इस्राएलमाथि येहूको शासन
9
अनि भविष्यवक्ता एलीशाले भविष्यवक्ताहरूका शिष्यहरूमध्ये एकजनालाई बोलाएर उनलाई भने: “तिम्रो कम्मर कस, र तिम्रो हातमा यो तेलको सानो भुँड़ुल्को लिएर रामोत-गिलादमा जाऊ! 2 अनि जब तिमी त्यहाँ पुग्छौ, तब त्यहाँ निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज; अनि गएर तिनलाई तिनका दाजुभाइहरूको बीचबाट उठाऊ, र तिनलाई भित्री कोठामा लैजाऊ! 3 त्यसपछि त्यो तेलको सानो भुँड़ुल्को लिएर तिनको शिरमा खन्याऊ, र यसो भन: ‘परमप्रभु यसो भन्नुहुन्छ, मैले तिमीलाई इस्राएलमाथि राजाको रूपमा अभिषेक गरेको छु।’ त्यसपछि ढोका खोल, भाग र नपर्ख!”4 तब ती जवान मानिस अर्थात् ती जवान भविष्यवक्ता रामोत-गिलादमा गए। 5 अनि जब उनी त्यहाँ पुगे, तब हेर, सेनापतिहरू बसिरहेका रहेछन्।! अनि उनले भने: “हे सेनापति, मसँग तपाईंका निम्ति एउटा समाचार छ।” तब येहूले भने: “हामीहरूमध्ये कसका निम्ति?” अनि उनले भने: “तपाईंका निम्ति, हे सेनापति।” 6 तब येहूक उठेर त्यस घरभित्र गए; अनि उनले तिनको शिरमा त्यो तेल खन्याए, र तिनलाई भने: “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, मैले तिमीलाई परमप्रभुको प्रजामाथि अर्थात् इस्राएलमाथि राजाको रूपमा अभिषेक गरेको छु। 7 अनि तिमीले आफ्ना मालिक अहाबको घरानालाई मार्नूख, र यसरी म इजेबेलको हातबाट मेरा दासहरू अर्थात् ती भविष्यवक्ताहरूको रगत र परमप्रभुका सबै दासहरूको रगतको बदला लिन पाऊँ! 8 किनकि अहाबको सम्पूर्ण घराना नाश हुनेछ; अनि अहाबको वंशको हरेक पुरुषलाईग – चाहे त्यो इस्राएलमा कमारा होस् वा स्वतन्त्र म नष्ट पार्नेछु। 9 अनि म अहाबको घरानालाई नबातका छोरा यारोबामको घरानाजस्तै र अहियाहका छोरा बाशाको घरानाजस्तै बनाइदिनेछु। 10 अनि यिज्रेएलको भूभागमा कुकुरहरूले इजेबेललाई खानेछन्, र तिनलाई गाड़्ने पनि कोही हुनेछैन।” अनि ढोका खोलेर उनी भागे।
11 तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ निस्केर आए। अनि कसैले तिनलाई सोधे: “के सबै ठीक छ? तिमीकहाँ त्यो बौलाहा किन आयो त?” अनि तिनले उनीहरूलाई भने: “त्यो मान्छे र त्यसको बोलचाल तिमीहरूलाई थाहै छ।” 12 अनि उनीहरूले भने: “झूट! विन्ती छ, हामीलाई बताइदेऊ!” अनि तिनले भने: “त्यसले मलाई यस्तो-यस्तो भन्दै यसो भन्यो: परमप्रभु यसो भन्नुहुन्छ, मैले तिमीलाई इस्राएलमाथि राजाको रूपमा अभिषेक गरेको छु।” 13 तब उनीहरू हरेकले हतार-हतार आ-आफ्नो वस्त्र फुकालेर तिनीमुनि ती नाङ्गा खुड़्किलाहरूमाथि बिछ्याए, र यसो भन्दै तुरही फुके: “येहू राजा हुनुहुन्छ!”
येहूको षड़्यन्त्र – तिनले इस्राएलको राजा योरामलाई मार्छन्
14 तब निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरोधमा एउटा षड़्यन्त्र रचे। (अनि योरामले, अँ, तिनले र सारा इस्राएलले रामोत-गिलादलाई अरामका राजा हजाएलबाट रक्षा गरिरहेका थिए। 15 तर राजा योराम अरामका राजा हजाएलसित लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लगाएका चोटहरूबाट यिज्रेएलमा निको हुनलाई फर्केका थिए।) अनि येहूले भने: “तिमीहरूको यस्तो मन छ भने यिज्रेएलमा गएर यो कुरा बताउनलाई कोही पनि यस शहरबाट निस्केर जान वा उम्कन नपाओस्!” 16 तब येहू रथमा चढ़े, र यिज्रेएलतर्फ गए; किनकि योराम त्यहीं ओछ्यान परेका थिए। अनि यहूदाका राजा अहज्याह योरामलाई हेर्न तल झरेका थिए।
17 अनि यिज्रेएलको धरहरामा एकजना पहरेदार उभिरहेको थियो, र उसले येहू आइरहँदा तिनको दललाई देखेर भन्यो: “म एउटा दल देख्दैछु।” अनि योरामले भने: “एउटा घोड़चढ़ीलाई लिएर तिनीहरूलाई भेट्न पठाऊ, र उसले यसो भनोस्: के शान्ति छ?” 18 तब एकजना घोड़ा हाँकेर येहूलाईघ भेट्न गयो, र भन्यो: “राजा यसो भन्नुहुन्छ, के शान्ति छ?” अनि येहूले भने: “तिमीलाई शान्तिको के मतलब? मेरो पछि लाग!” तब त्यस पहरेदारले यसो भन्दै सुनाइदियो: “त्यो दूत तिनीहरूकहाँ पुग्न त पुग्यो, तर फर्केर आउँदैन।” 19 तब तिनले दोस्रो घोड़चढ़ीलाई पठाए; अनि तिनीहरूकहाँ पुगेर उसले भन्यो: “राजा यसो भन्नुहुन्छ, के शान्ति छ?” अनि येहूले जवाफ दिए: “तिमीलाई शान्तिको के मतलब? मेरो पछि लाग!” 20 तब त्यस पहरेदारले यसो भन्दै सुनाइदियो: “ऊ पनि तिनीहरूकहाँ पुग्न त पुग्यो, तर फर्केर आउँदैन; अनि हँकाइचाहिँ निम्शीका छोरा येहूको हँकाइजस्तो छ; किनकि तिनले पागलझैं हाँक्छन्।”
21 तब योरामले भने: “रथ तयार गर!” अनि तिनको रथ तयार भयो। तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह हरेक आ-आफ्नो रथमा निस्के; अनि तिनीहरू येहूलाई भेट्न निस्के, र उनलाई यिज्रेएली नाबोतको भागमा भेटे। 22 अनि यस्तो भयो: योरामले येहूलाई देखेर उनलाई भने: “के शान्ति छ, येहू?” तब उनले जवाफ दिए: “जबसम्म तिम्री आमा इजेबेलका वेश्याकर्महरू र तिनका टुनामुनाहरू यति धेरै रहन्छन्, तबसम्म केको शान्ति?” 23 तब योराम आफ्नो रथ घुमाएर भागे, र अहज्याहलाई यसो भने: “हे अहज्याह, विश्वासघात!” 24 अनि येहूले आफ्नो पूरा बलले धनुको ताँदो खिचेर हाने, र योरामका पाताको बीचमा हिर्काए, र त्यो काँड़ तिनको मुटु वारपार छेंड़ेर निस्क्यो, र तिनी आफ्नो रथमै ढले। 25 त्यसपछि येहूले आफ्ना सेना-अधिकारी बिद्करलाई भने: “यिनलाई उठाएर यिज्रेएली नाबोतको जमिनको भागमा फालिदेऊ; किनकि सम्झ: म र तिमी एकसाथ यिनका पिता अहाबको पछि-पछि घोड़ा हाँक्दा परमप्रभुले यिनीमाथि यो भारी लादिदिनुभएको थियो; 26 ‘परमप्रभु यसो भन्नुहुन्छ, निश्चय मैले हिजो नाबोतको रगत र उसका छोराहरूको रगत देखें; अनि यही जग्गामा म तँसित त्यसको बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ।’ यसकारण अब परमप्रभुको वचनअनुसार यिनलाई उठाएर त्यही जग्गामा फालिदेऊ!”
यहूदाका राजा अहज्याहको मृत्यु
27 तर जब यहूदाका राजा अहज्याहले यो देखे, तब तिनी बगान-भवनको बाटो भएर भागे। अनि येहूले तिनको पिछा गरे, र भने: “तिनलाई पनि रथैमा प्रहार गरिदेओ!” अनि तिनीहरूले यिब्लामको छेउमा भएको गूरको उकालोमा तिनलाई प्रहार गरे। अनि तिनी मगिद्दोतिर भागे, र त्यहीं मरे। 28 तब तिनका सेवकहरूले रथमा तिनलाई यरूशलेममा लगे, र दाऊदको शहरमा तिनका पितापुर्खाहरूसँग तिनको चिहानमा गाड़िदिए। 29 अनि अहाबका छोरा योरामको एघारौं वर्षमा अहज्याहले यहूदामाथि राज्य गर्न थालेका थिए।
इजेबेलको मृत्यु
30 अनि जब येहू यिज्रेएलमा पुगे, तब इजेबेलले त्यो सुनिन्; अनि तिनले आफ्ना आँखामा गाजल लगाइन्, आफ्नो कपाल सिँगारिन् र झ्यालबाट तल हेरिन्। 31 अनि जब येहू मूलढोकामा पसे, तब तिनले भनिन्: “के जिम्रीलाई, जसले आफ्ना मालिकको हत्या गर्यो, शान्ति थियो र?” 32 तब उनले आफ्नो अनुहार त्यस झ्यालतिर उठाएर भने: “मेरो पक्षमा को छ, को?” तब दुई-तीनजना नपुंसकहरूले तल तिनलाई हेरे। 33 अनि उनले भने: “त्यसलाई तल फालिदेओ!” तब तिनीहरूले तिनलाई तल फालिदिए। अनि तिनको रगतका कति छिटाहरू भित्तामा र घोड़ाहरूमा परे; अनि उनले तिनलाई कुल्चीमिल्ची पारे। 34 अनि उनी भित्र आए, खाई-पिई गरे र भने: “अब जाओ! त्यस श्रापित स्त्रीलाई हेर, र त्यसलाई गाड़िदेओ; किनकि त्यो त राजाकी छोरी हो।” 35 तब तिनीहरू तिनलाई गाड़्न गए, तर तिनीहरूले तिनका खोपड़ी, पाउहरू र हत्केलाहरूबाहेक अरू केही पाएनन्। 36 अनि तिनीहरू फर्केर आए, र उनलाई सो बताए। अनि उनले भने: “परमप्रभुले आफ्ना दास तिश्बी एलियाद्वारा बोल्नुभएको उहाँको यसो भन्ने वचन यही हो: ‘यिज्रेएलको भूभागमा कुकुरहरूले इजेबेलको मासु खानेछन्; 37 अनि यिज्रेएलको भूभागमा इजेबेलको लास जमिनको सतहमा मलसरह पड़िरहनेछ, यहाँसम्म कि तिनीहरूले ‘यो इजेबेल हो’ भन्न सक्नेछैनन्।”