यहूदामा अजर्याह अर्थात् उज्जियाहको शासन
15
इस्राएलका राजा यारोबामको सत्ताइसौं वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्य गर्न थाले। 2 राज्य गर्न शुरु गर्दा उनी सोह्र वर्षका थिए; अनि उनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। अनि उनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमबाटकी थिइन्। 3 अनि उनले आफ्ना बुबा अमस्याहले गरेका सबै कामहरूअनुसार परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे। 4 तर उच्च स्थानहरू हटाइएनन्; मानिसहरूले अझै पनि ती उच्च स्थानहरूमा बलि चढ़ाइरहे र धूप बालिरहे। 5 अनि परमप्रभुले राजालाई प्रहार गर्नुभयो; यसैले उनी आफ्नो मृत्युको दिनसम्म कोरी भइरहे, र अलग्गै एउटा घरमा बसे; अनि राजाका छोरा योताम नै देशका मानिसहरूको न्याय गर्दै राजघरानामाथि अधिकारी भए।6 अनि अजर्याहका अरू बाँकी कामकुराहरू, र उनले गरेका सबै कामहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 7 तब अजर्याह आफ्ना पितापुर्खाहरूसित सुते; अनि तिनीहरूले उनलाई उनका पितापुर्खाहरूसित दाऊदको शहरमा गाड़े; अनि उनको सट्टामा उनका छोरा योतामले राज्य गरे।
इस्राएलमा जकर्याहको शासन
8 यहूदाका राजा अजर्याहको अठतीसौं वर्षमा यारोबामका छोरा जकर्याहले छ महिनासम्म सामरियामा इस्राएलमाथि राज्य गरे। 9 अनि तिनले आफ्ना पितापुर्खाहरूले गरेझैं परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्। 10 अनि याबेशका छोरा शल्लूमले तिनको विरोधमा षड़्यन्त्र गरे, तिनलाई प्रजाको सामु प्रहार गरे र तिनलाई मारे, अनि तिनको सट्टामा राज्य गरे।
11 अनि जकर्याहका अरू बाँकी कामकुराहरू – हेर, ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 12 योचाहिँ परमप्रभुको वचन थियो, जुन वचन उहाँले येहूसित यसो भन्दै बोल्नुभएको थियो, ‘तिम्रो चौथो पुस्तासम्मका सन्तानहरू इस्राएलको सिंहासनमाथि बस्नेछन्।’ अनि त्यस्तै भयो पनि।
इस्राएलमा शल्लूमको शासन
13 यहूदाका राजा उज्जियाहकोक उनन्चालीसौं वर्षमा याबेशका छोरा शल्लूमले राज्य गर्न थाले; अनि तिनले पूरा एक महिनासम्म सामरियामा राज्य गरे। 14 किनकि गादीका छोरा मनहेमख तिर्साबाट माथि गए, र सामरियामा आए; अनि उनले सामरियामा याबेशका छोरा शल्लूमलाई प्रहार गरे, तिनलाई मारिदिए र तिनको सट्टामा राज्य गरे। 15 अनि शल्लूमका अरू बाँकी कामकुराहरू, र तिनले रचेको षड़्यन्त्र – हेर, ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
इस्राएलमा मनहेमको शासन
16 तब तिर्साबाट आएर मनहेमले तिप्सह र त्यसभित्र भएका सबैलाई, साथै त्यसका सिमानाहरूलाई प्रहार गरे। तिनीहरूले तिनका निम्ति नखोलिदिएको हुनाले तिनले त्यस ठाउँलाई प्रहार गरे, र त्यसभित्र भएका सबै गर्भवती स्त्रीहरूको पेट चिरिदिए।
17 यहूदाका राजा अजर्याहको उनन्चालीसौं वर्षमा गादीका छोरा मनहेमले इस्राएलमाथि राज्य गर्न थाले; तिनले सामरियामा दस वर्ष राज्य गरे। 18 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी आफ्नो जीवनभरि इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्। 19 अनि अश्शूरका राजा पूलले देशमाथि चढ़ाइ गरे, तब मनहेमले राज्यलाई आफ्नो हातमा सुदृढ़ पार्न पूलका हातहरूले तिनलाई साथ दिऊन् भनेर उनलाई एक हजार किक्करग चाँदी दिए। 20 अनि अश्शूरका राजालाई दिन मनहेमले इस्राएलबाट – सबै शक्तिशाली धनवान् मानिसहरूबाट – हरेक मानिसबाट पचास-पचास शेकेलघ चाँदी निकाले। अनि अश्शूरका राजा फर्केर गए, र त्यहाँ, त्यस देशमा बसेनन्।
21 अनि मनहेमका अरू बाँकी कामकुराहरू, र तिनले गरेका सबै कामहरू – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 22 अनि मनहेम आफ्ना पितापुर्खाहरूसित सुते, र तिनको सट्टामा तिनका छोरा पकहियाहले राज्य गरे।
इस्राएलमा पकहियाहको शासन
23 यहूदाका राजा अजर्याहको पचासौं वर्षमा मनहेमका छोरा पकहियाहले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले दुई वर्ष राज्य गरे। 24 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्। 25 तर तिनका उच्च अधिकारी रमल्याहका छोरा पेकहले तिनको विरोधमा एउटा षड़्यन्त्र रचे; अनि उनले तिनलाई, साथै अर्गोब र आर्येलाई सामरियामा राजभवनको किल्लाभित्रङ प्रहार गरे; उनको साथमा पचासजना गिलादीहरू थिए; अनि उनले तिनलाई मारे, र तिनको सट्टामा राज्य गरे। 26 अनि पकहियाहका अरू बाँकी कामकुराहरू, र तिनले गरेका सबै कामहरू – हेर, ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
इस्राएलमा पेकहको शासन
27 यहूदाका राजा अजर्याहको बाउन्नौं वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले बीस वर्ष राज्य गरे। 28 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्। 29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए; अनि उनले इयोन, आबेल-बेत-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्तालीको सारा देशलाई समेत कब्जा गरे, र उनीहरूलाई कैद गरेर अश्शूरमा लगे। 30 अनि एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा एउटा षड़्यन्त्र रचे, तिनलाई प्रहार गरे र तिनलाई मारे; अनि उज्जियाहका छोरा योतामको बीसौं वर्षमा उनले तिनको सट्टामा राज्य गरे। 31 अनि पेकहका अरू बाँकी कामकुराहरू, र तिनले गरेका सबै कामहरू – हेर, ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
यहूदामा योतामको शासन
32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले राज्य गर्न थाले। 33 राज्य गर्न शुरु गर्दा तिनी पच्चीस वर्षका थिए; अनि तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 34 अनि तिनले परमप्रभुको दृष्टिमा जे ठीक थियो, त्यही गरे; उनले आफ्ना बुबा उज्जियाहले गरेका सबै कामहरूअनुसार गरे। 35 तर उच्च स्थानहरू हटाइएनन्; मानिसहरूले अझै पनि ती उच्च स्थानहरूमा बलि चढ़ाइरहे र धूप बालिरहे। तिनले चाहिँ परमप्रभुको भवनको माथिल्लो मूलढोका बनाए।
36 अब योतामका अरू बाँकी कामकुराहरू, र तिनले गरेका सबै कामहरू – के ती कुराहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 37 ती दिनहरूमा परमप्रभुले यहूदाको विरोधमा अरामका राजा रसीनच र रमल्याहका छोरा पेकहलाई पठाउन थाल्नुभयो। 38 अनि योताम आफ्ना पितापुर्खाहरूसित सुते, र तिनका पुर्खाहरूको साथमा तिनका बुबा दाऊदको शहरमा गाड़िए; अनि तिनको सट्टामा तिनका छोरा आहाजले राज्य गरे।