यहूदामा हिजकियाहको शासन
18
अनि इस्राएलका राजा एलाका छोरा होशेको तेस्रो वर्षमा यस्तो भयो: यहूदाका राजा आहाजका छोरा हिजकियाहले राज्य गर्न थाले। 2 राज्य गर्न शुरु गर्दा तिनी पच्‍चीस वर्षका थिए; अनि यरूशलेममा तिनले उनन्तीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अबी थियो, जो जकर्याहकी छोरी थिइन्। 3 अनि तिनले आफ्ना पिता दाऊदले गरेका सबै कामहरूअनुसार परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे। 4 तिनले ती उच्‍च स्थानहरू हटाइदिए, मूर्तिहरू तोड़िदिए, अशेराका मूर्तिहरू काटेर ढालिदिए र मोशाले बनाएका पित्तलको साँप पनि टुक्रा-टुक्रा पारिदिए; किनकि ती दिनहरूसम्म इस्राएलीहरूले त्यसका निम्ति धूप बाल्थे; अनि तिनले त्यसको नाम नहुश्तान राखे। 5 तिनले परमप्रभु इस्राएलका परमेश्‍वरमाथि भरोसा राख्थे; र तिनीपछि यहूदाका सबै राजाहरूमध्ये कोही पनि तिनीजस्ता भएनन्, न ता तिनीभन्दा अघिकाहरूमध्ये कोही थिए। 6 किनकि तिनी परमप्रभुसँग टाँसिरहे, र उहाँको पछि लाग्‍नदेखि कहिल्यै हटेनन्, तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरिरहे। 7 अनि परमप्रभु तिनको साथमा हुनुहुन्थ्यो; अनि तिनी जहाँ निस्केर गए पनि तिनी सफल हुन्थे; अनि तिनले अश्शूरका राजाको विरोधमा विद्रोह गरे, र उनको सेवा गरेनन्। 8 तिनले गाजासम्म र त्यसका सिमानाहरूमा पहरेदारहरूको धरहरादेखि लिएर पर्खालले घेरिएको शहरसम्म पलिस्तीहरूलाई प्रहार गरे।
सामरियाको विनाश
9 अनि यस्तो भयो: राजा हिजकियाहको चौथो वर्षमा अर्थात् इस्राएलका राजा एलाका छोरा होशेको सातौं वर्षमा अश्शूरका राजा शल्मनेसेरले सामरियामाथि चढ़ाइ गरे, र त्यसलाई घेरे। 10 अनि तीन वर्षको अन्तमा तिनीहरूले त्यसलाई कब्जा गरे; हिजकियाहको छैटौं वर्षमा अर्थात् इस्राएलका राजा होशेको नवौं वर्षमा सामरिया कब्जा गरियो। 11 अनि अश्शूरका राजाले इस्राएललाई कैद गरेर अश्शूरमा लगे, र उनीहरूलाई हलहमा र गोजान नदीको छेउमा भएको हाबोरमा, साथै मादीहरूका शहरहरूमा राखिदिए; 12 किनभने उनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको वाणी पालन गरेनन्, तर उहाँको वाचा अर्थात् परमप्रभुका दास मोशाले दिएका सबै आज्ञाहरू उल्‍लङ्घन गरे; अनि उनीहरूले न ती कुराहरू सुने, न गरे।
अश्शूरका राजा सनहेरिबको धम्की
13 अनि राजा हिजकियाहको चौधौं वर्षमा अश्शूरका राजा सनहेरिबले यहूदाका पर्खालले घेरिएका सबै शहरहरूमाथि चढ़ाइ गरे, र तिनलाई कब्जा गरे। 14 अनि यहूदाका राजा हिजकियाहले लाकीशमा अश्शूरका राजाकहाँ यसो भनिपठाए: “मैले अपराध गरेको छु। मबाट फर्केर जानुहोस्; तपाईंले ममाथि जे लगाउनुहुन्छ, त्यो म बेहोर्नेछु।” तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहमाथि तीन सय किक्‍कर चाँदी र तीस किक्‍कर सुन तोकिदिए। 15 अनि हिजकियाहले उनलाई परमप्रभुको भवनमा र राजभवनका भण्डारहरूमा पाइएको सबै चाँदी दिइहाले। 16 त्यस बेला हिजकियाहले परमप्रभुको पवित्रस्थानका ती ढोकाहरूबाट र ती खाँबाहरूबाट, जसमा यहूदाका राजा हिजकियाहले सुन मोहोरेका थिए, त्यो सुन काटे, र त्यो अश्शूरका राजालाई दिए।
17 अनि अश्शूरका राजाले लाकीशबाट एउटा ठूलो सेनाको साथमा तर्तान, रब-सारीस र रब्‌-शाकेलाई यरूशलेमको विरोधमा राजा हिजकियाहकहाँ पठाए। अनि तिनीहरू माथि चढ़े, र यरूशलेममा आइपुगे। अनि जब तिनीहरू माथि चढ़े, र पुगे, तब तिनीहरू धोबीको जमिनको मूलबाटोमा भएको माथिल्‍लो दहको कुलोनिर उभिए। 18 अनि जब तिनीहरूले राजालाई बोलाए, तब हिल्कियाहका छोरा एल्याकिम, जो राजघरानाका अधिकारी थिए, सचिव शेब्‍ना र आसापका छोरा योआ, जो इतिहास लेखक थिए, तिनीहरूकहाँ निस्केर गए। 19 अनि रब्‍शाकेले उनीहरूलाई भने: “अब हिजकियाहलाई यसो भनिदेओ, ‘अश्शूरका राजाले, ती महान् राजाले यसो भन्दै हुनुहुन्छ, “यो केको भरोसा हो, जसमाथि तिमी भर पर्छौ?” 20 ‘मसित लड़ाइँ गर्ने युक्ति र पराक्रम छ’ भनी तिमी भन्छौ, तर ती त ओठका शब्दहरू मात्र हुन्। अब कसमाथि भर परेर तिमीले मेरो विरोधमा विद्रोह गर्छौ? 21 अब हेर, तिमी ता त्यस भाँचिएको निगालोरूपी लाठीमाथि अर्थात् मिस्रमाथि भर पर्छौ; त्यसमाथि भर परेर जसकसैले टेक्यो भने त्यो उसको हातभित्र पस्‍नेछ, र त्यसलाई छेंड़्नेछ; मिस्रको राजा फराओ त्यसमाथि भर पर्नेहरू सबैका निम्ति यस्तै हो। 22 तर तिमीहरूले मलाई ‘हामी परमप्रभु आफ्ना परमेश्‍वरमाथि भरोसा गर्छौं’ भन्छौ भने, के तिनी उही ईश्‍वर होइनन् र, जसका उच्‍च स्थानहरू र जसका वेदीहरू हिजकियाहले हटाए, अनि यहूदा र यरूशलेमलाई भने, ‘तिमीहरूले यरूशलेममा यस वेदीको सामु दण्‍डवत्‌ गर्नू!’? 23 यसकारण अब म तिमीलाई विन्‍ती गर्छु, मेरा मालिक अश्शूरका राजाको सामु केही धितो राख! र म तिमीलाई दुई हजार घोड़ा दिनेछु – यदि तिमीले आफ्नो पट्टिबाट तीमाथि घोड़चढ़ीहरूलाई चढ़ाउन सक्छौ भने। 24 तब कसरी तिमीले मेरा मालिकका सानाभन्दा साना कर्मचारीहरूको एकजना अधिकारीको मुख फर्काउँछौ त? र रथहरू र घोड़चढ़ीहरूका निम्ति मिस्रमाथि भर पर्छौ त? 25 अब के म परमप्रभुविना यो ठाउँ नाश गर्नलाई यसमाथि चढ़ाइ गर्न आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, ‘यस देशमाथि चढ़ाइ गर, र यसलाई नाश गर!’ ”
26 तब हिल्कियाहका छोरा एल्याकिम, शेब्‍ना र योआले रब्‍शाकेलाई भने: “म तपाईंलाई विन्‍ती गर्छु, आफ्ना दासहरूसित अरामी भाषामा बोलिदिनुहोस्; किनकि हामी त्यो भाषा बुझ्छौं; अनि यी पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी यहूदी भाषामा हामीसित कुरा नगरिदिनुहोस्!” 27 तर रब्‍शाकेले उनीहरूलाई भने: “के मेरा मालिकले मलाई तिम्रो मालिककहाँ र तिमीकहाँ मात्र यी कुराहरू बोल्न पठाउनुभएको हो र? के पर्खालमाथि बस्‍ने यी मानिसहरूले तिमीहरूसँगै आफ्नै दिसा खाऊन्, र आफ्नै पिसाप पिऊन् भनेर उहाँले मलाई तिनीहरूकहाँ पठाउनुभएको होइन र?”
28 तब रब्‍शाके उभिएर चर्को सोरले कराए, र यहूदी भाषामा यसो भने: “अश्शूरका राजा, ती महान् राजाको कुरा सुन: 29 राजाले यसो भन्‍नुहुन्छ, हिजकियाहले तिमीहरूलाई धोका दिन नपाऊन्; किनकि तिनले तिमीहरूलाई मेरो हातबाट छुटकारा दिन सक्नेछैनन्; 30 अनि ‘परमप्रभुले हामीलाई अवश्य छुटाउनुहुनेछ, र यो शहर अश्शूरका राजाको हातमा दिइनेछैन’ भन्दै हिजकियाहले तिमीहरूलाई परमप्रभुमाथि भरोसा पर्न नलगाऊन्! 31 हिजकियाहको कुरा नसुन! किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ: एउटा सौगात लिएर मसित सम्झौता गर, र बाहिर मकहाँ आओ! तब तिमीहरू हरेकले आ-आफ्नो दाखको बोटबाट, र हरेकले आ-आफ्नो नेभाराको रूखबाट खाओ, र आ-आफ्नो इनारको पानी पिओ! 32 जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै देशजस्तो एउटा देशमा – एउटा अन्‍न र दाखमद्यको देशमा, एउटा रोटी र दाखबारीहरूको देशमा, एउटा जैतुनको तेल र महको देशमा लैजाँदिनँ, फलस्वरूप तिमीहरू बाँच्‍न सक र नमर;’ अनि जब हिजकियाहले ‘परमप्रभुले हामीलाई छुटाउनुहुनेछ’ भन्दै तिमीहरूलाई सुर्‍याउन खोज्लान्, तब तिनको कुरा नसुन! 33 के जाति-जातिका देवताहरूमध्ये कसैले कहीं आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाएको छ र? 34 हमात र अर्पादका देवताहरू खोइ, कहाँ छन्? सपर्वैम, हेना र इव्वाका देवताहरू खोइ, कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाए त? 35 यी देश देशका सबै देवताहरूमध्ये कस-कसले आफ्नो देशलाई मेरो हातबाट छुटाएका छन् त, र परमप्रभुले पनि यरूशलेमलाई मेरो हातबाट छुटाउन सक्लान्?” 36 तर मानिसहरू चुप रहे, र उनलाई एक शब्द पनि जवाफ दिएनन्; किनकि ‘उनलाई जवाफ नदिनू’ भन्‍ने राजाको आज्ञा थियो। 37 तब हिल्कियाहका छोरा एल्याकिम, जो राजघरानाका अधिकारी थिए, सचिव शेब्‍ना र आसापका छोरा योआ, जो इतिहास लेखक थिए, उनीहरू आफ्ना च्यातिएका लुगाहरूसित हिजकियाहकहाँ आए, र रब्‌-शाकेले भनेका कुराहरू तिनलाई सुनाए।