इस्राएलमा यहोआहाजको शासन
13
यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौं वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले सत्र वर्ष राज्य गरे। 2 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, र इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका पापहरूको पछि लागे; तिनी तीबाट हटेनन्। 3 तब इस्राएलमाथि परमेश्वरको क्रोध दन्क्यो, र उहाँले तिनीहरूलाई अरामका राजा हजाएलको हातमा र हजाएलका छोरा बेन-हददको हातमा उनीहरूको जीवनभरि नै सुम्पिदिनुभयो। 4 अनि यहोआहाजले परमप्रभुबाट निगाह पाउनका निम्ति खूबै विन्ती गरे, र परमप्रभुले तिनको विन्ती सुनिदिनुभयो; किनकि उहाँले इस्राएलमाथिको थिचोमिचो देख्नुभयो; किनभने अरामका राजाले तिनीहरूलाई थिचोमिचो गरेका थिए। 5 (तब परमप्रभुले इस्राएललाई एकजना उद्धारक दिनुभयो, जसद्वारा तिनीहरू अरामीहरूको हातमुनिबाट उम्के; अनि इस्राएलीहरू पहिले झैं आफ्ना पालहरूमा बसे। 6 तर तिनीहरू इस्राएललाई पाप गर्न लाउने यारोबामको घरानाका पापहरूबाट हटेनन्, तर तिनमा हिँड़िरहे; अनि त्यो अशेराको मूर्ति पनि सामरियामा रहिरह्यो।) 7 अरामका राजाले यहोआहाजका निम्ति पचासजना घोड़चढ़ी, दसवटा रथ र दस हजार पैदल सिपाहीलाई बाहेक अरू मानिसलाई बाँकी राखेनन्; किनकि उनले तिनीहरूलाई नाश पारेका थिए, र तिनीहरूलाई झाँटी-झाँटीकन धूलोसरह पारिदिएका थिए।8 अब यहोआहाजका अरू बाँकी कामकुराहरू, अनि तिनले गरेका सबै कामहरू र तिनको वीरता – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 9 अनि यहोआहाज आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई सामरियामा गाड़िदिए; अनि तिनको सट्टामा तिनका छोरा योआशलेक राज्य गरे।
इस्राएलमा यहोआशको शासन
10 यहूदाका राजा योआशको सैंतीसौं वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा इस्राएलमाथि राज्य गर्न थाले; अनि तिनले सोह्र वर्ष राज्य गरे। 11 अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे; तिनी इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका सबै पापहरूबाट हटेनन्, तर तिनमा हिँड़िरहे। 12 अनि योआशकाक अरू बाँकी कामकुराहरू, अनि तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहसित लड़ाइँ गर्दाखेरि तिनले देखाएको तिनको वीरता – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 13 अनि योआशक आफ्ना पितापुर्खाहरूसित सुते; अनि यारोबाम तिनको सिंहासनमाथि बसे; अनि योआशक इस्राएलका राजाहरूसित सामरियामा गाड़िए।
एलीशाको मृत्यु
14 अनि एलीशा आफ्नो रोगले बिरामी भए, जसले गर्दा उनी मरे। अनि इस्राएलका राजा योआशक उनीकहाँ तल झरे, र उनको अनुहारमाथि झुकेर रोए, र भने: “हे मेरा पिता, हे मेरा पिता, इस्राएलको रथ र त्यसका घोड़चढ़ीहरू!” 15 अनि एलीशाले तिनलाई भने: “धनु र काँड़हरू लेऊ!” अनि तिनले आफूसँग धनु र काँड़हरू लिए। 16 तब उनले इस्राएलका राजालाई भने: “धनुमाथि आफ्नो हात राख!” अनि तिनले त्यसमाथि आफ्नो हात राखे; अनि एलीशाले राजाका हातहरूमाथि आफ्ना हातहरू राखे। 17 अनि उनले भने: “पूर्वपट्टिको झ्याल खोल!” अनि तिनले त्यो खोले। तब एलीशाले भने: “हान!” अनि तिनले काँड़ हाने। तब उनले भने: “परमप्रभुको छुटकाराको काँड़! अरामबाट छुटकारा दिने काँड़! किनकि तिमीले अपेकमा अरामीहरूलाई तिनीहरू सखाप नहोउन्जेल प्रहार गर्नेछौ।” 18 अनि उनले भने: “काँड़हरू लेऊ!” अनि तिनले ती लिए। तब उनले इस्राएलका राजालाई भने: “भुइँमा हिर्काऊ!” अनि तिनले तीनपल्ट हिर्काए, र थामे। 19 तब परमेश्वरको जनले तिनीसित रिसाएर भने: “तिमीले पाँच-छ पल्ट हिर्काउनुपर्नेथियो, तब तिमीले अरामलाई सखाप नहोउन्जेल प्रहार गर्नेथियौ; तर अब तिमीले अरामलाई तीनपल्ट मात्र प्रहार गर्नेछौ।”
20 त्यसपछि एलीशा मरे, र तिनीहरूले उनलाई गाड़िदिए। अनि वर्षको शुरुतिर मोआबी दलहरूले देशलाई आक्रमण गरे। 21 अनि यस्तो भयो: तिनीहरूले कुनै मानिसलाई गाड़्दै गर्दाखेरि हेर, तिनीहरूले त्यस दललाई देखे; अनि तिनीहरूले त्यस मानिसलाई एलीशाको चिहानभित्र हालिदिए। अनि जब त्यो मानिस तल झारियो, र त्यसले एलीशाका हड्डीहरूलाई छोयो, तब त्यो जिउँदो भएर आफ्ना खुट्टामा ठिङ्ग उभियो।
22 यहोआहाजको जीवनभरि अरामका राजा हजाएलले इस्राएललाई थिचोमिचो गरिरहे। 23 तर परमप्रभु उनीहरूप्रति कृपालु हुनुभयो र उनीहरूलाई टिठाउनुभयो, अनि अब्राहाम, इसहाक र याकूबसितको आफ्नो वाचाले गर्दा उनीहरूपट्टि फर्कनुभयो र उनीहरूलाई नाश गर्न चाहनुभएन, न ता अहिलेसम्म उनीहरूलाई आफ्नो सामुबाट हटाउनु नै भयोख। 24 तब अरामका राजा हजाएल मरे; अनि तिनको सट्टामा तिनका छोरा बेन-हददले राज्य गरे। 25 अनि यहोआहाजका छोरा यहोआशले ती शहरहरू हजाएलका छोरा बेन-हददको हातबाट फिर्ता लिए, जुन शहरहरूचाहिँ बेन-हददलेग तिनका बुबा यहोआहाजको हातबाट लड़ाइँ गरेर कब्जा गरेका थिए। योआशले उनलाई तीनपल्ट जिते, र इस्राएलका शहरहरू फिर्ता लिए।