दाऊदका अन्तिम शब्‍दहरू
23
अनि दाऊदका अन्तिम शब्‍दहरू यी नै हुन्। यिशाईका छोरा दाऊदले भने – ती मानिसले, जो माथि उठाइएका छन्, अँ, याकूबका परमेश्‍वरको अभिषिक्त जन र इस्राएलको मीठो भजन-गायकले भने:
2 “परमप्रभुको आत्माले मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो जिब्रोमा थियो।
3 इस्राएलका परमेश्‍वरले भन्‍नुभयो, इस्राएलका चट्टानले मसित बोल्नुभयो: जसले मानिसमाथि शासन गर्दछ, ऊ न्यायप्रेमी हुनैपर्छ, उसले परमेश्‍वरको भयमा शासन गर्नैपर्छ।
4 अनि ऊ सूर्य उदाउँदा बिहानको उज्यालोजस्तै, अँ, बादलहरू नभएको बिहानीजस्तै, झरी परेपछि सफा चमकले पृथ्वीबाट उमारेको कोमल घाँसजस्तै हुनेछ।
5 के मेरो घराना परमेश्‍वरसित यस्तो छैन? उहाँले मसित सबै कुराहरूमा सुव्यवस्थित भएको र सुदृढ़ भएको एउटा अनन्त वाचा बाँध्‍नुभएको छ; किनभने यही मेरो सम्पूर्ण उद्धार र मेरो सम्पूर्ण चाहना हो। के उहाँले यसलाई बढ़ाउनुहुन्‍न र?
6 तर अधम मानिसहरू – तिनीहरू सबै फ्याँकिएका काँड़ाहरूजस्तै हुनेछन्; किनभने तिनीहरूलाई हातले समात्‍न सकिँदैन;
7 तर तिनीहरूलाई छुने मानिसले आफूलाई फलाम र भालाको डण्डाले बार्नैपर्छ; अनि तिनीहरू तिनीहरूका निम्ति ठहराइएको ठाउँमा आगोले पूरा जलाइनेछन्।”
दाऊदका शूरवीरहरू
8 दाऊदका शूरवीरहरूका नामहरू यी नै हुन्; तहक्मोनी योशेब बश्शेबेत कप्‍तानहरूका प्रधान थिए; उनी एज्‍नी अदिनो पनि भनिन्थे; किनकि उनले आठ सय जनालाई एकै समयमा मारे। 9 उनको पछि अहोही दोदोका छोरा एलाजार थिए, जो दाऊदका साथका तीनजना शूरवीरहरूमध्ये एक थिए, त्यस घड़ी, जब उनीहरूले लड़ाइँ गर्न त्यहाँ भेला भएका पलिस्तीहरूलाई ललकारे, अनि इस्राएलका मानिसहरू हटेर गइसकेका थिए, 10 तब तिनी उठे, र तिनको हात नथाकुन्जेल र तिनको हात तरवारमै नटाँसिउन्जेल पलिस्तीहरूलाई प्रहार गरे; अनि त्यस दिन परमप्रभुले एउटा ठूलो विजय दिनुभयो; अनि तिनको पछि मानिसहरू लुट्नलाई मात्र फर्केर आए।
11 तिनको पछि हरारी आगेका छोरा शम्मा थिए। अनि पलिस्तीहरू फौजको रूपमा भेला भए, जहाँ दालले भरिएको एक टुक्रा जमिन थियो; अनि मानिसहरू पलिस्तीहरूको सामुबाट भागे। 12 तर त्यस जमिनको बीचमा खड़ा भएर उनले त्यसलाई बचाए, र पलिस्तीहरूलाई मारे; अनि परमप्रभुले एउटा ठूलो विजय दिनुभयो।
13 अनि तीसजना प्रधानहरूमध्ये तीनजना तल गए, र कटनीको समयमा अदुल्‍लामको गुफामा दाऊदकहाँ आए; अनि पलिस्तीहरूको सेनाले रेपाईहरूको बेंसीमा छाउनी हाल्यो। 14 अनि त्यस बेला दाऊद एउटा गढ़ीमा थिए, अनि त्यस बेला पलिस्तीहरूको सेना-चौकी बेतलेहेममा थियो। 15 अनि दाऊदले चाहना गरेर भने: “अहो, कसैले मलाई बेतलेहेमको इनारको पानी पिउन दिए त, जो मूलढोकानिर छ!” 16 अनि ती तीनजना शूरवीरहरू पलिस्तीहरूको छाउनीको बीचबाट छिरेर गए, र मूलढोकानिर भएको बेतलेहेमको इनारबाट पानी उघाए, र त्यो लिएर दाऊदकहाँ ल्याए; तर उनले त्यसबाट पिउन मानेनन्, तर त्यो परमप्रभुलाई चढ़ाए 17 अनि उनले भने: “हे परमप्रभु, मबाट यस्तो काम कदापि नहोस्! के यो आफ्ना ज्यान जोखिममा हालेर जाने मानिसहरूको रगत होइन र?” यसैले उनले त्यो पिउन मानेनन्। यस्ता-यस्ता कामहरू ती तीनजना शूरवीरहरूले गरे।
18 अनि सरूयाका छोरा, योआबका भाइ अबिशैचाहिँ तीनजनाका प्रधान थिए। अनि तिनले आफ्नो भाला तीन सयजनाको विरोधमा उठाए, र तिनीहरूलाई मारे; यसरी तिनले तीनजनाको बीचमा नाम कमाए। 19 के तिनी ती तीनजनामा सबैभन्दा बढ़ी आदरणीय थिएनन्? यसैले तिनी उनीहरूका कप्‍तान भए; तैपनि तिनी पहिलेका तीनजनाको स्तरमा आइपुगेनन्।
20 त्यसपछि कब्सेलका एकजना वीर मानिसका छोरा, यहोयादाका छोरा बनायाह थिए, जसले ठूला-ठूला कामहरू गरेका थिए – तिनले मोआबका दुईजना सिंहजस्ता मानिसहरूलाई मारे; अनि हिउँ परेको समयमा तिनी तल झरे, र खाड़लको बीचमा एउटा सिंह मारे; 21 अनि तिनले एकजना सुडौल मिस्री मानिसलाई मारे; अनि त्यस मिस्रीसित आफ्नो हातमा एउटा भाला थियो; तर तिनी एउटा लौरो लिएर तल त्यसकहाँ गए; अनि त्यस मिस्रीको हातबाट त्यो भाला खोसेर तिनले त्यसलाई त्यसैको भालाले मारिदिए। 22 यस्ता-यस्ता कामहरू यहोयादाका छोरा बनायाहले गरे, र तीनजना शूरवीरहरूको बीचमा नाम कमाए। 23 तिनी तीसजनाभन्दा बढ़ी आदरणीय थिए, तर तिनी पहिलेका तीनजनाको स्तरमा आइपुगेनन्। अनि दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि अधिकारीको रूपमा नियुक्त गरे।
24 योआबका भाइ असाहेल तीसजनामध्ये एक थिए; बेतलेहेमका दोदोका छोरा एल-हानान, 25 हरोदी शम्मा, हरोदी एलिका, 26 पल्ती हेलेस, टेकोई इक्‍केशका छोरा इरा, 27 अनातोती अबिएजेर, हुशाती मबुन्‍नै, 28 अहोही सल्मोन, नतोपाती महरै, 29 नतोपाती बानाका छोरा हेलेब, बिन्यामिनीहरूको गिबाका रिबैका छोरा इत्तै, 30 पिरातोनी बनायाह, गाशका खोलाहरूका हिद्दै, 31 बेत-अराबाती अबिअल्बोन, बहुरिमी अज्मावेत, 32 शाल्बोनी एल्यहबा, 33 हरारी शम्मा, हरारी शरारका छोरा अहिआम, 34 माकातीका नाति अहसबैका छोरा एलिपेलेत, गिलोनी अहितोपेलका छोरा एलिआम, 35 कर्मेली हेस्रो; अर्बी पारै, 36 सोबाका नातानका छोरा यिगाल, गादी बानी, 37 अम्मोनी सेलेक, बेरोती नहरै, (जो सरूयाका छोरा योआबका हतियार बोक्ने थिए), 38 यित्ती इरा, यित्ती गारेब, 39 र हित्ती उरियाह – जम्मा सैंतीसजना थिए।