखि आजको दिनसम्म उनीहरूले मेरो दृष्‍टिमा जे खराब थियो, त्यही गरेर मलाई रिस उठाएका छन्।”
16 अनि जबसम्म मनस्‍सेले यरूशलेमलाई एक छेउदेखि अर्को छेउसम्म रगतले भरेनन्, तबसम्म तिनले अति धेरै निर्दोष रगत बगाए; तिनको त्यस पापबाहेक, जसद्वारा परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गर्दै तिनले यहूदालाई पाप गर्न लगाए।
17 अब मनस्सेका अरू बाँकी कामकुराहरू, अनि तिनले गरेका सबै काम र तिनले गरेको तिनको पाप – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 18 अनि मनस्से आफ्ना पितापुर्खाहरूसित सुते, र आफ्नो राजभवनको बगैंचामा अर्थात् उज्जाको बगैंचामा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा आमोनले राज्य गरे।
यहूदामा आमोनको शासन
19 राज्य गर्न शुरु गर्दा आमोन बाइस वर्षका थिए; अनि तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम मशुल्लेमेत थियो, जो योत्बाका हारूसकी छोरी थिइन्। 20 अनि तिनका बुबा मनस्सेले गरेझैं तिनले पनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे। 21 अनि तिनका बुबाको पूरा चालमा हिँड़ेर तिनले आफ्ना बुबाले पूजा गरेका मूर्तिहरूको पूजा गरे, र तिनीहरूलाई दण्‍डवत्‌ गरे; 22 अनि तिनले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे; र तिनी परमप्रभुको मार्गमा हिँड़ेनन्। 23 अनि आमोनका सेवकहरूले तिनको विरोधमा एउटा षड़्यन्‍त्र रचे, र राजालाई तिनको घरैमा हत्या गरे। 24 अनि देशका मानिसहरूले राजा आमोनको विरोधमा षड़्यन्‍त्र गर्ने सबैलाई मारे; अनि देशका मानिसहरूले तिनको सट्टामा तिनका छोरा योसियाहलाई राजा बनाए।
25 अब आमोनका अरू बाँकी कामकुराहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 26 अनि तिनी उज्जाको बगैंचामा, तिनको चिहानमा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा योसियाहले राज्य गरे।