राजा दाऊदको विरुद्ध छोरा अब्शालोमको विद्रोह
15
अनि त्यसपछि यस्तो भयो: अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोड़ाहरू र आफ्नो अघि-अघि दगुर्न पचासजना मानिसहरूलाई तयार गरे। 2 अनि अब्शालोम बिहान सबेरै उठ्थे र मूलढोकातिर जाने बाटोनिर उभिन्थे; अनि यस्तो हुन्थ्यो: जब मामिला भएको जुनसुकै मानिस न्यायका निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमले त्यसलाई बोलाउँथे, र त्यसलाई भन्थे: “तिमी कुन शहरका हौ?” अनि त्यसले भन्थ्यो: “हजुरको दास इस्राएलका कुलहरूमध्ये फलानो कुलबाटकोक हो।” 3 अनि अब्शालोमले त्यसलाई भन्थे: “हेर, तिम्रा मामिलाहरू असल र सठीक त छन्; तर राजाको तर्फबाट तिम्रो कुरा सुन्ने कुनै मानिस नियुक्त गरिएको छैन।” 4 अनि अब्शालोमले अझ भन्थे: “यस देशमा मलाई न्यायकर्ता बनाएको भए त! मामिला वा मुद्दा भएको मानिस मकहाँ आउनेथियो, र म उसको न्याय गरिदिनेथिएँ!” 5 अनि यस्तो हुन्थ्यो: जब कुनै मानिस तिनलाई दण्डवत् गर्न तिनको नजिक आउँथ्यो, तब तिनले आफ्नो हात बढ़ाएर त्यसलाई समाउँथे र चुम्बन गर्थे। 6 अनि न्यायका निम्ति राजाकहाँ आउने सारा इस्राएलसित अब्शालोमले यस्तै गर्थे; यसरी अब्शालोमले इस्राएलका मानिसहरूको हृदय चोरी गरे।7 अनि चालीस वर्षपछि यस्तो भयो: अब्शालोमले राजालाई भने: “म हजुरलाई विन्ती गर्छु, मलाई गएर हेब्रोनमा मेरो भाकल पूरा गर्न दिनुहोस्, जुन भाकल मैले परमप्रभुसित गरेको थिएँ। 8 किनभने हजुरको दासले अरामको गशूरमा बस्दा यसो भन्दै एउटा भाकल गरेको थियो: ‘परमप्रभुले मलाई साँच्चै यरूशलेममा फर्काएर ल्याउनुभयो भने म परमप्रभुको सेवा गर्नेछु।’ ” 9 अनि राजाले तिनलाई भने: “शान्तिसित जाऊ!” तब तिनी उठे, र हेब्रोन गए। 10 तर अब्शालोमले यसो भन्दै इस्राएलका सबै कुलहरूभरि जासुसहरू पठाए: “तिमीहरूले तुरहीको आवाज सुन्नसाथ तिमीहरूले ‘अब्शालोम हेब्रोनमा राज्य गर्नुहुन्छ’ भन्नू!” 11 अनि अब्शालोमसित यरूशलेमबाट दुई सयजना निम्त्याइएका मानिसहरू गए; अनि तिनीहरू आफ्ना इमानदारीमा गए, र तिनीहरूलाई केही थाहै थिएन। 12 अनि अब्शालोमले बलिदानहरू चढ़ाउँदा दाऊदको सल्लाहकार गिलोनी अहितोपेललाई उनको शहर गिलोहबाट बोलाइपठाए। अनि त्यो षड़्यन्त्र शक्तिशाली बन्दै गयो; किनकि अब्शालोमसित मानिसहरू लगातार बढ़्दै गए।
राजा दाऊद छोरा अब्शालोमबाट भागे
13 अनि यसो भन्दै एकजना दूत दाऊदकहाँ आयो: “इस्राएलका मानिसहरूको मन अब्शालोमको पछि लागेको छ।” 14 अनि दाऊदले यरूशलेममा आफूसित भएका सबै नोकरहरूलाई भने: “उठ, हामी भागौं; नत्र ता हामी अब्शालोमको सामुबाट उम्कनेछैनौं; जानलाई हतार गर, नत्र त्यो अचानक हामीमाथि आइलाग्नेछ, हामीमाथि खराबी ल्याउनेछ र यस शहरलाई तरवारले प्रहार गर्नेछ।” 15 अनि राजाका नोकरहरूले राजालाई भने: “हेर्नुहोस्, मेरा प्रभु राजाले ठहऱ्याउनुभएको जुनसुकै कुरा गर्नलाई हजुरका दासहरू तयार छौं।” 16 अनि राजा बाहिर निस्के, र उनको सारा घराना उनको पछि-पछि लागे। अनि राजाले घरको देखरेख गर्नलाई दसजना उपपत्नीहरूलाई छोड़िराखे। 17 अनि राजा अघि बढ़े, र सबै मानिसहरू उनको पछि-पछि गए, अनि उनीहरू अन्तिम घरमा अड़िए। 18 अनि उनका सबै नोकरहरू उनको छेउबाट भएर अघि बढ़े; अनि सबै करेतीहरू,ख सबै पलेतीहरूग र गातबाट उनको पछि-पछि जान आएका सबै गित्तीहरू अर्थात् छ सय मानिसहरू राजाको सामुबाट अघि बढ़े।
19 तब राजाले गित्ती इत्तैलाई भने: “तिमी पनि किन हामीसित जान्छौ? फर्केर जाऊ, र राजासित बस; किनकि तिमी परदेशी हौ, साथै आफ्नो देशबाट निकालिएका पनि हौ। 20 किनकि तिमी हिजो मात्र आयौ, तब के आज हामीसित जान म तिमीलाई यताउता डुलिहिँड़्ने तुल्याऊँ? किनभने म जहाँ जान सक्छु, त्यतै जान्छु। फर्क, र आफ्ना दाजुभाइहरूलाई फर्काऊ; करुणा र सत्यता तिम्रा साथमा रहून्!” 21 अनि इत्तैले राजालाई जवाफ दिएर भने: “परमप्रभुको जीवनको शपथ, र मेरा प्रभु राजाको जीवनको शपथ! निश्चय जुन ठाउँमा मेरा प्रभु राजा हुनुहुनेछ, चाहे मृत्युमा, चाहे जीवनमा, त्यहीं हजुरको दास हुनेछ।” 22 तब दाऊदले इत्तैलाई भने: “जाऊ, र अघि बढ़!” अनि गित्ती इत्तै, तिनका सबै मानिसहरू र तिनीसँग भएका सबै बालबच्चाहरू पार गए। 23 अनि सारा देश नै चर्को सोरले रोयो, र सबै मानिसहरू पार गए; अनि राजाले किद्रोन खोला तरे, र सबै मानिसहरू तरेर उजाड़स्थानको बाटोतिर अघि बढ़े। 24 अनि हेर, सादोक पनि, र परमेश्वरको वाचाको सन्दुक बोकिरहेका सबै लेवीहरू तिनीसितै थिए; अनि उनीहरूले परमेश्वरको सन्दुक भुइँमा राखे; अनि सबै मानिसहरू शहरबाट निस्केर पार नहोउन्जेल अबियातार माथि उक्ले। 25 तब राजाले सादोकलाई भने: “परमेश्वरको सन्दुक शहरमा फर्काएर लैजाऊ; मैले परमप्रभुको दृष्टिमा अनुग्रह पाएँ भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ, र त्यो र उहाँको वासस्थान मलाई देखाउनुहुनेछ। 26 तर उहाँले ‘तिमीसित म प्रसन्न छैनँ’ भनी भन्नुभयो भने पनि हेर, म यहीं छु; उहाँलाई जे असल लाग्छ, उहाँले मसित त्यस्तै गरून्!” 27 अनि राजाले पूजाहारी सादोकलाई भने: “के तिमी दर्शी होइनौ र? तिमी शान्तिसित शहरमा फर्क, अनि तिमीहरूसित तिमीहरूका दुईजना छोरा – तिम्रा छोरा अहिमास र अबियातारका छोरा जोनातान पनि! 28 हेर, तिमीहरूबाट मलाई जानकारी दिने खबर नआउन्जेल म उजाड़स्थानका जँघारहरूमा पर्खनेछु।” 29 तब सादोक र अबियातारले परमेश्वरको सन्दुक यरूशलेममा फर्काए; अनि उनीहरू त्यहीं पर्खिबसे।
30 अनि दाऊद जैतुन डाँड़ाको उकालो चढ़े, र रुँदै-रुँदै चढ़िरहे; अनि उनले आफ्नो शिर ढाकेका थिए; अनि उनी नाङ्गो खुट्टै हिँड़्दैथिए; अनि उनीसित भएका सबै मानिसहरूले आ-आफ्नो शिर ढाकेका थिए, र तिनीहरू रुँदै-रुँदै चढ़िरहे। 31 अनि एकजनाले दाऊदलाई यसो भन्यो: “षड़्यन्त्रकारीहरूको बीचमा अहितोपेल पनि अब्शालोमसित छन्।” तब दाऊदले भने: “हे परमप्रभु, म तपाईंलाई विन्ती गर्छु, अहितोपेलको सल्लाह मूर्खतामा परिणत गरिदिनुहोस्!” 32 अनि यस्तो भयो: जब दाऊद त्यस डाँड़ाको टाकुरामा पुगे, जहाँ उनले परमेश्वरलाई दण्डवत् गरे, तब हेर, अरकी हूशै आफ्नो कोट च्यातिएको र शिरमा माटो हालिएको अवस्थामा उनलाई भेट्न आए। 33 अनि दाऊदले तिनलाई भने: “तिमी मसँग अघि बढ़्यौ भने तिमी मेरा निम्ति एउटा भार बन्नेछौ; 34 तर शहर फर्केर तिमीले ‘हे राजा, म तपाईंको दास हुनेछु; जसरी म पहिले तपाईंका पिताको दास भएको थिएँ, त्यसरी नै म अब पनि तपाईंको दास हुनेछु’ भनेर अब्शालोमलाई भन्यौ भने तिमीले मेरा निम्ति अहितोपेलको सल्लाह विफल तुल्याउनेछौ। 35 अनि के पूजाहारीहरू सादोक र अबियातार तिम्रा साथमा छैनन् र? तब यस्तो हुनेछ: राजभवनबाट जे कुरा तिमीले सुन्नेछौ, त्यो तिमीले पूजाहारीहरू सादोक र अबियातारलाई बताइदिनू! 36 हेर, त्यहाँ उनीहरूका दुईजना छोरा – सादोकका छोरा अहिमास र अबियातारका छोरा योनातान – उनीहरूको साथमा छन्, र तिनीहरूद्वारा तिमीहरूले सुनेको हरेक कुरा मलाई पठाउनू!” 37 तब दाऊदका मित्र हूशै शहरमा आइपुगे, र अब्शालोम पनि यरूशलेममा आइपुगे।