अब्शालोम फर्काउने योआबको युक्ति
14
अनि राजाको मन अब्शालोमतर्फ रहेछ भनी सरूयाका छोरा योआबले थाहा पाए। 2 तब योआबले टेकोअमा मानिस पठाएर त्यहाँबाट एउटी बुद्धिमती स्त्रीलाई ल्याए, र तिनलाई भने: “म तिमीलाई विन्‍ती गर्छु, आफूलाई शोक गर्ने स्त्री तुल्याऊ, अनि शोकको वस्त्र पहिर, तर तेल नलगाऊ, तर धेरै समयसम्म आफ्नो मरेका व्यक्तिका निम्ति विलाप गरिरहेकी स्त्रीझैं बन! 3 अनि राजाकहाँ जाऊ, र उहाँलाई यसो-यसो भन!” यसरी योआबले तिनले भन्‍नुपर्ने कुराहरू तिनको मुखमा हालिदिए।
4 अनि टेकोअकी स्त्रीले राजासित कुरा गर्दा तिनले भुइँसम्‍म आफ्नो शिर झुकाएर दण्‍डवत्‌ गरिन् र भनिन्: “गुहार, हे राजा!” 5 अनि राजाले तिनलाई भने: “तिमीलाई के दुःख भयो?” र तिनले जवाफ दिइन्: “साँच्‍चै म एउटी विधवा स्त्री हुँ, र मेरा पति मरिसके। 6 अनि हजुरकी दासीका दुई छोराहरू थिए; अनि ती दुईजनाले कुनै जग्गामा एक-अर्कासँग झगड़ा गरे; अनि त्यहाँ तिनीहरूलाई छुट्‍ट्याउने कोही थिएन; अनि एउटाले अर्कालाई हिर्कायो र उसलाई मार्‍यो। 7 अनि हेर्नुहोस्, तपाईंकी दासीको विरोधमा सारा परिवार उठेको छ, र तिनीहरूले भन्छन्: ‘आफ्नो भाइलाई मार्नेलाई सुम्पिदेऊ, र त्यसले मारेको भाइको प्राणको सट्टामा हामी त्यसलाई मारौं! अनि हामी हकवालालाई पनि नष्‍ट गर्नेछौं’; अनि यसरी तिनीहरूले मेरो बाँकी रहेको कोइला पनि निभाउनेछन्, र मेरा पतिका निम्ति यस पृथ्वीमा न नाम राखिदिनेछन्, न सन्तान।”
8 अनि राजाले ती स्त्रीलाई भने: “आफ्नो घरमा जाऊ, अनि म तिम्रो विषयमा आज्ञा दिनेछु।” 9 अनि टेकोअकी ती स्त्रीले राजालाई भनिन्: “हे मेरा प्रभु राजा, अपराध ममाथि र मेरा बुबाको घरमाथि परोस्; तर राजा र उहाँको सिंहासन निर्दोष रहून्!” 10 अनि राजाले भने: “हरेक जसले तिमीसित केही कुरा गर्छ, त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि छुनेछैन।” 11 तब तिनले भनिन्: “म विन्‍ती गर्छु, राजाले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्झना गरून्, कि रगतको बदला लिनेले अझ नाश गर्न नपाओस्; नत्र ता तिनीहरूले मेरो छोरालाई नष्‍ट गर्नेछन्।” अनि उनले भने: “परमप्रभुको जीवनको शपथ! तिम्रो छोराको एउटा केशधरि भुइँमा खस्‍नेछैन।”
12 तब ती स्त्रीले भनिन्: “म विन्‍ती गर्छु, हजुरकी दासीले मेरा प्रभु राजासँग एक वचन बोल्न पाओस्!” अनि उनले भने: “भन!” 13 तब ती स्त्रीले भनिन्: “तब परमेश्‍वरको जनहरूको विरोधमा हजुरले किन यस्तो कुरा सोच्‍नुभयो? किनभने राजाले आफ्नो निकालिएको व्यक्तिलाई फर्काएर नल्याउनुहुँदा मानौं एउटा दोषी व्यक्तिले झैं यो कुरा बोल्दै हुनुहुन्छ। 14 किनभने हामी निश्‍चय मर्नैपर्छ, र भुइँमा पोखिएको पानीजस्तै हौं, जो फेरि उठाउन सकिँदैन; तर परमेश्‍वरले प्राण लिनुहुन्‍न; तर उहाँले आफ्नो निकालिएको व्यक्ति आफूबाट ननिकालियोस् भनेर उपायहरू रच्‍नुहुन्छ। 15 यसकारण अहिले म मेरा प्रभु राजालाई यो कुरा भन्‍न आएको कारण यही हो: किनकि मानिसहरूले मलाई डर देखाएका छन्; अनि हजुरकी दासीले भनी: ‘म अब राजासित कुरा गर्नेछु; हुन सक्छ, राजाले आफ्नी दासीको माग पूरा गरिदिनुहुनेछ। 16 किनभने मलाई र मेरो छोरालाई एकसाथ परमेश्‍वरको अधिकारको भागबाट नष्‍ट गर्न खोज्‍ने मानिसको पन्जाबाट आफ्नी दासीलाई छुटकारा दिन राजाले सुन्‍नुहुनेछ।’ 17 त्यसपछि हजुरकी दासीले भनी: ‘मेरा प्रभु राजाको वचन अब मेरो सान्‍त्‍वनाको कारण बनोस्; किनभने असल र खराब छुट्‍ट्याउन मेरा प्रभु राजा परमेश्‍वरका दूतजस्तै हुनुहुन्छ’; यसैले परमप्रभु हजुरका परमेश्‍वर हजुरको साथमा हुनुहुनेछ।”
18 तब राजाले जवाफ दिएर ती स्त्रीलाई भने: “जुन कुरा म तिमीलाई सोध्छु, म विन्‍ती गर्छु, त्यो मबाट नलुकाऊ!” अनि ती स्त्रीले भनिन्: “कृपया मेरा प्रभु राजा बोलिदिऊन्!” 19 अनि राजाले भने: “यो सबै कुरामा के योआबको हात तिमीसित छ?” अनि ती स्त्रीले जवाफ दिएर भनिन्: “हे मेरा प्रभु राजा, हजुरको प्राणको शपथ! मेरा प्रभु राजाले भन्‍नुभएका सबै कुराहरूदेखि कोही पनि दाहिने वा देब्रेतिर लाग्‍न सक्दैन; किनकि हजुरका दास योआबले नै मलाई आज्ञा गरे, र उनैले यी सबै कुराहरू हजुरकी दासीको मुखमा हालिदिएका हुन्। 20 त्यस कुरामा परिवर्तन ल्याउनलाई हजुरका दास योआबले यो कुरा गरेका हुन्; अनि पृथ्वीमा भएका सबै कुराहरू जान्‍नलाई परमेश्‍वरका दूतको बुद्धिअनुसार मेरा प्रभु बुद्धिमान् हुनुहुन्छ।”
21 तब राजाले योआबलाई भने: “अब हेर! मैले यो कुरा गरेको छु; यसैले जाऊ, त्यो जवान मानिस अब्शालोमलाई फर्काएर ल्याऊ!” 22 अनि योआबले भुइँसम्‍म आफ्नो शिर झुकाए, दण्‍डवत्‌ गरे, र राजालाई धन्यवाद चढ़ाए; अनि योआबले भने: “हे मेरा प्रभु राजा, राजाले आफ्नो दासको माग पूर्ण गरिदिनुभएकोमा मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छु भनी आज तपाईंको दासले थाहा पाएको छ।” 23 तब योआब उठेर गशूरमा गए र अब्शालोमलाई यरूशलेममा ल्याए। 24 अनि राजाले भने: “त्यो आफ्नै घरतिर लागोस्, र मेरो मुख नदेखोस्!” तब अब्शालोम आफ्नो घरतिर लागे, र राजाको मुख देखेनन्।
25 तर सम्पूर्ण इस्राएलभरि अब्शालोमजस्तो धेरै प्रशंसा गर्न लायकको सुन्दर अरू कोही थिएन; तिनको खुट्टाको पाइतालादेखि तिनको शिरको थाप्लोसम्म तिनमा कुनै दाग थिएन। 26 अनि जब तिनले आफ्नो शिरको केश खौरन्थे, (किनकि प्रत्येक वर्षको अन्तमा तिनले त्यो खौरने गर्थे; किनभने तिनको केश तिनका निम्ति भारी हुन्थ्यो; यसैले तिनले खौरने गर्थे), तब तिनले आफ्नो शिरको केश तौलँदा त्यसको वजन राजाको तौलअनुसार दुई सय शेकेल हुन्थ्यो। 27 अनि अब्शालोमका तीनजना छोराहरू र एकजना छोरी जन्मे, जसको नाम तमार थियो; उनी एक सुन्दरी स्त्री थिइन्।
राजा दाऊदसँग अब्शालोमको भेट
28 अनि अब्शालोम यरूशलेममा पूरा दुई वर्ष बसे, र राजाको मुख देखेका थिएनन्। 29 यसकारण अब्शालोमले योआबलाई, उनलाई राजाकहाँ पठाउन भनी बोलाए, तर उनी तिनीकहाँ आउन चाहेनन्; अनि जब तिनले दोस्रो पल्ट पठाए, तब पनि उनी आउन चाहेनन्। 30 यसैले तिनले आफ्ना नोकरहरूलाई भने: “हेर, योआबको बारी मेरो बारीको नजिकै छ, र त्यहाँ तिनको जौ छ; जाओ, त्यसमा आगो लगाइदेओ!” तब अब्शालोमका नोकरहरूले त्यस बारीमा आगो लगाइदिए। 31 तब योआब उठेर अब्शालोमकहाँ तिनको घरमा गए, र तिनलाई भने: “तपाईंका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए?” 32 अनि अब्शालोमले योआबलाई जवाफ दिए: “हेर, ‘म किन गशूरबाट आएँ? मलाई त अझ त्यहीं रहनु नै असल हुनेथियो’ भन्‍न म तिमीलाई राजाकहाँ पठाउन सकूँ भनी मैले यहाँ आऊ भन्दै तिमीकहाँ पठाएको हुँ; यसकारण अब मलाई राजाको मुख हेर्न देऊ; र ममा केही अधर्म छ भने उहाँले मलाई मारून्!” 33 तब योआब राजाकहाँ गए, र उनलाई यो कुरा सुनाए; अनि जब उनले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ गए, र राजाको सामु भुइँसम्‍म आफ्नो शिर झुकाएर दण्‍डवत्‌ गरे; अनि राजाले अब्शालोमलाई चुम्बन गरे।