मेपिबोशेतको नोकर जिबाले आफ्ना मालिकलाई झूटा दोष लगायो
16
अनि जब दाऊद डाँड़ाको टाकुरा पार गरेर अलिक पर पुगेका थिए, तब हेर, मेपिबोशेतका नोकर जिबाले काठी कसेका एक जोड़ा गधा र तीमाथि दुई सय रोटी, एक सय झुप्पा किसमिस र एक सय ग्रीष्म ऋतुका फलहरू अनि एक मसक दाखमद्य लिएर उनलाई भेट्यो। 2 अनि राजाले जिबालाई भने: “यी कुरासित तिम्रो उद्देश्य के हो?” अनि जिबाले भने: “यी गधाहरूचाहिँ राजाको घरपरिवारको सवारीका निम्ति हुन्; अनि रोटीहरू र ग्रीष्म ऋतुका फलहरू जवानहरूलाई खानका निम्ति हुन्; र दाखमद्यचाहिँ उजाड़स्थानमा थकित हुनेलाई पिउनका निम्ति हो।” 3 अनि राजाले भने: “अनि तिम्रा मालिकका छोरा कहाँ छन्?” अनि जिबाले राजालाई भने: “हेर्नुहोस्, तिनी यरूशलेममै बस्छन्; किनभने तिनले भन्थे, ‘आज इस्राएलको घरानाले मेरा पिताको राज्य मलाई फर्काइदिनेछ।” 4 तब राजाले जिबालाई भने: “हेर, मपिबोशेतका सबै थोक तिम्रै हुन्।” अनि जिबाले भने: “हे मेरा प्रभु राजा, म हजुरलाई नम्रतापूर्वक विन्ती गर्छुक, हजुरको दृष्टिमा म दया पाऊँ!”शिमीले राजा दाऊदलाई सराप्यो
5 अनि जब दाऊद राजा बहुरिममा आए, तब हेर, शाऊलको घरको परिवारबाट एकजना मानिस त्यहाँबाट निस्केर आयो, जसको नाम गेराको छोरो शिमी थियो; अनि त्यो निस्केर आउँदा त्यो सराप्दै निस्क्यो। 6 अनि त्यसले दाऊदलाई र राजा दाऊदका सबै नोकरहरूलाई ढुङ्गाले हान्यो; अनि सबै मानिसहरू र सबै शक्तिशाली मानिसहरू राजाकोख दाहिनेपट्टि र उनको देब्रेपट्टि थिए। 7 अनि सराप्दा शिमीले यसो भन्यो: “ए खूनी मान्छे, ए अधम मान्छे, निस्की जा! निस्की जा! 8 परमप्रभुले शाऊलको घरानाको सबै रगत तँमाथि फिर्ता गरिदिनुभएको छ; जसको सट्टामा तैंले राज्य गरेको छस्; अनि परमप्रभुले त्यो राज्य तेरै छोरा अब्शालोमको हातमा सुम्पिदिनुभएको छ; अनि हेर्, तँ आफ्नै दुष्टतामा फसेको छस्; किनकि तँ एउटा खूनी मान्छे होस्।”
9 तब सरूयाका छोरा अबिशैले राजालाई भने: “यस मरेको कुकुरले किन मेरा प्रभु राजालाई सराप्छ? म विन्ती गर्छु, मलाई पारि जान दिनुहोस्, र म त्यसको शिर उड़ाइदिन्छु।” 10 अनि राजाले भने: “हे सरूयाका छोराहरूहो, तिमीहरूसित मेरो के काम छ र? अँ, त्यसले सरापोस्; किनकि परमप्रभुले त्यसलाई ‘दाऊदलाई श्राप दे’ भन्नुभएको छ। तब ‘तैंले किन यसो गरिस्?’ भनी कसले भन्ने?” 11 अनि दाऊदले अबिशै र आफ्ना सबै नोकरहरूलाई भने: “हेर, मेरै शरीरबाट निस्केको मेरै छोराले मेरो प्राण लिन खोज्छ भने अब यस बिन्यामिनीले झन् कति बढ़ी खोज्ला? त्यसलाई छोड़िदेओ, र त्यसले सरापोस्; किनकि परमप्रभुले त्यसलाई आज्ञा गर्नुभएको छ। 12 हुन सक्छ, परमप्रभुले मेरो दु:खमाथि नजर राख्नुहुनेछ, र आजको दिनको त्यसको श्रापको सट्टामा परमप्रभुले मलाई भलाइ गर्नुहुनेछ।” 13 अनि जब दाऊद र उनका मानिसहरू त्यस बाटोबाट हिँड़्दै गए, तब शिमी डाँड़ाको पाखैपाखा उनको सामुन्ने हिँड़्यो; अनि हिँड्दै गर्दा त्यसले सराप्यो, उनलाई ढुङ्गाले हान्यो र धूलो फ्याँक्यो। 14 अनि राजा र उनीसँग भएका सबै मानिसहरू थकित भएर आइपुगे, र त्यहाँ तिनीहरूलेग थकाइ मारे।
यरूशलेममा अब्शालोमको प्रवेश
15 अनि अब्शालोम र सबै मानिसहरू अर्थात् इस्राएलका मानिसहरू यरूशलेममा आए; अनि अहितोपेल तिनीसँगै थिए। 16 अनि यस्तो भयो: जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब अरकी हूशैले अब्शालोमलाई भने: “राजा अमर रहून्! राजा अमर रहून्!!” 17 अनि अब्शालोमले हूशैलाई भने: “के तपाईंका साथीप्रति तपाईंको दया यही हो? तपाईं किन आफ्ना साथीसित जानुभएन?” 18 तब हूशैले अब्शालोमलाई भने: “होइन; तर परमप्रभुले, अनि यी मानिसहरू र इस्राएलका सबै मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, र उहाँसित म रहनेछु। 19 अनि फेरि मैले कसको सेवा गर्नु त? के म उनका छोराको सामु सेवा नगरूँ? जसरी मैले तपाईंका बुबाको सामु सेवा गरेको थिएँ, त्यसरी नै म तपाईंको सामु हुनेछु।”
20 तब अब्शालोमले अहितोपेललाई भने: “हामीले के गर्नुपर्छ, सो तिमीहरूको सल्लाह देओ!” 21 अनि अहितोपेलले अब्शालोमलाई भने: “तपाईंका पिताका रखौटीहरूकहाँ जानुहोस्, जसलाई घरको हेरचाह गर्न भनी उहाँले छोड़िराखेका छन्; तब तपाईं आफ्ना पिताको दृष्टिमा घृणित हुनुभएको छ भनी सम्पूर्ण इस्राएलले सुन्नेछ; तब तपाईंसित भएका सबैका हातहरू बलिया हुनेछन्।” 22 तब तिनीहरूले अब्शालोमका निम्ति घरको कौसीमा एउटा पाल टाँगिदिए; अनि अब्शालोम सारा इस्राएलकै दृष्टिमा आफ्ना बुबाका उपपत्नीहरूकहाँ गए। 23 अनि ती दिनहरूमा अहितोपेलले दिएको तिनको सल्लाहचाहिँ मानिसले परमेश्वरको वाणी खोजेको जस्तै मानिन्थ्यो; चाहे दाऊदलाई, चाहे अब्शालोमलाई दिइएको अहितोपेलको सबै सल्लाह यस्तै मानिन्थ्यो।