यहूदामा आहाजको शासन
16
रमल्याहका छोरा पेकहको सत्रौं वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य गर्न थाले। 2 राज्य गर्न शुरु गर्दा आहाज बीस वर्षका थिए; अनि यरूशलेममा उनले सोह्र वर्ष राज्य गरे; तर उनले आफ्ना पिता दाऊदले झैं परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे ठीक थियो, त्यो गरेनन्। 3 तर उनी इस्राएलका राजाहरूको चालमा हिँड़े, अँ, यहाँसम्म कि जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट निकाल्नुभएको थियो, ती जातिहरूका घिनलाग्दा कामहरूअनुसार उनले आफ्ना छोरालाई आगोमा होम गरेक। 4 अनि उनले उच्च स्थानहरूमा, डाँड़ाहरूहुँदो र हरेक हरियो रूखमुनि बलि चढ़ाउँथे, र धूप बाल्थे।5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले लड़ाइँ गर्नलाई यरूशलेममाथि चढ़ाइ गरे; अनि तिनीहरूले आहाजलाई घेरा हाले, तर उनलाई जित्न सकेनन्। 6 त्यस बेला अरामका राजा रसीनले एलत अरामकहाँ फिर्ता लिए, र यहूदीहरूलाई एलतबाट धपाए; अनि अरामीहरू एलतमा आए, र आजको दिनसम्म त्यहीं बसे। 7 तब आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भन्दै दूतहरू पठाए: “म तपाईंको दास र तपाईंको छोरा हुँ। माथि आउनुहोस्, र मेरो विरोधमा उठ्ने अरामका राजाको हातबाट र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस्!” 8 अनि आहाजले परमप्रभुको भवनमा र राजभवनका भण्डारहरूमा पाइएको चाँदी र सुन लिएर त्यो अश्शूरका राजाकहाँ सौगात-स्वरूप पठाइदिए। 9 तब अश्शूरका राजाले उनको कुरा माने; किनकि अश्शूरका राजाले दमस्कसमाथि चढ़ाइ गरे, त्यसलाई कब्जा गरे र त्यसका मानिसहरूलाईख कैद गरेर कीरमा लगे, अनि रसीनलाई मारिदिए।
10 अनि राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कस गए, र दमस्कसमा भएको वेदी देखे। अनि त्यस वेदीको सारा रचनाअनुसार राजा आहाजले त्यसको ढाँचा र त्यसको नमुना पूजाहारी उरियाहकहाँ पठाइदिए। 11 अनि राजा आहाजले दमस्कसबाट पठाइदिएको सबै नमुनाअनुसार पूजाहारी उरियाहले एउटा वेदी बनाए। यसरी पूजाहारी उरियाहले राजा आहाज दमस्कसबाट आइपुग्नुभन्दा अघि त्यो बनाए। 12 अनि जब राजा दमस्कसबाट आइपुगे, तब राजाले त्यो वेदी देखे; अनि राजा त्यस वेदीको नजिक गए, र त्यसमाथि होमबलि चढ़ाएग। 13 अनि उनले त्यस वेदीमाथि आफ्नो होमबलि र आफ्नो अन्नबलि जलाए, अनि आफ्नो अर्घबलि खन्याएर आफ्ना मेलबलिहरूको रगत छर्के। 14 तर परमप्रभुको सामु भएको त्यो पित्तलको वेदीचाहिँ उनले भवनको अघिबाट, त्यस नयाँ वेदी र परमप्रभुको भवनको बीचबाट लगेघ, र त्यसलाई यस नयाँ वेदीको उत्तरपट्टि राखिदिए। 15 तब राजा आहाजले पूजाहारी उरियाहलाई यसो भन्ने आज्ञा गरे: “यस ठूलो वेदीमा तिमीले बिहानको होमबलि, बेलुकीको अन्नबलि, राजाको होमबलि र उसको अन्नबलि, साथै देशका सबै मानिसहरूको होमबलि, तिनीहरूको अन्नबलि र तिनीहरूका अर्घबलिहरू जलाउनू! अनि यसैमा तिमीले होमबलिको सबै रगत र बलिको सबै रगत छर्कनू! तर पित्तलको वेदीचाहिँ मेरा निम्ति सोधपुछ गर्नलाई हुनेछ।” 16 यसरी पूजाहारी उरियाहले राजा आहाजले आज्ञा गरेका सबै कुराहरूअनुसार गरे।
17 अनि राजा आहाजले आधारहरूका भित्ताहरूङ काटेर तिनको माथिबाट बाटा निकालिदिए; अनि त्यो विशाल टङ्कीच त्यसमुनि भएका पित्तलका गोरुहरूमाथिबाट हटाएर तल झारे, र त्यसलाई ढुङ्गाहरूको चौतारामाथि राखे। 18 अनि विश्रामदिनका निम्ति बनाइएको त्यो छाना हालिएको बाटो, जो तिनीहरूले भवनमा बनाएका थिए, र राजाको बाहिरी प्रवेशद्वार उनले अश्शूरका राजाको कारणले परमप्रभुको भवनबाट हटाइदिए। 19 अनि आहाजका अरू बाँकी कामकुराहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 20 अनि आहाज आफ्ना पितापुर्खाहरूसित सुते, र उनका पितापुर्खाहरूको साथमा दाऊदको शहरमा गाड़िए; अनि उनको सट्टामा उनका छोरा हिजकियाहले राज्य गरे।