अम्‍नोन र तामार
13
अनि त्यसपछि यस्तो भयो: दाऊदका छोरा अब्शालोमकी एउटी सुन्दरी बहिनी थिइन्, जसको नाम तामार थियो; दाऊदका छोरा अम्‍नोनले उनलाई प्रेम गर्थे। 2 अनि अम्‍नोन यति व्याकुल भए कि आफ्नी बहिनी तामारको खातिर तिनी बिरामी भए; किनभने उनीचाहिँ कन्या थिइन्; अनि उनीसित केही गर्न अम्‍नोनलाई गाह्रो पर्‍यो 3 तर अम्‍नोनका एकजना साथी थिए, जसको नाम योनादाब थियो, जो दाऊदका दाजु शिमेअका छोरा थिए; अनि योनादाब साह्रै धूर्त मानिस थिए। 4 अनि उनले तिनलाई भने: “राजाको छोरा भएर पनि तिमी किन दिनदिनै दुब्लाउँदै जान्छौ? के तिमीले मलाई बताउँदैनौ?” अनि अम्‍नोनले उनलाई भने: “म मेरो भाइ अब्शालोमकी बहिनी तामारलाई प्रेम गर्छु।” 5 अनि योनादाबले तिनलाई भने: “आफ्नो पलङमा सुत, र बिरामी भएको बहाना गर! अनि जब तिम्रा बुबा तिमीलाई हेर्न आउनुहुन्छ, तब उहाँलाई भन: ‘म तपाईंलाई विन्‍ती गर्दछु, मेरी बहिनी तामार आएर मलाई भोजन खुवाऊन्, र मेरै सम्मुख खानेकुरा तयार गरून्, र म यो देख्‍न सकूँ, र उनकै हातबाट खान पाऊँ!” 6 तब अम्‍नोन सुते, र बिरामी भएको बहाना गरे; अनि जब राजा तिनलाई हेर्न आए, तब अम्‍नोनले राजालाई भने: “म तपाईंलाई विन्‍ती गर्छु, मेरी बहिनी तामार आएर मेरै सम्मुख दुईवटा रोटी बनाऊन्, र म उनकै हातबाट खान पाऊँ!”
7 तब दाऊदले घरमा तामारकहाँ यस्तो खबर पठाए: “तिम्रा दाजु अम्‍नोनको घरमा जाऊ ल, र तिनका निम्ति खानेकुरा तयार गरिदेऊ!” 8 तब तामार आफ्ना दाजु अम्‍नोनको घरमा गइन्; अनि तिनीचाहिँ सुतिरहेका थिए। अनि उनले पीठो लिएर मुछिन्, तिनको सम्मुख रोटीहरू बनाइन् र ती रोटीहरू पकाइन्। 9 अनि उनले त्यो तवा लिइन् र तिनको सामु तिनलाई खन्याइदिइन्; तर तिनले खान मानेनन्। अनि अम्‍नोनले भने: “सबै मानिसहरूलाई मबाट बाहिर पठाइदेओ!” अनि तिनीहरू हरेक तिनीबाट बाहिर गए। 10 तब अम्‍नोनले तामारलाई भने: “त्यो खानेकुरा त्यस भित्री कोठाभित्र ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ!” अनि तामारले आफूले बनाएका रोटीहरू लिइन् र तिनलाई त्यस कोठाभित्र आफ्ना दाजु अम्‍नोनकहाँ पुर्‍याइन्। 11 जब उनले ती रोटी तिनले खाऊन् भनेर तिनीकहाँ ल्याइपुर्‍याइन्, तब तिनले उनलाई समाते, र उनलाई भने: “मेरी बहिनी, आऊ, मसित सुत!” 12 तर उनले तिनलाई जवाफ दिइन्: “होइन, मेरा दाज्यू, मलाई जबरजस्‍त नगर्नुहोस्; किनकि इस्राएलमा यस्तो काम गर्नुहुँदैन; तपाईंले यस्तो मूर्खता नगर्नुहोस्! 13 अनि मचाहिँ – म मेरो शर्मलाई कहाँ लूकाऊँ? अनि तपाईंचाहिँ इस्राएलमा मूर्खहरूमध्ये एक ठहरिनुहुनेछ। यसकारण अब, म तपाईंलाई विन्‍ती गर्छु, राजासित कुरा गर्नुहोस्; किनकि उहाँले तपाईंबाट मलाई रोकेर राख्‍नुहुनेछैन।” 14 तरै पनि तिनले उनको कुरा सुन्‍न चाहेनन्; तर उनीभन्दा बलिया भएका हुनाले तिनले उनलाई जबरजस्‍त गरे, र उनीसित सुते।
15 त्यसपछि अम्‍नोनले उनलाई साह्रै घृणा गरे, यस्तो घृणा गरे कि तिनले उनलाई गरेको त्यो घृणाचाहिँ तिनले उनलाई गरेको प्रेमभन्दा बढ़ी थियो। अनि अम्‍नोनले उनलाई भने: “उठ्, गइहाल्!” 16 तब उनले तिनलाई भनिन्: “नाइँ, यसो गर्ने कुनै कारणै छैन; तपाईंले मलाई निकालिदिएर जुन दुष्‍टता गर्दै हुनुहुन्छ, त्योचाहिँ तपाईंले पहिले मसित जे खराबी गर्नुभयो, त्यसभन्दा ठूलो छ।” तर तिनले उनको कुरा सुन्‍न चाहेनन्। 17 तब तिनले तिनको सेवा गर्ने आफ्नो नोकरलाई बोलाएर भने: “अब यस स्त्रीलाई मबाट बाहिर निकालिदे, र त्यसको पछि दैलोमा आग्लो लगाइदे!” 18 अनि उनले रङ्गबिरङ्गको वस्त्र ओढ़ेकी थिइन्; किनकि राजाका छोरीहरूले, जो कन्या हुन्थे, यस्तै वस्त्रहरू ओढ़्थे। तब तिनको नोकरले उनलाई बाहिर निकालिदियो र उनको पछि दैलोमा आग्लो लगाइदियो। 19 अनि तामारले आफ्नो शिरमा खरानी हालिन्, आफूले ओढ़ेको रङ्गबिरङ्गको आफ्नो वस्त्र च्यातिन्, र आफ्नो हात आफ्नो शिरमाथि राखेर चिच्च्याउँदै र हिँड़्‍दै गइन्।
20 अनि उनका दाजु अब्शालोमले उनलाई भने: “के तिम्रा दाजु अम्‍नोन तिमीसित थिए? तर अब मेरी बहिनी, चुप लाग! तिनीचाहिँ तिम्रा दाजु हुन्; यस कुरामा आफ्नो मन नलगाऊ!” तब तामार आफ्ना दाजु अब्शालोमको घरमा उजाड़ भएर बसिन्। 21 अनि जब राजा दाऊदले यी सबै कुराहरू सुने, तब उनी साह्रै रिसाए। 22 अनि अब्शालोमले आफ्ना दाजु अम्‍नोनलाई असल वा खराब केही भनेनन्; किनकि अम्‍नोनले अब्शालोमकी बहिनी तामारलाई जबरजस्‍त गरेका हुनाले अब्शालोमले तिनलाई घृणा गर्थे।
अम्‍नोनको हत्या
23 अनि पूरा दुई वर्ष बितेपछि यस्तो भयो: अब्शालोमका ऊन कत्रनेहरू बाल-हसोरमा थिए, जो एप्रैमको नजिकैमा छ। अनि अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। 24 अनि अब्शालोम राजाकहाँ आएर भने: “अब हेर्नुहोस्, तपाईंको दासका ऊन कत्रनेहरू छन्; म तपाईंलाई विन्‍ती गर्छु, राजा र राजाका दासहरू आफ्नो दासको साथमा जानुहोस्!” 25 तब राजाले अब्शालोमलाई भने: “होइन, मेरा छोरा, हामी सबैजना नजाऔं ल; नत्र हामी तिम्रा निम्ति भारको कारण बन्‍नेछौं।” अनि तिनले उनलाई कर गरे; तरै पनि उनले जान मानेनन्, तर उनले तिनलाई आशीर्वाद दिए। 26 तब अब्शालोमले भने: “होइन भने म तपाईंलाई विन्‍ती गर्दछु, मेरा दाजु अम्‍नोन हामीसित जाऊन्!” अनि राजाले तिनलाई भने: “उनी तिमीसित किन जाने?” 27 तर अब्शालोमले उनलाई कर गरे; तब उनले अम्‍नोन र राजाका सबै छोराहरूलाई तिनीसँगै जान दिए
28 अनि अब्शालोमले आफ्ना नोकरहरूलाई यसो भन्‍ने आज्ञा गरेका थिए: “जब अम्‍नोनको मन दाखमद्यले प्रफुल्‍लित हुन्छ, त्यो ख्याल राख न! र जब म तिमीहरूलाई ‘अम्‍नोनलाई प्रहार गर!’ भन्छु, तब उसलाई मार! नडराओ! के मैले तिमीहरूलाई आज्ञा दिएको छैनँ र? साहसी होओ र शूरवीर होओ!” 29 अनि अब्शालोमका नोकरहरूले अब्शालोमले आज्ञा गरेझैं अम्‍नोनलाई गरे। तब राजाका सबै छोराहरू उठे, र उनीहरू हरेक आ-आफ्नो खच्‍चरमा चढ़ेर भागे।
30 अनि यस्तो भयो: उनीहरू बाटैमा हुँदा दाऊदकहाँ यसो भन्‍ने खबर पुग्यो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे, र उनीहरूमध्ये एकैजना पनि छोड़िएका छैनन्।” 31 तब राजा उठे, आफ्ना लुगा च्याते र भुइँमा पस्रिए; अनि उनका सबै नोकरहरू आफ्ना लुगाहरू च्यातेर उनको छेउमा उभिए। 32 अनि दाऊदका दाजु शिमेअका छोरा योनादाबले जवाफ दिएर भने: “तिनीहरूले सबै जवानहरूलाई अर्थात् राजाका छोराहरूलाई मारेका छन् भनी मेरा प्रभुले नठान्‍नुहोला; किनभने अम्‍नोन मात्र मरेका छन्; किनकि तिनले उनकी बहिनी तामारलाई जबरजस्‍त गरेको दिनदेखि नै अब्शालोमको आज्ञाद्वारा यो कुरा ठहऱ्याइएको थियो। 33 यसकारण अब मेरा प्रभु राजाले राजाका सबै छोराहरू मरेका छन् भन्‍ने कुरा मनमा नलिनुहोस्; किनभने अम्‍नोन मात्र मरेका छन्।”
34 तर अब्शालोम भागे। अनि त्यो पहरा बस्‍ने जवान मानिसले आफ्ना आँखाहरू उठाएर हेर्‍यो; अनि हेर, उसको पछिल्तिर पहाड़को पाखैपाखा भएर बाटोमा धेरै मानिसहरू आइरहेका थिए। 35 अनि योनादाबले राजालाई भने: “हेर्नुहोस्, राजाका छोराहरू आउँदैछन्। तपाईंको दासले जस्तो भन्यो, त्यस्तै रहेछ।” 36 अनि यस्तो भयो: तिनले बोलिसक्नेबित्तिकै हेर, राजाका छोराहरू आइपुगे; अनि उनीहरू आफ्नो सोर उचालेर रोए; राजा पनि, र उनका सबै नोकरहरू अति ठूलो रुवाइले रोए।
37 तर अब्शालोम भागेर गशूरका राजा अम्मिहूदका छोरा तल्मैकहाँ गए। अनि दाऊद हरेक दिन आफ्ना छोराका निम्ति विलाप गर्थे। 38 यसरी अब्शालोम भागेर गशूर गए, र त्यहाँ तीन वर्ष बसे। 39 अनि राजा दाऊदको मनले अब्शालोमकहाँ जाने तिर्सना गरिरहेको थियो; किनकि अम्‍नोनको विषयमा उनले सान्‍त्‍वना पाएका थिए; किनभने तिनी मरिसकेका थिए।