अरामीहरूमाथि अहाबको विजय
20
अनि अरामका राजा बेन-हददले आफ्नो सारा सेना भेला गरे; अनि तिनको साथमा बत्तीस राजाहरू, साथै घोड़ाहरू र रथहरू थिए। अनि तिनी माथि गए, अनि सामरियालाई घेरा हाले, र त्यससँग लड़ाइँ गरे। 2 अनि तिनले त्यस शहरमा इस्राएलका राजा अहाबकहाँ दूतहरू पठाए, र उनलाई यसो भने: “बेन-हदद यसो भन्‍नुहुन्छ, 3 ‘तिम्रो चाँदी र तिम्रो सुन मेरै हुन्; तिम्रा पत्‍नीहरू र तिम्रा छोराछोरीहरू पनि, अँ, सबभन्दा उत्तम थोकहरू मेरै हुन्।’ ” 4 अनि इस्राएलका राजाले जवाफ दिएर भने: “हे मेरा स्वामी, हे महाराज, तपाईंको भनाइअनुसार म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।” 5 अनि ती दूतहरू फेरि आएर भने: “बेन-हदद यसो भन्‍नुहुन्छ, ‘यद्यपि मैले “तिम्रो चाँदी, तिम्रो सुन, तिम्रा पत्‍नीहरू र तिम्रा छोराछोरीहरू मकहाँ सुम्पिदेऊ” भन्दै तिमीकहाँ पठाएँ, 6 तापनि म भोलि यति बेलातिर मेरा सेवकहरूलाई तिमीकहाँ पठाउनेछु, र उनीहरूले तिम्रो घर र तिम्रा सेवकहरूका घरहरू तलासी गर्नेछन्; अनि यस्तो हुनेछ: तिम्रो दृष्‍टिमा जे मनोहर छ, त्यही उनीहरूले आफ्नो हातमा उठाएर लैजानेछन्।’ ”
7 तब इस्राएलका राजाले देशका सबै बूढ़ा प्रधानहरूलाई बोलाए, र भने: “विन्‍ती छ, विचार गरेर हेर्नुहोस्! किनकि त्यस मानिसले उत्पात मच्‍चाउन खोजिरहेछ; किनभने त्यसले मेरा पत्‍नीहरू, मेरा छोराछोरीहरू, मेरो चाँदी र मेरो सुनका निम्ति मकहाँ पठायो, र मैले त्यसलाई इन्कार गरिनँ।” 8 तब सबै बूढ़ा प्रधानहरू र सबै मानिसहरूले उनलाई भने: “त्यसको कुरै नसुन्‍नुहोस्, र राजी नहुनुहोस्!” 9 यसकारण उनले बेन-हददका दूतहरूलाई भने: “मेरा स्वामी महाराजलाई भनिदेओ, ‘तपाईंले पहिले आफ्नो दासकहाँ जे कुराका निम्ति पठाउनुभयो, त्यो म गर्नेछु; तर यो कुराचाहिँ म गर्न सक्दिनँ।’ ” अनि ती दूतहरू गए, र त्यो समाचार तिनीकहाँ फर्काए। 10 तब बेन-हददले उनीकहाँ यसो भनिपठाए: “मेरो पछि लाग्‍ने सबै मानिसहरूका मुट्ठीभरिका निम्ति सामरियाको धूलो पर्याप्‍त भयो भने देवताहरूले मलाई यसो गरून्, र यसभन्दा बढ़ी गरून्!” 11 तर इस्राएलका राजाले जवाफ दिएर भने: “उहाँलाई भनिदेओ! हतियार भिर्नेले हतियार उतार्नेले जस्तो घमण्ड नगरोस्!” 12 अनि यस्तो भयो: बेन-हदद र ती राजाहरूले समेनाहरूभित्र मदिरा पिइरहेको बेलामा जब तिनले यो समाचार सुने, तब तिनले आफ्ना सेवकहरूलाई भने: “तिमीहरूले मोर्चा बाँध!” अनि तिनीहरूले त्यस शहरको विरोधमा मोर्चा बाँधे।
13 अनि हेर, इस्राएलका राजा अहाबकहाँ एकजना भविष्यवक्ता यसो भन्दै नजिक आए: “परमप्रभु यसो भन्‍नुहुन्छ, के तिमीले त्यस सारा ठूलो भीड़लाई देख्यौ? हेर, आज म त्यसलाई तिम्रो हातमा सुम्पिदिनेछु; तब म नै परमप्रभु रहेछु भनेर तिमीले जान्‍नेछौ।’ ” 14 अनि अहाबले भने: “कोद्वारा?” अनि तिनले भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, प्रान्त-प्रान्तका शासकहरूका जवान मानिसहरूद्वारा!” तब अहाबले भने: “कसले लड़ाइँ शुरु गर्ने?” अनि तिनले जवाफ दिए: “तपाईंले नै।” 15 तब उनले प्रान्त-प्रान्तका शासकहरूका जवान मानिसहरूलाई गन्ती गरे; अनि उनीहरू दुई सय बत्तीसजना थिए। अनि उनीहरूपछि उनले सबै मानिसहरूलाई अर्थात् सबै इस्राएलीहरूलाई गन्ती गर्दा तिनीहरू सात हजार थिए।
16 अनि उनीहरू मध्यदिनमा निस्के। तर बेन-हदद र ती राजाहरू अर्थात् तिनलाई सहायता गर्ने ती बत्तीसजना राजाहरू समेनाहरूभित्र मदिरा पिउँदै मातिरहेका थिए। 17 अनि पहिले प्रान्त-प्रान्तका शासकहरूका जवान मानिसहरू निस्के। अनि बेन-हददले पठाए, र तिनीहरूले तिनलाई यसो बताए: “सामरियाबाट मानिसहरू निस्किरहेका छन्।” 18 अनि तिनले भने: “तिनीहरू मेलमिलापका निम्ति निस्केर आएका हुन् भने पनि तिनीहरूलाई जिउँदै पक्र! अथवा लड़ाइँ गर्नका निम्ति निस्केका हुन् भने पनि तिनीहरूलाई जिउँदै पक्र!” 19 तब प्रान्त-प्रान्तका शासकहरूका जवान मानिसहरू र तिनीहरूको पछि-पछि आएको सेना शहरबाट निस्किआए। 20 अनि उनीहरू हरेकले आ-आफ्नो विरोधीलाई मारिदिए; तब अरामीहरू भागे; अनि इस्राएलले तिनीहरूलाई पिछा गर्‍यो। अनि अरामका राजा बेन-हददचाहिँ घोड़चढ़ीहरूको साथमा एउटा घोड़ामा उम्के। 21 तब इस्राएलका राजा निस्के, अनि उनले ती घोड़ाहरू र ती रथहरूमाथि प्रहार गरे, र अरामीहरूलाई ठूलो काटमारले मारे।
22 अनि ती भविष्यवक्ता इस्राएलका राजाकहाँ नजिक आए, र उनलाई भने: “जानुहोस्, आफूलाई बलियो पार्नुहोस्, र तपाईंले के गर्दै हुनुहुन्छ, सो विचार गरेर हेर्नुहोस्; किनकि आउँदो वर्ष अरामका राजाले फेरि तपाईंमाथि चढ़ाइ गर्नेछन्।”
23 अनि अरामका राजाका सेवकहरूले तिनलाई भने: “उनीहरूका देवताहरू पहाड़हरूका देवता हुन्; यसकारण उनीहरू हामीभन्दा बलिया थिए; तर आउनुहोस्, हामी उनीहरूसित मैदानमा लड़ाइँ गरौं! तब निश्‍चय हामी उनीहरूभन्दा बलिया हुनेछौं। 24 अनि यो काम गर्नुहोस्: ती राजाहरू हरेकलाई आ-आफ्नो ठाउँबाट हटाइदिनुहोस्, र तिनीहरूको सट्टामा सेनापतिहरू नियुक्त गर्नुहोस्! 25 अनि तपाईंले गुमाउनुभएको त्यो सेनाजतिकै एउटा सेना आफ्ना निम्ति गन्ती गर्नुहोस् – घोड़ाको बदली घोड़ा र रथको बदली रथ; अनि हामी उनीहरूसित मैदानमा लड़ाइँ गर्नेछौं; तब निश्‍चय हामी उनीहरूभन्दा बलिया हुनेछौं।” अनि तिनले तिनीहरूको कुरा सुने, र त्यस्तै गरे।
26 अनि यस्तो भयो: अर्को वर्ष बेन-हददले अरामीहरूलाई गन्ती गरे र इस्राएलको विरोधमा लड़ाइँ गर्न अपेकतिर उक्ले। 27 अनि इस्राएलीहरूको गन्ती लिइयो, र उनीहरू सबैलाई खानेकुरा दिइयो; अनि उनीहरू तिनीहरूको विरोधमा हिँड़े। अनि तिनीहरूको सामु इस्राएलीहरूले बाख्राहरूका दुईवटा साना बगालजस्तै देखिने गरी छाउनी हाले; तर अरामीहरूले त देशै भरिदिएका थिए।
28 तब एकजना परमेश्‍वरको जन नजिक आए, र इस्राएलका राजासित कुरा गरेर भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, अरामीहरूले ‘परमप्रभु पहाड़हरूका ईश्‍वर हुन्, तर उहाँ बेंसीहरूका ईश्‍वर होइनन्’ भनेका हुनाले म यो सारा ठूलो भीड़ तिम्रो हातमा सुम्पिदिनेछु; तब म नै परमप्रभु रहेछु भनी तिमीहरूले जान्‍नेछौ।”
29 अनि सात दिनसम्म उनीहरू एक-अर्काको आमुन्‍ने-सामुन्‍ने छाउनी हालेर बसे। अनि यस्तो भयो: सातौं दिनमा लड़ाइँ जुध्यो; अनि इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सिपाहीहरूलाई मारे। 30 तर बाँकी रहेकाहरू अपेकतिर, त्यस शहरभित्र भागेर गए; अनि सत्ताइस हजार मानिसहरूमाथि, जो बाँकी रहेका थिए, त्यस शहरको पर्खाल ढल्यो। अनि बेन-हदद भागे, र त्यस शहरभित्र, एउटा भित्री कोठाभित्र पसे।
31 तब तिनका सेवकहरूले तिनलाई भने: “हामी तपाईंलाई विन्‍ती गर्दछौं, हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू दयालु राजा हुन्छन् भन्‍ने कुरा हामीले सुनेका छौं। म तपाईंलाई विन्‍ती गर्छु, हामी भाङ्ग्राको लुगाले आफ्ना कम्मर कसौं, हाम्रा शिरहरूमा डोरीहरू बाँधौं र इस्राएलका राजाकहाँ निस्केर जाऔं! शायद तिनले तपाईंको प्राण बचाइदिन्छन् कि?” 32 तब तिनीहरूले भाङ्ग्राको लुगाले आफ्ना कम्मर कसे, आफ्ना शिरहरूमा डोरीहरू बाँधे; अनि इस्राएलका राजाकहाँ आएर तिनीहरूले भने: “हजुरका दास बेन-हदद भन्छन्, ‘म हजुरलाई विन्‍ती गर्छु, मेरो ज्यानले बाँच्‍न पाओस्!’ ” अनि उनले भने: “के तिनी अझ जिउँदै छन्? तिनी त मेरा भाइ हुन्!” 33 तब ती मानिसहरूले उनीबाट केही असल लक्षण पाइन्छ कि भनेर ध्यानसित हेरे, र उनको कुरा तुरुन्तै पक्रिहाले; अनि तिनीहरूले भने: “ज्यू, तपाईंका भाइ बेन-हदद!” तब उनले भने: “जाओ! तिनलाई ल्याओ!” तब बेन-हदद निस्केर उनीकहाँ आए; अनि उनले बेन-हददलाई रथमा चढ़ाए। 34 अनि बेन-हददले उनलाई भने: “मेरा पिताले तपाईंका पिताबाट कब्जा गरेका शहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु; अनि मेरा पिताले सामरियामा गरेझैं तपाईंले पनि आफ्ना निम्ति दमस्कसमा सड़कहरू बनाउनुहोस्!” तब अहाबले भने: “म यही वाचा बाँधेर तिमीलाई पठाउनेछु।” तब उनले बेन-हददसित एउटा वाचा बाँधे, र तिनलाई पठाइदिए।
35 अनि भविष्यवक्ताहरूका शिष्यमध्ये एकजनाले परमप्रभुको वचन पाएर अर्कोलाई यसो भने: “म तिमीलाई विन्‍ती गर्छु, मलाई हिर्काऊ!” तर त्यस मानिसले तिनलाई हिर्काउन इन्कार गर्‍यो। 36 तब तिनले त्यस मानिसलाई भने: “तिमीले परमप्रभुको वाणी पालन गरेनौ; यसकारण हेर, तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस तिनीबाट जानेबित्तिकै एउटा सिंहले उसलाई भेट्टायो, र उसलाई मार्‍यो। 37 तब तिनले अर्को मानिसलाई भेट्टाएर भने: “म तिमीलाई विन्‍ती गर्छु, मलाई हिर्काऊ!” अनि त्यस मानिसले तिनलाई हिर्कायो, र हिर्काएर तिनलाई घाइते बनायो। 38 तब ती भविष्यवक्ता त्यहाँबाट हिँड़े, र बाटोमा राजालाई पर्खिबसे, अनि आफ्ना आँखामाथि एउटा फेटा बाँधेर आफ्नो भेष बदले। 39 अनि यस्तो भयो: राजा त्यहाँबाट भएर जाँदै गर्दा तिनले राजालाई पुकारे, र भने: “तपाईंको दास लड़ाइँको बीचमा निस्केर गएको थियो अनि हेर्नुहोस्, एकजना मानिस एकातिर लागेर मकहाँ एउटा मान्छेलाई ल्यायो, र भन्यो, ‘यस मान्छेको रखवाली गर! कहीं यो मान्छे बेपत्ता भयो भने यसको ज्यानको सट्टामा तिम्रो ज्यान दिनुपर्नेछ; नत्र तिमीले एक किक्‍कर चाँदी तिर्नुपर्नेछ।’ 40 अनि यस्तो भयो: तपाईंको दास यता र उता व्यस्त हुँदा त्यो बेपत्ता भयो।” तब इस्राएलका राजाले तिनलाई भने: “तेरो न्याय यस्तै होस्; तँ आफैले फैसला गरिहालिस्।” 41 अनि तिनले हतार-हतार आफ्ना आँखाबाट त्यो फेटा हटाए; तब इस्राएलका राजाले तिनी त भविष्यवक्ताहरूमध्येका रहेछन् भनी चिने। 42 अनि तिनले राजालाई भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तैंले त्यस मानिसलाई आफ्नो हातबाट छोड़िदिइस्, जसलाई मैले बिलकुल नाश गरिदिनका निम्ति ठहऱ्याएको थिएँ; यसैकारण त्यसको ज्यानको सट्टामा तेरो ज्यान, र त्यसको प्रजाको सट्टामा तेरो प्रजा पर्नेछ।’ ” 43 तब इस्राएलका राजा उदास र क्रोधित भएर आफ्नो घर गए, र सामरिया पुगे।