अहितोपेलको सल्लाह
17
अनि अहितोपेलले अब्शालोमलाई भने: “अब मलाई बाह्र हजार मानिसहरू चुन्न दिनुहोस्, र म उठ्नेछु, र आज राति दाऊदको पिछा गर्नेछु। 2 अनि तिनी थकित भएको तिनका हातहरू कमजोर भएको बेलामा म तिनीमाथि जाइलाग्नेछु, र तिनलाई भयभीत तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भाग्नेछन्, र म राजालाई मात्र प्रहार गर्नेछु। 3 अनि म सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु; सबै मानिसहरूको फर्काइ तपाईंले खोजिरहनुभएको मानिसमा भर पर्छ; यसरी सबै मानिसहरू शान्तिमा रहनेछन्।” 4 अनि यो भनाइ अब्शालोम र इस्राएलका सबै बूढ़ा प्रधानहरूलाई असल लाग्यो।हूशैको सल्लाह
5 तब अब्शालोमले भने: “अब एरेकी हूशैलाई पनि बोलाऊ त! अनि तिनले के भन्दा रहेछन्, त्यो पनि हामी सुनौं!” 6 अनि जब हूशै अब्शालोमकहाँ आए, तब अब्शालोमले तिनलाई यसो भने: “अहितोपेलले यसो भनेका छन्; के हामी उनको वचनअनुसार गरौं? होइन भने, भन्नुहोस्!” 7 अनि हूशैले अब्शालोमलाई भने: “अहितोपेलले दिएको सल्लाह यसपालि असल होइन।” 8 अनि हूशैले भने: “तपाईंका पिता र उहाँका मानिसहरूलाई तपाईंले चिन्नुभएको छ: उहाँहरू शक्तिशाली हुनुहुन्छ, र बनमा आफ्नो बच्चा खोसिएको भालुजस्तै उहाँहरू हृदयमा क्रूद्ध हुनुभएको छ; साथै तपाईंका पिता एउटा योद्धा हुनुहुन्छ, र मानिसहरूसित वास बस्नुहुनेछैन नै। 9 हेर्नुहोस्, उहाँ अहिले कुनै खाल्डामा वा अन्य कुनै ठाउँमा लुक्नुभएको छ; अनि यस्तो हुनेछ: जब शुरुमा तिनीहरूको बीचमा कोही-कोही मारिन्छन्, तब यो कुरा सुन्ने हरेकले भन्नेछ, ‘अब्शालोमलाई पछ्याउने मानिसहरूको बीचमा काटमार भइरहेछ।’ 10 अनि सिंहको जस्तो मुटु भएको शूरवीर पनि बिलकुलै लल्याकलुलुक हुनेछ; किनभने तपाईंका पिता एक शक्तिशाली मानिस हुनुहुन्छ, अनि उहाँको साथमा भएकाहरू शूरवीर मानिसहरू हुन् भनी सारा इस्राएलले जान्दछ। 11 यसकारण म सल्लाह दिन्छु, कि दानदेखि बेरशेबासम्मको सारा इस्राएल – समुद्रको किनारमा भएका बालुवाझैं असंख्य भीड़ तपाईंकहाँ भेला होस्; अनि तपाईं आफै लड़ाइँमा जानुहोस्! 12 तब हामी त्यस ठाउँमाक, जहाँ उनी फेला पर्छन्, उहाँकहाँ पुग्नेछौं, र भुइँमा शीत झरेझैं गरी उहाँमाथि जाइलाग्नेछौं; अनि उहाँ र उहाँसँग भएका सबै मानिसहरूमध्ये एकजनासम्म पनि छोड़िनेछैन। 13 अनि उहाँ कुनै शहरमा पस्नुभएकोख छ भने पनि सारा इस्राएलले त्यस शहरमा डोरीहरू ल्याउनेछ, अनि त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेट्टाउने गरीग हामी त्यसलाई नदीभित्र तान्नेछौं।” 14 तब अब्शालोम र इस्राएलका सबै मानिसहरूले भने: “एरेकी हूशैको सल्लाह अहितोपेलको सल्लाहभन्दा उत्तम हो।” किनभने अब्शालोममाथि खराबी ल्याउने उद्देश्यले परमप्रभुले अहितोपेलको उत्तम सल्लाह असफल तुल्याउने निर्णयघ गर्नुभएको थियो।
दाऊदलाई बचाउने खबर पठाइयो
15 तब हूशैले पूजाहारीहरू सादोक र अबियातारलाई भने: “अहितोपेलले अब्शालोम र इस्राएलका बूढ़ा प्रधानहरूलाई यस्तो-यस्तो सल्लाह दिए; अनि मैले चाहिँ यस्तो सल्लाह दिएको छु। 16 यसकारण अब झट्टै पठाओ, र दाऊदलाई यसो भन: ‘आज राति उजाड़स्थानका जँघारहरूमा वास नबस्नुहोस्, तर हतार गरी नदी पार गरिहाल्नुहोस्; नत्र ता राजा र उहाँसँग भएका सबै मानिसहरू निलिनेछन्।” 17 अनि योनातान र अहिमासचाहिँ शहरभित्र पस्दै गरेका कसैले देख्न नपाओस्ङ भन्ने हेतुले एन-रोगेलमा बसेका थिए; अनि एउटी दासीले गएर उनीहरूलाई बताइदिई; अनि उनीहरू गएर राजा दाऊदलाई बताइदिए। 18 तैपनि एउटा केटाले उनीहरूलाई देख्यो, र अब्शालोमलाई भन्यो; तर ती दुईजना हतार गरी गइहाले र बहुरिममा एकजना मानिसको घरमा आइपुगे, जसको आँगनमा एउटा इनार थियो; उनीहरू त्यसैभित्र पसे। 19 अनि त्यस स्त्रीले ढकना लिएर त्यस इनारको मुख छोपिदिई, र त्यस ढकनामाथि अन्न फिँजाइदिई; अनि त्यो कुरा थाहा भएन। 20 अनि जब अब्शालोमका नोकरहरू त्यस घरमा त्यस स्त्रीकहाँ आए, तब तिनीहरूले भने: “अहिमास र योनातान कहाँ छन्?” अनि त्यस स्त्रीले तिनीहरूलाई भनी: “तिनीहरू त पानीको खोलापारि गइसके।” अनि तिनीहरूले खोजे, तर उनीहरूलाई फेला पार्न नसक्दा तिनीहरू यरूशलेममा फर्के। 21 अनि तिनीहरू गइसकेपछि यस्तो भयो: उनीहरू त्यस इनारबाट बाहिर निस्के, अनि गएर राजा दाऊदलाई बताए र दाऊदलाई भने: “तपाईंहरू उठ्नुहोस् र झट्टै नदीच पार गरिहाल्नुहोस्; किनकि अहितोपेलले हजुरको विरोधमा यस्तो-यस्तो सल्लाह दिएको छ।” 22 तब दाऊद र उनीसित भएका सबै मानिसहरू उठे; अनि उनीहरूले यर्दन पार गरे; बिहान उज्यालो हुँदा तिनीहरूमध्ये यर्दन नतर्ने एकैजना पनि बाँकी रहेन।
23 अनि जब अहितोपेलले आफ्नो सल्लाह पालन नगरिएको देखे, तब तिनले आफ्नो गधामा काठी कसे, र उठेर आफ्नो शहरमा, आफ्नो घरमा गए, अनि आफ्नो घरानाको व्यवस्था मिलाए; तब तिनले आफूलाई झुन्ड्याए, र मरे, अनि आफ्ना बुबाको चिहानमा गाड़िए।
दाऊद महनैममा
24 तब दाऊद महनैममा आए। अनि अब्शालोम, र तिनको साथमा इस्राएलका सबै मानिसहरूले यर्दन पार गरे। 25 अनि अब्शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाए; अमासाचाहिँ यित्राछ नामका एकजना इस्राएली मानिसका छोरा थिए, जो योआबकी आमा सरूयाकी बहिनी, नाहाशकी छोरी अबिगेलकहाँ गएका थिए। 26 तब इस्राएल र अब्शालोमले गिलाद देशमा छाउनी हाले।
27 अनि यस्तो भयो: जब दाऊद महनैममा आए, तब अम्मोनीहरूको रब्बाबाट नाहाशका छोरा शोबी, लोदेबारबाट अम्मिएलका छोरा माकीर र रोगेलीमबाट गिलादी बार्जिलैले 28 ओछ्यानहरू, भाँड़ाकुँड़ाहरू, माटाका भाँड़ाहरू, अनि गहुँ, जौ, पीठो, भुटेको अन्न, सिमी, दालहरू र भुटेका गेड़ागुड़ी, 29 साथै मह, मक्खन, भेड़ाबाख्राहरू र गाईबस्तुका पनिरहरू दाऊदका निम्ति र उनीसँग भएका मानिसहरूका निम्ति खानलाई ल्याइदिए; किनकि तिनीहरू भन्थे: “मानिसहरू उजाड़स्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।”