राजा हिजकियाह बिमारीबाट निको भए
20
ती दिनहरूमा हिजकियाह मर्ने गरी बिरामी भए। अनि आमोसका छोरा यशैया भविष्यवक्ताले तिनीकहाँ आएर तिनलाई भने: “परमप्रभुले यसो भन्‍नुहुन्छ, तिम्रो घरानाको व्यवस्था मिलाऊ; किनकि तिमी मर्नेछौ, अँ, बाँच्‍नेछैनौ।” 2 तब तिनले भित्तापट्टि आफ्नो मुख फर्काएर यसो भन्दै परमप्रभुलाई प्रार्थना गरे: 3 “हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्छु, म तपाईंको सामु सत्यतामा र सिद्ध हृदय लिएर हिँड़ेको छु, र मैले तपाईंको दृष्‍टिमा जे असल छ, त्यही गरेको छु, सो अब सम्झना गर्नुहोस्!” अनि हिजकियाह धुरुधुरु रोए।
4 अनि यस्तो भयो: यशैया निस्केर बीचको चोकमा पुग्‍नुभन्दा पहिल्यै परमप्रभुको यसो भन्‍ने वचन तिनीकहाँ आयो: 5 “फर्क, र मेरो प्रजाका नायक हिजकियालाई यसो भन: ‘परमप्रभु तिम्रा पिता दाऊदका परमेश्‍वरले यसो भन्‍नुहुन्छ, मैले तिम्रो प्रार्थना सुनेको छु; मैले तिम्रा आँसुहरू देखेको छु; हेर, म तिमीलाई निको पार्नेछु। तेस्रो दिनमा तिमी माथि परमप्रभुको भवनमा जानेछौ। 6 अनि म तिम्रो आयुमा पन्ध्र वर्ष थपिदिनेछु। अनि म तिमीलाई र यस शहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु, अनि मेरो आफ्नै निम्ति र मेरो दास दाऊदका निम्ति म यस शहरको रक्षा गर्नेछु।’ ” 7 अनि यशैयाले भने: “नेभाराहरूको एउटा लेप ल्याओ!” अनि उनीहरूले त्यो ल्याए, र त्यस पिलोमाथि राखिदिए, अनि तिनी निको भए।
8 अनि हिजकियाहले यशैयालाई भने: “परमप्रभुले मलाई निको पार्नुहुनेछ, र तेस्रो दिनमा म माथि परमप्रभुको भवनमा जानेछु भन्‍ने कुराको चिन्ह के होला?” 9 अनि यशैयाले भने: “परमप्रभुले आफूले भन्‍नुभएको कुरा पूरा गर्नुहुनेछ भनेर परमप्रभुबाट तिम्रा निम्ति चिन्ह यो हुनेछ। छाया दस डिग्री अघि बढ़ोस् कि दस डिग्री पछि सरोस्?” 10 अनि हिजकियाहले जवाफ दिए: “छाया दस डिग्री अघि बढ्नु त सरल कुरा हो; होइन, तर छाया दस डिग्री पछाड़ि सरोस्!” 11 तब भविष्यवक्ता यशैयाले परमप्रभुलाई पुकारे; अनि उहाँले आहाजको धूपघड़ीमा छाया जति डिग्रीहरू तल ढल्किएको थियो, त्यो छाया दस डिग्री पछाड़ि फर्काइदिनुभयो।
12 त्यस बेला बाबेलका राजा बलदानका छोरा बरोदक-बलदानले हिजकियाहकहाँ पत्रहरू र एउटा सौगात पठाए; किनकि हिजकियाह बिरामी भएको कुरा तिनले सुनेका थिए। 13 अनि हिजकियाहले ती पत्रहरूको कुरा सुने, र तिनीहरूलाई आफ्ना बहुमूल्य थोकहरूको सारा भण्डार अर्थात् चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेल, साथै आफ्ना हातहतियारहरू राख्‍ने सारा घर र आफ्ना भण्डारहरूमा पाइने सबै थोकहरू देखाइदिए; तिनको भवनमा र तिनको सम्पूर्ण अधिकार-क्षेत्रभित्र हिजकियाहले तिनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन। 14 त्यसपछि भविष्यवक्ता यशैया राजा हिजकियाहकहाँ आए, र तिनलाई भने: “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट तपाईंकहाँ आएका हुन्?” अनि हिजकियाहले भने: “तिनीहरू टाढ़ा देशबाट, अँ, बाबेलबाट आएका हुन्।” 15 तब उनले भने: “तपाईंको भवनमा तिनीहरूले के-के देखे?” अनि हिजकियाहले जवाफ दिए: “तिनीहरूले मेरो भवनमा भएका सबै थोकहरू देखे; मेरा भण्डारहरूमा मैले तिनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन।” 16 तब यशैयाले हिजकियाहलाई भने: “परमप्रभुको वचन सुन्‍नुहोस्! 17 हेर, यस्ता दिनहरू आउँदैछन्, जब तिम्रो भवनमा भएका सबै थोकहरू र तिम्रा पितापुर्खाहरूले आजको दिनसम्म साँचेर राखेका थोकहरू बाबेलमा लगिनेछन्; केही पनि छोड़िनेछैन, परमप्रभु भन्‍नुहुन्छ। 18 अनि तिनीहरूले तिमीबाट निस्केर आउने तिम्रा कतिपय छोराहरूलाई लैजानेछन्, जसलाई तिमीले जन्माउनेछौ, र उनीहरू बाबेलका राजाको दरवारमा नपुंसक हुनेछन्।” 19 तब हिजकियाहले यशैयालाई भने: “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असल हो।” अनि तिनले भने: “मेरा दिनहरूमा शान्ति र सत्यता कायम रहे भने, के यो असल होइन र?”
20 अनि हिजकियाहका अरू बाँकी कामकुराहरू, र तिनको सारा वीरता, अनि तिनले त्यो दह र त्यो कुलो बनाएर शहरमा पानी ल्याएको कुरा – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 21 अनि हिजकियाह आफ्ना पितापुर्खाहरूसित सुते, र तिनको सट्टामा तिनका छोरा मनस्सेले राज्य गरे।