एलिया इजेबेलदेखि होरेबमा भागे
19
अनि एलियाले जे गरे, अँ, उनले कसरी ती सबै भविष्यवक्ताहरूलाई तरवारले मारे, ती सबै कुराहरू अहाबले इजेबेललाई सुनाए; 2 तब इजेबेलले यसो भन्दै एलियाकहाँ एउटा दूत पठाइन्: “भोलि यही समयमा म तेरो ज्यानलाई उनीहरूमध्ये एउटाको जस्तो बनाइनँ भने देवताहरूले मलाई यसै गरून्, र यसभन्दा बढ़ी गरून्!” 3 अनि यो देखेर उनी उठे, आफ्नो ज्यान बचाउन हिँड़े र यहूदाको बेरशेबामा पुगे, अनि आफ्नो सेवकलाई त्यहाँ छोड़िराखे;4 तर उनी आफूचाहिँ एक दिनको बाटो उजाड़स्थानभित्र गए, आए र एउटा झाउको रूखमुनि बसे। अनि उनले मर्न पाऊँ भनी आफ्ना निम्ति विन्ती गरे; अनि उनले भने: “भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्; किनकि म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।” 5 अनि जब उनी झाउको रूखमुनि ढल्केर सुते, तब हेर, एउटा स्वर्गदूतले उनलाई छोए, र उनलाई भने: “उठ, र खाऊ!” 6 अनि जब उनले हेरे, तब हेर, उनको सिराननिर ताता कोइलाहरूमा पोलिएको एउटा रोटीक र एक सुराही पानी रहेछन्! अनि उनले खाए र पिए, अनि उनी फेरि ढल्के। 7 अनि दोस्रो पल्ट परमप्रभुका दूत फेरि आए, र उनलाई छोएर भने: “उठ, र खाऊ; किनभने तिम्रा निम्ति बाटो साह्रै लामो छ।” 8 तब उनी उठे, र खाए अनि पिए; अनि त्यही भोजनको बलले उनी चालीस दिन र चालीस रात परमेश्वरको पर्वत होरेबसम्म हिँड़ेर गए।
9 अनि उनी त्यहाँ एउटा गुफामा आइपुगे, र त्यहीं बसेख; अनि हेर, उनीकहाँ परमप्रभुको वचन आयो; अनि उहाँले उनलाई भन्नुभयो: “एलिया, तिमी यहाँ के गरिरहेछौ?” 10 अनि उनले भने: “परमप्रभु सेनाहरूका परमेश्वरका निम्ति म साह्रै जलेको छु; किनकि इस्राएलीहरूले तपाईंको वाचालाई त्यागे, तपाईंका वेदीहरू भत्काए र तपाईंका भविष्यवक्ताहरूलाई तरवारले मारे। अनि म, म मात्र बाँकी रहेको छु; अनि तिनीहरूले मेरो प्राण पनि लिन खोजिरहेछन्।” 11 तब उहाँले भन्नुभयो: “निस्क, र पहाड़माथि परमप्रभुको सामु उभ!” अनि हेर, परमप्रभु त्यहाँबाट भएर जानुभयो, अनि एउटा ठूलो र प्रचण्ड बतासले परमप्रभुको सामु पहाड़हरू फटायो, र चट्टानहरू टुक्रा-टुक्रा पार्यो; तर परमप्रभु त्यस बतासमा हुनुहुन्नथियो। अनि बतासपछि भुइँचालो गयो; तर त्यस भुइँचालोमा परमप्रभु हुनुहुन्नथियो। 12 अनि भुइँचालोपछि आगो आयो; तर परमप्रभु त्यस आगोमा हुनुहुन्नथियो। अनि आगोपछि एउटा शान्त, धीमा सोर सुनियो। 13 अनि यस्तो भयो: जब एलियाले त्यो सोर सुने, तब उनले आफ्नो खास्टोले आफ्नो मुख ढाके, उनी बाहिर निस्के र गुफाको ढोकामा उभिए। अनि हेर, उनीकहाँ यसो भन्ने एउटा सोर आयो: “एलिया, तिमी यहाँ के गरिरहेछौ?” 14 अनि उनले भने: “परमप्रभु सेनाहरूका परमेश्वरका निम्ति म साह्रै जलेको छु; किनकि इस्राएलीहरूले तपाईंको वाचालाई त्यागेका छन्, तपाईंका वेदीहरू भत्काएका छन् र तपाईंका भविष्यवक्ताहरूलाई तरवारले मारेका छन्। अनि म, म मात्र बाँकी रहेको छु; अनि तिनीहरूले मेरो प्राण पनि लिन खोजिरहेछन्।” 15 अनि परमप्रभुले उनलाई भन्नुभयो: “जाऊ, आफ्नो बाटोमा लागेर दमस्कसको उजाड़स्थानमा फर्क, र त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजाको रूपमा अभिषेक गर, 16 र निम्शीका छोरा येहूलाई इस्राएलमाथि राजाको रूपमा अभिषेक गर; अनि आबेल-महोलाका शापातका छोरा एलीशालाई तिम्रो सट्टामा भविष्यवक्ताको रूपमा अभिषेक गर! 17 अनि यस्तो हुनेछ: हजाएलको तरवारदेखि उम्कनेलाई येहूले मार्नेछ; अनि येहूको तरवारदेखि उम्कनेलाई एलीशाले मार्नेछ। 18 तैपनि मैले इस्राएलमा सात हजारजनालाई राखिछोड़ेको छु, अर्थात् ती सबै घुँड़ाहरू, जो बाल देवताको सामु टेकिएका छैनन्, र त्यो हरेक मुख, जसले त्यसलाई चुमेको छैन।”
एलीशाको बोलावट
19 तब उनी त्यहाँबाट हिँड़े, र शापातका छोरा एलीशालाई भेट्टाए, जसले आफ्नो अघिल्तिर बाह्र हल गोरुको साथ जोतिरहेका थिए; अनि तिनीचाहिँ बाह्रौं हलसित थिए; अनि एलिया तिनको छेउबाट भएर गए, र तिनीमाथि आफ्नो खास्टो राखेग। 20 अनि तिनले ती गोरुहरू छोड़े, एलियाको पछि-पछि दगुरे र भने: “म तपाईंलाई विन्ती गर्छु, म मेरा बुबा र मेरी आमालाई चुम्बन गर्न पाऊँ! त्यसपछि म तपाईंको पछि लाग्नेछु।” तब उनले तिनलाई भने: “फर्केर जाऊ; किनकि मैले तिमीलाई के गरेको छु र?” 21 अनि तिनी उनीबाट फर्के, अनि एक हल गोरु लिएर तिनलाई बलि गरे, र ती गोरुका सरसामानहरू लिएर तिनको मासु उसिने, र त्यो मानिसहरूलाई दिए, अनि तिनीहरूले खाए। त्यसपछि तिनी उठे, एलियाको पछि लागे र उनको सेवा गरे।