अब्शालोमका निम्ति दाऊदको भारी शोकमा योआबको हप्की
19
अनि योआबलाई यो बताइयो: “हेर, राजा अब्शालोमका निम्ति रुँदै हुनुहुन्छ र विलाप गर्दै हुनुहुन्छ।” 2 अनि त्यो विजय त्यस दिन सबै मानिसहरूका निम्ति विलापमा परिणत भयो; किनभने राजा आफ्नो छोराका निम्ति दुःखित भएको कुरा त्यस दिन मानिसहरूले सुने। 3 लड़ाइँमा भागेर लज्जित भएका मानिसहरू सुटुक्क भागेझैं त्यस दिन चुपचाप ती मानिसहरू सुटुक्क शहरभित्र पसे। 4 तर राजाले आफ्नो अनुहार ढाके, र राजा ठूलो सोरले चिच्च्याए: “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!!” 5 तब योआब त्यस घरभित्र राजाकहाँ आए, र भने: “आजको दिन तपाईंले आफ्ना सबै दासहरूका अनुहार लाजमा पार्नुभएको छ, जसले आजको दिन तपाईंको प्राणलाई, तपाईंका छोराहरू र तपाईंका छोरीहरूको प्राणलाई अनि तपाईंका पत्नीहरूको प्राणलाई र तपाईंका रखौटीहरूको प्राणलाई बचाएका छन्; 6 किनकि तपाईं तपाईंलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ, र तपाईंलाई प्रेम गर्नेहरूलाई चाहिँ घृणा गर्नुहुन्छ; किनभने तपाईंले आजको दिनमा यो प्रकट गर्नुभएको छ, कि तपाईं शासकहरू र नोकरहरूको वास्ता गर्नुहुन्न; किनकि आजको दिनमा म थाहा गर्छु, अब्शालोमचाहिँ बाँचेका, तर हामी सबैचाहिँ आजको दिन मरेका भए तपाईंलाई यो ठीक लाग्नेथियो। 7 यसकारण अब उठ्नुहोस्, बाहिर जानुहोस्, र आफ्ना नोकरहरूसित हृदयलाई छुने गरी बोल्नुहोस्; किनभने म परमप्रभुको शपथ खाएर भन्छु: तपाईं बाहिर निस्कनुभएन भने आज राति तपाईंसित एकजना पनि रहनेछैन; र तपाईंको जवानीदेखि लिएर अहिलेसम्म तपाईंमाथि आइपरेका सबै खराबीभन्दा त्यो बढ़ी हुनेछ।” 8 तब राजा उठे र मूलढोकामा बसे। अनि तिनीहरूले सबै मानिसहरूलाई यसो भने: “हेर, राजा मूलढोकामा बस्दै हुनुहुन्छ।” अनि सबै मानिसहरू राजाको सामु आए; किनकि इस्राएलको हरेक आ-आफ्नो पालमा भागेको थियो।9 अनि इस्राएलका सबै कुलहरूभरि सबै मानिसहरूले यसो भन्दै वादविवाद गर्न लागे: “राजाले हामीलाई हाम्रा शत्रुहरूको हातबाट बचाउनुभयो; अनि उहाँले नै हामीलाई पलिस्तीहरूको हातबाट छुटकारा दिनुभयो; अनि अहिलेचाहिँ उहाँ अब्शालोमको कारणले देशबाट भाग्नुभएको छ। 10 अनि अब्शालोमचाहिँ, जसलाई हामीले आफूमाथि अभिषेक गरेका थियौं, लड़ाइँमा मरे। यसकारण अब राजालाई फर्काएर ल्याउने विषयमा किन तिमीहरू एक शब्द पनि बोल्दैनौ?”
11 अनि राजा दाऊदले पूजाहारीहरू सादोक र अबियातारकहाँ यस्तो खबर पठाए: “यहूदाका बूढ़ा प्रधानहरूलाई यसो भन: ‘राजालाई आफ्नो घरमा फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि पर्छौ? किनकि सारा इस्राएलको कुरा राजाकहाँ, उनको घरैमा आएको छ। 12 तिमीहरू मेरा दाजुभाइहरू हौ; तिमीहरू मेरा हड्डीहरू र मेरो मासु हौ; तब किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबभन्दा पछि छौ?’ 13 अनि तिमीहरूले अमासालाई यसो भन: ‘के तिमी मेरो हड्डी र मेरो मासु होइनौ र? योआबको सट्टामा तिमी मेरो सामु निरन्तरक सेनापति भएनौ भने परमेश्वरले मलाई यस्तो र यसभन्दा ज्यादा गरून्!’ ” 14 अनि उनले यहूदाका सबै मानिसहरूको हृदयलाई एउटै मानिसको हृदयलाई झैं झुकाए; यसैले तिनीहरूले यो वचन राजाकहाँ पठाए: “तपाईं र तपाईंका सबै नोकरहरू फर्किनुहोस्!” 15 तब राजा फर्केर यर्दनमा आइपुगे। अनि राजालाई भेट्न जान र राजालाई यर्दन पार गराउन भनी यहूदा गिल्गालमा गयो।
शिमीलाई क्षमादान मिल्यो
16 अनि बिन्यामिनी गेराको छोरा शिमीले, जो बहुरिमको थियो, हतार गर्यो, र राजा दाऊदलाई भेट्न भनी यहूदाका मानिसहरूसित तल झर्यो। 17 अनि ऊसित बिन्यामिनका एक हजार मानिसहरू थिए, साथै शाऊलको घरका नोकर जिबा र उसका पन्ध्रजना छोराहरू र उसका बीसजना नोकरहरू उसको साथमा थिए; अनि तिनीहरूले राजाको अघि यर्दनमा पुग्न हतार गरे; 18 अनि राजाको घरपरिवारलाई पार तार्न र उनलाई असल लागेको कुरा गर्नलाई त्यहाँ एउटा डुङ्गाख पारि वारि गइरहन्थ्यो। अनि गेराको छोरा शिमीले राजाले यर्दन पार गर्नेबित्तिकै उनको सामु पस्रियो, 19 र राजालाई भन्यो: “मेरा प्रभुले ममाथि कुनै अधर्मको दोष नलगाऊन्! न ता तपाईंले मेरा प्रभु राजा यरूशलेमबाट निस्कनुभएको दिन तपाईंको दासले टेढ़ो व्यवहार गरेको कुरा नै सम्झनुहोस्, र राजाले यसलाई आफ्नो हृदयमा नराखून्! 20 किनकि म तपाईंको दासले पाप गरेको छु भनी म जान्दछु; यसकारण हेर्नुहोस्, यूसुफको सारा घरानाबाट सबभन्दा पहिले म नै आजको दिन मेरा प्रभु राजालाई भेट्नलाई तल जान आएको छु।” 21 तर सरूयाका छोरा अबिशैले जवाफ दिएर भने: “के शिमी यसका निम्ति मारिनुपर्दैन र? किनभने त्यसले परमप्रभुको अभिषिक्त जनलाई सराप्यो।” 22 तब दाऊदले भने: “हे सरूयाका छोराहरू, तिमीहरूसित मेरो के काम, र तिमीहरू आजको दिन मेरा विरोधी बन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिस मारियोस्? किनकि आजको दिन म इस्राएलकोग राजा हुँ भनी के म जान्दिनँ र?” 23 यसैले राजाले शिमीलाई भने: “तिमी मर्नेछैनौ।” अनि राजाले ऊसित शपथ खाए।
मेपिबोशेत राजा दाऊदलाई भेट्न आए
24 अनि शाऊलका छोरा मेपिबोशेत राजालाई भेट्न भनी तल आए; अनि राजा निस्केर गएको दिनदेखि शान्तिसित फर्केर नआउन्जेल तिनले न आफ्ना खुट्टा धोएका थिए, न आफ्नो दाह्री काटेका थिए, न आफ्ना लुगा नै धोएका थिए। 25 अनि यस्तो भयो: जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, तब राजाले तिनलाई भने: “मेपिबोशेत, तिमी किन मसँग गएनौ?” 26 तब तिनले जवाफ दिए: “हे मेरा प्रभु राजा, मेरो नोकरले मलाई धोका दियो; किनकि तपाईंको दासले भन्थ्यो: ‘म आफ्ना निम्ति गधामा काठी कस्नेछु, र त्यसमाथि चढ़ेर म राजासँग जानेछु; किनभने हजुरको दास लङ्गड़ो छ। 27 अनि त्यसले मेरा प्रभु राजाको सामु तपाईंको दासको झूटो निन्दा गरेको छ; तर मेरा प्रभु राजा परमेश्वरका दूतजस्तै हुनुहुन्छ; यसैले तपाईंको दृष्टिमा जे असल छ, त्यही गर्नुहोस्! 28 किनभने मेरा पिताको घरानाका सबैजना मेरा प्रभु राजाको सामु मरेका मानिसहरू मात्र थिए; तरै पनि तपाईंले आफ्नो दासलाई आफ्नै टेबलमा भोजन गर्नेहरूको बीचमा राख्नुभयो। यसकारण राजालाई अझै बढ़ी पुकार्ने मसँग के अधिकार छ र?” 29 अनि राजाले तिनलाई भने: “तब तिमी किन आफ्ना कुराहरू अझ गर्छौ? मैले भनेको छु: तिमी र जिबाले जग्गा-जमिन आपसमा बाँड़चुँड़ गर्नू!” 30 तब मेपिबोशेतले राजालाई भने: “मेरा प्रभु राजा त शान्तिसित आफ्नो घरमा फर्केर आउनुभएको छ; यसैले उसैले सबै लैजाओस्!”
गिलादी बार्जिलैले गरेको उपकारको बदलामा दाऊदको प्रतिफल
31 अनि गिलादी बार्जिलै रोगेलीमबाट तल झरे, र राजालाई यर्दनपारि पुर्याउन तिनले उनीसँग यर्दन पार गरे। 32 अनि बार्जिलै धेरै वृद्ध मानिस थिए, अस्सी वर्षका थिए; अनि तिनले नै राजालाई उनी महनैममा बसेको समयमा पालनपोषण गरेका थिए; किनकि तिनी अति धनीघ मानिस थिए। 33 अनि राजाले बार्जिलैलाई भने: “मसँग पारि आऊ, र म तिमीलाई मसितै यरूशलेममा पालनपोषण गर्नेछु।” 34 तब बार्जिलैले राजालाई भने: “मैले कहिलेसम्म बाँच्नु छ र, कि म राजासित माथि यरूशलेममा जाऊँ? 35 आजको दिन म अस्सी वर्षको छु; अनि के मैले असल र खराबलाई छुट्ट्याउन सक्छु र? के म, तपाईंको दासले – मैले खाएको र मैले पिएको कुराको स्वाद लिन सक्छु र? के म अझ पनि गायकहरू र गायिकाहरूको सोर सुन्न सक्छु र? तब म, तपाईंको दास मेरा प्रभु राजाका निम्ति अझै किन भार बनूँ? 36 तपाईंको दास राजासित यर्दन पार गरेर थोरै अघि बढ़्नेछ; तब किन राजाले यसको बदलामा मलाई यति ठूलो प्रतिफल दिनुहुन्छ? 37 म तपाईंलाई विन्ती गर्छु, तपाईंको दासलाई फर्केर जान दिनुहोस्, र म आफ्नै शहरमा, मेरा बुबा र मेरी आमाको चिहाननिर मर्न पाऊँ! तर हेर्नुहोस्, तपाईंको दास किम्हाम; ऊचाहिँ मेरा प्रभु राजासित पारि जाओस्; अनि ऊसित तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्!” 38 तब राजाले जवाफ दिए: “किम्हाम मसित पारि जाओस्; अनि म ऊसित तिमीलाई जे असल लाग्छ, त्यही गर्नेछु; अनि जे कुरा तिमी मबाट चाहन्छौ, त्यो सबै म तिम्रा निम्ति गर्नेछु।” 39 अनि सबै मानिसहरूले यर्दन पार गरे। अनि जब राजा पार भए, तब राजाले बार्जिलैलाई चुम्बन गरे, र तिनलाई आशीर्वाद दिए; अनि तिनी आफ्नै ठाउँमा फर्के। 40 तब राजा अघि बढ़ेर गिल्गाल गए, र किम्हाम उनीसित अघि बढ़े; अनि यहूदाका सबै मानिसहरूले र इस्राएलका आधा मानिसहरूले पनि राजालाई पुर्याए।
41 अनि हेर, इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने: “यहूदाका मानिस हाम्रा दाजुभाइहरूले किन तपाईंलाई चोरे, अनि राजालाई, र उहाँसित उहाँको घरानालाई अनि दाऊदका सबै मानिसहरूलाई यर्दनवारि ल्याए?” 42 अनि यहूदाका सबै मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए: “किनकि राजा हाम्रा नजिकका नातेदार हुनुहुन्छ; तब यस विषयमा तिमीहरू किन रिसाउँछौ? के हामीले राजाको खर्चबाट केही खाएका छौं? अथवा के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ?” 43 अनि इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिएर भने: “राजामा हाम्रा दस भागहरू छन्, अनि दाऊदमा तिमीहरूको भन्दा हाम्रो अधिकार बढ़ी हो; तब किन तिमीहरूले हामीलाई तुच्छ ठान्यौ? अनि के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा गर्ने हामी पहिले थिएनौं र?” तर यहूदाका मानिसहरूका शब्दहरू इस्राएलका मानिसहरूका शब्दहरूभन्दा कड़ा थिए।