अहाबको घरानाको विनाश
10
अनि सामरियामा अहाबका सत्तरीजना छोराहरू थिए। अनि येहूले यसो भन्ने चिट्ठीहरू लेखे र तिनलाई सामरियामा यिज्रेएलका शासकहरू, बूढ़ा प्रधानहरू र अहाबका सन्तानलाई सुसार गर्नेहरूकहाँ पठाए: 2 “अब, यो चिट्ठी तिमीहरूकहाँ आइपुग्नसाथ – किनकि तिमीहरूका मालिकका छोराहरू तिमीहरूको साथमा छन्, अनि तिमीहरूसित रथहरू, घोड़ाहरू, पर्खालले घेरिएको एउटा शहर र हातहतियारहरू पनि छन् – 3 तिमीहरूले आफ्ना मालिकका छोराहरूमध्ये सबैभन्दा असल र योग्यलाई चुनेर तिनलाई तिनको बुबाको सिंहासनमाथि राख, र आफ्ना मालिकको घरानाका निम्ति लड़ाइँ गर!” 4 तर तिनीहरू अत्यन्तै भयभीत भए, र यसो भने: “हेर, उनको सामु दुईजना राजाहरू त टिक्न सकेनन्; तब कसरी हामी टिक्न सक्छौं?” 5 तब राजघरानाका अधिकारी, त्यस शहरका अधिकारी, बूढ़ा प्रधानहरू र सुसार गर्नेहरूले येहूकहाँ यसो भन्ने समाचार पठाए: “हामी तपाईंका दासहरू हौं; अनि तपाईंले हामीलाई जे आज्ञा गर्नुहुन्छ, सो हामी गर्नेछौं। हामी कसैलाई राजा तुल्याउनेछैनौं। तपाईंको दृष्टिमा जे असल लाग्छ, त्यही गर्नुहोस्!” 6 तब उनले तिनीहरूलाई यसो भन्दै दोस्रो चिट्ठी लेखे: “तिमीहरू मेरा हौ, र तिमीहरूले मेरो कुरा मान्छौ भने तिमीहरू ती मानिसहरूका, अँ, तिमीहरूका मालिकका छोराहरूका टाउकाहरू लिएर भोलि यो बेलासम्म मकहाँ यिज्रेएलमा आओ!” अनि राजाका ती सत्तरीजना छोराहरूचाहिँ त्यस शहरका ठूला-ठूला मानिसहरूको साथमा थिए, जसले उनीहरूलाई हुर्काए। 7 अनि यस्तो भयो: जब त्यो चिट्ठी तिनीहरूकहाँ पुग्यो, तब तिनीहरूले ती राजाका छोराहरूलाई लगे, र ती सत्तरीजनालाई मारे, र उनीहरूका टाउकाहरू टोकरीहरूमा हालेर यिज्रेएलमा येहूकहाँ पठाइदिए। 8 अनि एउटा दूत उनीकहाँ आए, र उनलाई भने: “तिनीहरूले ती राजाका छोराहरूका टाउकाहरू ल्याएका छन्।” तब उनले भने: “बिहानसम्म तिनलाई दुईवटा थुप्रा हुने गरी मूलढोकाको पस्ने ठाउँमा राखिदेओ!” 9 अनि बिहान यस्तो भयो: उनी बाहिर निस्के, र उभिएर सबै मानिसहरूलाई भने: “तिमीहरू धर्मी छौ! हेर, मैले आफ्ना मालिकको विरोधमा एउटा षड़्यन्त्र रचें, र तिनलाई मारें; तर यिनीहरू सबलाई चाहिँ कसले मार्यो? 10 तिमीहरूले अब यो जानिराख, कि अहाबको घरानाको विषयमा परमप्रभुले भन्नुभएको उहाँको वचनको कुनै कुरा पनि भुइँमा खस्नेछैन; किनकि परमप्रभुले आफ्ना दास एलियाद्वारा जे भन्नुभएको थियो, सो पूरा गर्नुभएको छ।” 11 तब उनले यिज्रेएलमा अहाबको घरानामा बाँकी रहेका सबैलाई, तिनका सबै ठूला-ठूला मानिसहरू, तिनका कुटुम्बहरू र तिनका पूजाहारीहरूलाई समेत मारिदिए, यहाँसम्म कि उनले एकजनालाई पनि बाँकी राखेनन्।12 अनि उनी उठे, र गएर सामरियातिर लागे। अनि बाटोमा जाँदै गर्दा जब उनी गोठालाहरूको ऊन कत्रने घरमा पुगे, 13 तब यहूदाका राजा अहज्याहका दाजुभाइहरूसित येहूको भेट भयो, र उनले भने: “तिमीहरू को हौ?” अनि तिनीहरूले जवाफ दिए: “हामी अहज्याहका दाजुभाइहरू हौं, र हामी राजाका छोराहरू र रानीका छोराहरूलाई अभिवादन चढ़ाउन तल आएका हौं।” 14 तब उनले भने: “यिनीहरूलाई जिउँदै पक्र!” अनि उनीहरूले तिनीहरूलाई जिउँदै पक्रे, र तिनीहरूलाई ऊन कत्रने घरको खाल्डोमा मारे – बयालीसजनालाई; उनले तिनीहरूमध्ये कसैलाई पनि बाँकी राखेनन्।
15 अनि जब उनी त्यहाँबाट हिँड़े, तब रेकाबका छोरा यहोनादाबसित उनको भेट भयो, जो उनलाई भेट्न आइरहेका थिए; तब उनले तिनलाई अभिवादन गरे, र तिनलाई यसो भने: “जस्तो मेरो हृदय तिम्रो हृदयप्रति ठीक छ, के त्यस्तै गरी तिम्रो हृदय पनि ठीक छ?” अनि यहोनादाबले जवाफ दिए: “ठीक छ!” येहूले भने: “ठीक छ भने मलाई तिम्रो हात देऊ!” तब तिनले आफ्नो हात दिए; अनि येहूलेक तिनलाई रथमा आफूकहाँ चढ़ाए। 16 अनि उनले भने: “मसँग आऊ, र परमप्रभुका निम्ति मेरो जोश हेर!” तब उनीहरूले तिनलाई उनको रथमा चढ़ाए। 17 अनि जब उनी सामरियामा पुगे, तब परमप्रभुले एलियालाई भन्नुभएको उहाँको वचनअनुसार उनले अहाबलाई नाश नगरेसम्म सामरियामा तिनका बाँकी रहेका सबैजनालाई घात गरे।
येहूले बाल-पूजा इस्राएलबाट नष्ट गर्छन्
18 अनि येहूले सबै मानिसहरूलाई भेला गरे, र तिनीहरूलाई भने: “अहाबले बालको सेवा थोरै गरे, तर येहूले चाहिँ उसको धेरै सेवा गर्नेछ। 19 यसकारण अब बालका सबै भविष्यवक्ताहरूलाई, उसका सबै उपासकहरूलाई र उसका सबै पूजाहारीहरूलाई मकहाँ बोलाओ! एकैजना पनि नछुटोस्; किनकि मैले बाललाई एउटा ठूलो बलिदान चढ़ाउनु छ। हरेक जो उपस्थित हुँदैन, त्यो जीवित रहनेछैन।” तर बालका उपासकहरूलाई नाश गर्ने उद्देश्यले नै येहूले यो काम चलाकीसाथ गरेका थिए। 20 अनि येहूले भने: “बालका निम्ति एउटा महासभाको घोषणा गर!” अनि तिनीहरूले त्यो घोषणा गरे। 21 तब येहूले सारा इस्राएलभरि समाचार पठाए; अनि बालका सबै उपासकहरू आए, र नआउने कोही पनि थिएन। अनि तिनीहरू बालको भवनभित्र गए, र बालको भवन एक छेउदेखि अर्को छेउसम्म भरिएको थियो। 22 अनि उनले वस्त्र-भण्डारका अधिकारीलाई भने: “बालका सबै उपासकहरूका निम्ति वस्त्रहरू बाहिर ल्याऊ!” अनि तिनले तिनीहरूका निम्ति वस्त्रहरू बाहिर ल्याइदिए। 23 अनि येहू र रेकाबका छोरा यहोनादाब बालको भवनभित्र पसे, र ती बालका उपासकहरूलाई भने: “खोजखाज गरेर हेर, र यहाँ तिमीहरूको साथमा बालका उपासकहरूबाहेक परमप्रभुका दासहरूमध्ये कोही पनि नहोस्!” 24 अनि जब तिनीहरू बलिदानहरू र होमबलिहरू चढ़ाउन गए, तब येहूले बाहिरपट्टि अस्सीजना मानिसहरूलाई खटाए, र उनीहरूलाई भने: “मैले तिमीहरूको हातमा ल्याइदिएका यी मानिसहरूमध्ये कोही उम्क्यो भने त्यसलाई उम्कन दिने मानिसले त्यसको ज्यानको सट्टामा आफ्नो ज्यान दिनुपर्नेछ।” 25 अनि यस्तो भयो: होमबलि चढ़ाइसक्नेबित्तिकै येहूले ती पहरेदारहरूख र कप्तानहरूलाई भने: “भित्र जाओ, र तिनीहरूलाई मार! कोही पनि फुत्कन नपाओस्!” अनि उनीहरूले तिनीहरूलाई तरवारको धारले प्रहार गरे; अनि ती पहरेदारहरू र कप्तानहरूले तिनीहरूलाई बाहिर फालिदिए, र बालको भवनको नगरमा गए। 26 अनि उनीहरूले बालको भवनबाट मूर्तिहरूग बाहिर निकाले र तिनलाई जलाइदिए। 27 अनि उनीहरूले बालको मूर्तिग तोड़िदिए, र बालको भवन भत्काएर त्यसलाई चर्पी बनाइदिए, जस्तो आजको दिनसम्म छ।
28 यसरी येहूले बाललाई इस्राएलबाट नष्ट गरिदिए। 29 तर येहू इस्राएललाई पाप गर्न लाउने नबातका छोरा यारोबामका ती पापहरूबाट अर्थात् बेतएलमा र दानमा भएका सुनका बाछाहरूको पछि लाग्नदेखि हटेनन्। 30 अनि परमप्रभुले येहूलाई भन्नुभयो: “तिमीले मेरो दृष्टिमा जे ठीक छ, त्यही गरेर, अनि अहाबको घरानाप्रति मेरो हृदयमा जे थियो, ती सबैअनुसार गरेर असल काम गर्यौ; यसैले तिम्रो चौथो पुस्तासम्मका सन्तानहरू इस्राएलको सिंहासनमाथि बस्नेछन्।” 31 तर येहूले आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलका परमेश्वरको व्यवस्थामा हिँड़्नमा ध्यान दिएनन्; किनकि उनी इस्राएललाई पाप गर्न लाउने यारोबामका पापहरूबाट हटेनन्।
32 ती दिनहरूमा परमप्रभुले इस्राएललाई घटाउन थाल्नुभयो। अनि इस्राएलका सबै सिमानाहरूभित्र हजाएलले उनीहरूलाई प्रहार गरे, 33 अर्थात् यर्दनबाट पूर्वपट्टिघ सारा गिलाद देश – गादीहरू, रूबेनीहरू र मनस्सेलीहरूलाई, अँ, अर्नोन नदीको किनारमा स्थित भएको अरोएरदेखि गिलाद र बाशानलाई प्रहार गरे।
34 अनि येहूका अरू बाँकी कामकुराहरू अनि उनले गरेका सबै कामहरू र तिनको सारा वीरता – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 35 अनि येहू आफ्ना पितापुर्खाहरूसित सुते; र तिनीहरूले उनलाई सामरियामा गाड़िदिए। अनि उनको सट्टामा उनका छोरा यहोआहाजले राज्य गरे। 36 अनि येहूले सामरियामा इस्राएलमाथि राज्य गरेको समय अट्ठाइस वर्ष थियो।