इस्राएलको अन्तिम राजा होशेको शासन
17
यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाका छोरा होशेले सामरियामा नौ वर्ष इस्राएलमाथि राज्य गर्न थाले। 2 अनि तिनले पनि परमप्रभुको दृष्‍टिमा जे खराब तियो, त्यही गरे; तर तिनीभन्दा अघिका इस्राएलका राजाहरूले जस्तै चाहिँ होइन।
3 तिनीमाथि अश्शूरका राजा शल्मनेसेरले चढ़ाइ गरे; अनि होशे उनको दास बने, र उनलाई कर तिरे। 4 तर अश्शूरका राजाले होशेमा षड़्यन्‍त्रकारी चाल भेट्टाए; किनकि तिनले मिस्रका राजा सोकहाँ दूतहरू पठाएका थिए, र अश्शूरका राजालाई हरेक वर्षमा गरेझैं कर तिरेनन्। यसकारण अश्शूरका राजाले तिनलाई थुने, र तिनलाई झ्यालखानामा बाँधे। 5 तब अश्शूरका राजाले सम्पूर्ण देशमाथि चढ़ाइ गरे, माथि सामरियामा गए र त्यसलाई तीन वर्षसम्म घेरिराखे। 6 होशेको नवौं वर्षमा अश्शूरका राजाले सामरिया कब्जा गरे, इस्राएललाई कैद गरेर अश्शूरमा लगे अनि उनीहरूलाई हलहमा र गोजान नदीको छेउमा भएको हाबोरमा, साथै मादीहरूका शहरहरूमा बसाए।
इस्राएलीहरू अश्शूर देशमा कैदी भई गएको कारण
7 अनि यस्तो हुनुको कारणचाहिँ यो थियो: इस्राएलीहरूले आफूलाई मिस्र देशबाट, मिस्रका राजा फाराओको हातमुनिबाट निकालेर ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्‍वरको विरोधमा पाप गर्थे, र अन्य देवताहरूको भय मान्थे; 8 अनि जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट निकालिदिनुभएको थियो, ती जातिहरूका नियमहरूमा, साथै इस्राएलका राजाहरूले बनाएका तिनीहरूका नियमहरूमा हिँड़्थे। 9 अनि इस्राएलीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको विरोधमा गुप्‍त रूपले बेठीक कामहरू गरे, र पहरेदारहरूको धरहरादेखि लिएर पर्खालले घेरिएको शहरसम्म आफ्ना सबै शहरहरूमा आफ्ना निम्ति उच्‍च स्थानहरू बनाए; 10 अनि उनीहरूले आफ्ना निम्ति हरेक अग्लो डाँड़ामाथि र हरेक हरियो रूखमुनि मूर्तिहरू र अशेराका मूर्तिहरू खड़ा गरे; 11 अनि त्यहाँ उनीहरूले ती अन्यजातिहरूले झैं, जसलाई परमप्रभुले उनीहरूको सामुबाट कैदमा लगेर हटाइदिनुभएको थियो, सबै उच्‍च स्थानहरूमा धूप बाले, अनि परमप्रभुलाई रिस उठाउनलाई दुष्‍ट कामहरू गरे; 12 किनकि उनीहरूले मूर्तिहरूको पूजा गरे, जसको विषयमा परमप्रभुले उनीहरूलाई भन्‍नुभएको थियो: ‘तिमीहरूले यस्तो कुरा नगर्नू!’ 13 तर पनि परमप्रभुले आफ्ना सबै भविष्यवक्ताहरूद्वारा, अँ, सबै दर्शीहरूद्वारा इस्राएल र यहूदाको विरोधमा यसो भन्दै चेताउनी दिनुभयो: ‘तिमीहरू आफ्ना कुमार्गहरूदेखि फर्क, अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको र आफ्ना दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा तिमीहरूकहाँ पठाएको सारा व्यवस्थाअनुसार मेरा आज्ञाहरू र मेरा नियमहरू पालन गर!’ 14 तर उनीहरूले सुनेनन्, तर आफ्नो गर्दन परमप्रभु आफ्ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने उनीहरूका पितापुर्खाहरूको गर्दनजस्तो कठोर पारे। 15 अनि उहाँका नियमहरू, उहाँले उनीहरूका पितापुर्खाहरूसित बाँध्‍नुभएको उहाँको वाचा र उहाँले उनीहरूको विरोधमा चेताउनी दिनुभएका उहाँका साक्षी-वचनहरूलाई उनीहरूले इन्कार गरे; अनि व्यर्थको कुराको पछि लागेर उनीहरू व्यर्थका भए, र उनीहरूको वरिपरि भएका ती जातिहरूको पछि लागे, जसको विषयमा परमप्रभुले उनीहरूलाई ‘तिनीहरूले जस्तो नगर्नू’ भन्‍ने आज्ञा गर्नुभएको थियो। 16 अनि उनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरका सबै आज्ञाहरूलाई त्यागे, र आफ्ना निम्ति ढालेर बनाइएका मूर्तिहरू, अँ, दुईवटा बाछाहरू बनाए, साथै अशेराको मूर्ति पनि बनाए, र आकाशको सारा गणलाई दण्‍डवत्‌ गरे, अनि बालको पूजा गरे। 17 अनि उनीहरूले आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई आगोमा होम गरे, उनीहरूले जोखाना हेरे र टुनामुना गरे, अनि परमप्रभुलाई रिस उठाउन उनीहरूले परमप्रभुको दृष्‍टिमा खराब काम गर्न आफूलाई बेचिदिए। 18 यसकारण परमप्रभु इस्राएलसित अति क्रोधित हुनुभयो, र उनीहरूलाई आफ्नो सामुबाट हटाउनुभयो; अनि यहूदाको कुलबाहेक अरू कुनै कुल बाँकी रहेन। 19 यहूदाले पनि परमप्रभु आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गरेन, तर इस्राएलले बनाएका तिनीहरूका विधिहरूमा हिँड़्यो। 20 तब परमप्रभुले इस्राएलको सारा वंशलाई नै इन्कार गरिदिनुभयो, तिनीहरूलाई कष्‍ट दिनुभयो र तिनीहरूलाई आफ्नो सामुदेखि नफालेसम्म तिनीहरूलाई लुट्नेहरूको हातमा सुम्पिदिनुभयो। 21 किनकि उहाँले इस्राएललाई दाऊदको घरानाबाट च्‍यातिदिनुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए; अनि यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्‍नबाट धकेलिदिए, तर तिनीहरूलाई ठूलो पाप गर्न लगाए। 22 किनकि इस्राएलीहरू यारोबामले गरेका तिनका सबै पापहरूमा हिँड़े; तिनीहरू तीबाट हटेनन्; 23 यसैले परमप्रभुले आफ्ना सबै दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा भन्‍नुभएअनुसार उहाँले इस्राएललाई आफ्नो सामुबाट हटाइदिनुभयो। यसैले इस्राएल आफ्नो देशबाट अश्शूरमा लगियो, र आजको दिनसम्म त्यहीं छ।
सामरी भनिने जातिको शुरुआत
24 अनि अश्शूरका राजाले बाबेल, कूता, अव्वा, हमात र सपर्वैमबाट मानिसहरूलाई ल्याए, र तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका शहरहरूमा राखे; अनि तिनीहरूले सामरियालाई आफ्नो अधिकारमा लिए, र त्यसका शहरहरूमा बसे। 25 अनि यस्तो भयो: शुरुमा, तिनीहरू त्यहाँ बस्‍न लागेको समयमा, तिनीहरूले परमप्रभुको भय मानेनन्; यसकारण परमप्रभुले तिनीहरूको बीचमा सिंहहरू पठाउनुभयो, जसले तिनीहरूमध्ये कतिलाई मारिदिए। 26 यसैकारण तिनीहरूले अश्शूरका राजालाई यसो भने: “तपाईंले लगेर सामरियामा बसाउनुभएका जातिहरूले यस देशको ईश्‍वरको रीतिविधि जान्दैनन्; यसैले उहाँले यिनीहरूको बीचमा सिंहहरू पठाउनुभयो; अनि हेर्नुहोस्, ती सिंहहरूले यिनीहरूलाई मार्दैछन्; किनकि यिनीहरूले यस देशका ईश्‍वरको रीतिविधि जान्दैनन्।” 27 तब अश्शूरका राजाले यस्तो भन्‍ने आज्ञा गरे: “जुन पूजाहारीहरूलाई तिमीहरूले त्यहाँबाट कैद गरेर ल्याएका थियौ, ती पूजाहारीहरूमध्ये एकजनालाई त्यहाँ लैजाओ! अनि मानिसहरू गएर त्यहाँ बसून्, र उसले तिनीहरूलाई त्यस देशका ईश्‍वरको रीतिविधि सिकाओस्!” 28 तब तिनीहरूले सामरियाबाट कैद गरेर लगेका पूजाहारीहरूमध्ये एकजना आए र बेतएलमा बसे, र तिनले यिनीहरूलाई परमप्रभुको भय कसरी मान्‍नुपर्छ, सो सिकाए। 29 तर पनि हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, र तिनीहरूलाई सामरीहरूले बनाएका डाँड़ाका थानहरूका घरहरूमा राखे, अँ, हरेक जातिले तिनीहरूलाई आफू बसेका आफ्ना शहरहरूमा राखे। 30 अनि बाबेलका मानिसहरूले सुक्‍कोत-बेनोत बनाए; अनि कूताका मानिसहरूले नेर्गाल बनाए; अनि हमातका मानिसहरूले अशीमा बनाए, 31 अनि अव्वीहरूले निब्हज र तर्ताक बनाए; अनि सपर्वैमीहरूले आफ्ना छोराछोरीहरूलाई सपर्वैमका देवताहरू अद्रम-मेलेक र अनम-मेलेकका निम्ति आगोमा होम गरे 32 यसरी तिनीहरूले परमप्रभुको भय त माने, तर आफ्ना निम्ति तिनीहरूका सबैभन्दा तल्‍लो स्तरका मानिसहरूबाट उच्‍च स्थानहरूका पूजाहारीहरू बनाए, जसले तिनीहरूका निम्ति ती डाँड़ाका थानहरूका घरहरूमा बलि चढ़ाइदिन्थे। 33 तिनीहरूले परमप्रभुको भय मान्थे, तैपनि जहाँ-जहाँबाट अश्शूरीहरूले तिनीहरूलाई कैद गरेर लगेका थिए, ती जातिहरूको रीतिअनुसार तिनीहरूले आफ्ना देवताहरूको पनि पूजा गर्दथे।
34 आजको दिनसम्म तिनीहरूले पहिलेका रीतिहरूअनुसार गरिरहेका छन्; तिनीहरूले न परमप्रभुको भय मान्दछन्, न ता उनीहरूका विधिहरू, उनीहरूका नियमहरू र परमप्रभुले याकूबका सन्तानलाई दिनुभएको व्यवस्था र आज्ञाअनुसार हिँड़्दछन्, जसको नाम उहाँले ‘इस्राएल’ राखिदिनुभयो, 35 जो इस्राएलसित परमप्रभुले एउटा वाचा बाँध्‍नुभयो, र उनीहरूलाई यसो भन्दै आज्ञा गर्नुभयो: ‘तिमीहरूले अन्य देवताहरूको भय नमान्‍नू, तिनीहरूलाई दण्‍डवत्‌ नगर्नू, तिनीहरूको पूजा नगर्नू र तिनीहरूलाई बलि नचढ़ाउनू! 36 तर ठूलो सामर्थ्य र फैलाइएको हातले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुने परमप्रभुको भय तिमीहरूले मान्‍नू, उहाँलाई दण्‍डवत्‌ गर्नू र उहाँलाई नै बलि चढ़ाउनू! 37 अनि उहाँले तिमीहरूका निम्ति लेखिदिनुभएका नियमहरू, विधिहरू, व्यवस्था र आज्ञा तिमीहरूले सधैंभरि होशियारसाथ पालन गर्नू, र अन्य देवताहरूको भय नमान्‍नू! 38 अनि मैले तिमीहरूसित बाँधेको वाचा तिमीहरूले नभुल्नू; अनि तिमीहरूले अन्य देवताहरूको भय नमान्‍नू! 39 तर तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरकै भय मान्‍नू! तब उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूको हातबाट छुटकारा दिनुहुनेछ।’ 40 तरैपनि तिनीहरूले सुनेनन्, तर पहिलेकै रीतिअनुसार तिनीहरूले गरिरहे।
41 यसरी यी जातिहरूले परमप्रभुको भय मान्थे, र आफ्ना खोपेका मूर्तिहरूको पूजा गर्थे – तिनीहरूका छोराछोरीहरू र नातिपनातिहरूले पनि; तिनीहरूका पितापुर्खाहरूले जस्तो गरे, त्यस्तै तिनीहरूले पनि आजको दिनसम्म गर्दछन्।