दाऊदका मानिसहरू अब्शालोमसँग लड़ाइँ गर्न तयार भए
18
अनि दाऊदले आफूसँग भएका मानिसहरूलाई गन्ती गरे, अनि हजारौंमाथिका कप्‍तानहरू र सयौंमाथिका कप्‍तानहरू नियुक्त गरे। 2 अनि दाऊदले मानिसहरूको एक तिहाइ योआबको अधीनतामा, एक तिहाइ योआबका भाइ, सरूयाका छोरा अबिशैको अधीनतामा र एक तिहाइ गित्ती इत्तैको अधीनतामा पठाए। अनि राजाले मानिसहरूलाई भने: “निश्‍चय म आफै पनि तिमीहरूको साथमा निस्कनेछु।” 3 तर मानिसहरूले जवाफ दिए: “तपाईं ननिस्कनुहोस्; किनकि हामी भागिहाल्यौं भने पनि तिनीहरूले हाम्रो वास्ता गर्नेछैनन्; अनि हामीमध्ये आधै मर्‍यौं भने पनि तिनीहरूले हाम्रो वास्ता गर्नेछैनन्; तर तपाईं त हाम्रा दस हजारको बराबर हुनुहुन्छ; यसकारण अब तपाईंले हामीलाई शहरबाट सहायता गर्नु उत्तम हो।” 4 अनि राजाले तिनीहरूलाई भने: “तिमीहरूलाई जे असल लाग्छ, त्यो म गर्नेछु।” अनि राजा मूलढोकाको छेउमा खड़ा भए, र सबै मानिसहरू सय-सय र हजार-हजार गरेर निस्के। 5 अनि राजाले यसो भन्दै योआब, अबिशै र इत्तैलाई आज्ञा गरे: “मेरै खातिर ती जवान मानिससित, अँ, अब्शालोमसित कोमल व्यवहार गर है!” अनि राजाले अब्शालोमको विषयमा सबै कप्‍तानहरूलाई आज्ञा गर्दा सबै मानिसहरूले सुने।
लड़ाइँमा अब्शालोमको मृत्यु
6 तब मानिसहरू इस्राएलको विरोधमा मैदानमा उत्रे; अनि एप्रैमको जङ्गलमा लड़ाइँ चल्यो। 7 त्यहाँ इस्राएलका मानिसहरू दाऊदका नोकरहरूको सामु मारिए; अनि त्यस दिन त्यहाँ ठूलो काटमार, बीस हजार मानिसहरूको काटमार भयो। 8 अनि लड़ाइँ त्यस देशको सतहभरि फैलिएको थियो; अनि त्यस दिन तरवारले निलेको भन्दा जङ्गलले बढ़ी मानिसहरूलाई निल्यो।
9 अनि अब्शालोम दाऊदका नोकरहरूको सामु परे। अनि अब्शालोम एउटा खच्‍चर हाँकिरहेका थिए; अनि त्यो खच्‍चर एउटा ठूलो बज्राँठको रूखका बाक्ला हाँगाहरूको मुन्तिरबाट गयो, र तिनको टाउको बज्राँठको रूखमा अल्झियो, अनि तिनी आकाश र पृथ्वीको बीचमा तुर्लुङ्ग झुन्डिए; अनि तिनीमुनि भएको खच्‍चरचाहिँ गइहाल्यो। 10 अनि कुनै एउटा मानिसले तिनलाई देख्यो, योआबलाई यो बतायो र भन्यो: “हेर्नुहोस्, मैले अब्शालोमलाई एउटा बज्राँठको रूखमा झुन्डिएका देखें।” 11 अनि योआबले उनलाई यो कुरा बताउने मानिसलाई भने: “अनि हेर, तिमीले तिनलाई देख्यौ; तब किन तिमीले तिनलाई त्यहीं हिर्काएर भुइँमा झारेनौ? र म तिमीलाई दस शेकेल चाँदी र एउटा पटुका दिनेथिएँ।” 12 अनि त्यस मानिसले योआबलाई भन्यो: “मैले आफ्नो हातमा एक हजार शेकेल चाँदी पाएँ भने पनि म राजाका छोराको विरुद्ध मेरो हात बढ़ाउनेछैनँ; किनकि हामीले सुन्‍ने गरी राजाले तपाईंलाई, अबिशै र इत्तैलाई यसो भन्दै आज्ञा दिनुभएको थियो: ‘होशियार, कसैले त्यस जवान मानिस अब्शालोमलाई नछुनू!’ 13 नत्रभने मैले आफ्नै प्राणको विरुद्ध झूटो काम गरेको हुनेथिएँ; किनकि कुनै कुरा राजाबाट लुकेको छैन; र तपाईंचाहिँ मेरो विरोधमा खड़ा हुनुहुनेथियो।”
14 तब योआबले भने: “म तिम्रो सामु यसरी पर्खेर बस्दिनँ।” अनि उनले आफ्नो हातमा तीनवटा सुइरा लिए, र अब्शालोम त्यस बज्राँठको रूखको माझमा अझै जिउँदै भएको बेलामा उनले ती तिनको मुटुमै रोपिदिए। 15 अनि योआबका हातहतियार बोक्ने दसजना मानिसहरूले घेरेर अब्शालोमलाई प्रहार गरे, र तिनलाई मारे। 16 अनि योआबले तुरही फुके, र मानिसहरू इस्राएललाई खेद्‌न छोड़ेर फर्के; किनकि योआबले मानिसहरूलाई रोके। 17 अनि तिनीहरूले अब्शालोमलाई लगे, र तिनलाई जङ्गलमा एउटा ठूलो खाड़लमा फ्याँके, अनि तिनीमाथि ढुङ्गाहरूको एउटा साह्रै ठूलो रास लगाइदिए; अनि सारा इस्राएल हरेक आ-आफ्नो पालमा भाग्यो। 18 अनि अब्शालोमले आफ्नो जीवनकालमा एउटा खाँबा लिएर आफ्नै निम्ति खड़ा गरेका थिए, जुन खाँबा राजाको बेंसीमा छ; किनभने तिनले भन्थे: ‘मेरो नाम सम्झनामा राख्‍ने मसँग छोरा छैन;’ अनि तिनले त्यस खाँबाको नाम आफ्नै नामअनुसार राखे; अनि त्यसलाई आजको दिनसम्म अब्शालोमको स्मारक भनिन्छ।
अब्शालोमका निम्ति दाऊदको विलाप
19 तब सादोकका छोरा अहिमासले भने: “कृपया मलाई दगुरेर राजालाई खबर पुर्‍याउन दिनुहोस्; किनकि परमप्रभुले उनका शत्रुहरूको हातबाट बदला लिएर उनको न्याय गर्नुभएको छ।” 20 अनि योआबले तिनलाई भने: “आजको दिन तिमीले खबर लाने होइन, तर अर्को दिन तिमीले खबर लैजानू; तर आजको दिन तिमीले खबर नलानू; किनभने राजाका छोरा मरेका छन्।” 21 तब योआबले कूशीलाई भने: “जाऊ! तिमीले जे देखेका छौ, सो राजालाई बताइदेऊ!” अनि कूशीले योआबलाई दण्‍डवत्‌ गर्‍यो, र दगुर्‍यो। 22 तब सादोकका छोरा अहिमासले फेरि पनि योआबलाई भने: “तर म तपाईंलाई विन्‍ती गर्छु, जे भए पनि मलाई कूशीको पछि-पछि दगुर्न दिनुहोस्!” अनि योआबले भने: “तिमीसँग कुनै खबरै छैन भने हे मेरा छोरा, तिमी किन दगुर्छौ?” 23 तर तिनले भने: “जे भए पनि मलाई दगुर्न दिनुहोस्!” अनि उनले तिनलाई भने: “दगुर!” तब अहिमास मैदानको बाटो भएर दगुरे, र त्यस कूशीलाई उछिने।
24 अनि दाऊद दुईवटा मूलढोकाहरूको बीचमा बसिरहेका थिए; अनि पहरादार मूलढोकामाथिको छानामा, पर्खालमाथि चढ्‍यो, र आफ्ना आँखाहरू उठायो; अनि हेर, एकजना मानिस एकलै दगुरिरहेको थियो। 25 अनि त्यस पहरादारले कराएर राजालाई यो कुरा बतायो। अनि राजाले भने: “ऊ एकलो छ भने उसको मुखमा समाचार छ।” अनि त्यो छिट्टै आइरहेको थियो, र नजिकै आइपुग्यो। 26 अनि त्यस पहरादारले अर्को मानिसलाई दगुर्दै गरेको देख्यो; अनि त्यस पहरादारले ढोकेलाई बोलाएर भन्यो: “हेर, अर्को मानिस एकलै दगुर्दैछ।” अनि राजाले भने: “उसले पनि समाचार ल्याउँदैछ।” 27 अनि त्यस पहरादारले भन्यो: “अघि दगुर्नेको दगुराइचाहिँ सादोकका छोरा अहिमासको दगुराइजस्तो मलाई लाग्दैछ।” अनि राजाले भने: “तिनी एक असल मानिस हुन्, र शुभ-समाचार लिएर आउँदैछन्।” 28 अनि अहिमासले पुकारेर राजालाई भने: “सलाम!” अनि राजाको सामु भुइँसम्‍म आफ्नो शिर झुकाएर तिनले भने: “परमप्रभु तपाईंका परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरा प्रभु राजाको विरोधमा आफ्नो हात उठाउने मानिसहरूलाई सुम्पिदिनुभएको छ।” 29 अनि राजाले भने: “के ती जवान अब्शालोम कुशल छन्‌?” अनि अहिमासले जवाफ दिए: “जब योआबले राजाको दासलाई अर्थात् म, तपाईंको दासलाई पठाए, तब मैले एउटा ठूलो गोलमाल देखें, तर त्यो के थियो, सो मलाई थाहा भएन।” 30 तब राजाले तिनलाई भने: “यता फर्क र यहाँ खड़ा होऊ!” अनि तिनी उतापट्टि फर्के, र उभिरहे।
31 अनि हेर, कूशी आइपुग्यो; अनि कूशीले भन्यो: “मेरा प्रभु राजा, समाचार छ; किनकि परमप्रभुले आजको दिन तपाईंको विरोधमा उठ्ने सबैको हातबाट बदला लिएर तपाईंको न्याय गर्नुभएको छ।” 32 अनि राजाले कूशीलाई भने: “के ती जवान अब्शालोम कुशल छन्‌?” तब कूशीले जवाफ दियो: “मेरा प्रभु राजाका शत्रुहरू र तपाईंलाई हानि गर्न उठ्ने सबैजना ती जवान मानिसजस्ता होऊन्!” 33 तब राजा विचलित भए, र मूलढोकाको माथिल्‍लो कोठामा चढ़े, र रोए; अनि जाँदै गर्दा उनले यसो भने: “हे मेरा छोरा अब्शालोम! मेरा छोरा, मेरा छोरा अब्शालोम! तिम्रो सट्टामा म मरेको भए असल हुन्थ्यो! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!”