दाऊद र बतशेबा
11
अनि त्यो वर्ष बितेपछि, राजाहरू लड़ाइँमा निस्केको बेलामा यस्तो भयो: दाऊदले योआबलाई, अनि तिनको साथमा आफ्ना नोकरहरू र सारा इस्राएललाई पठाए; अनि उनीहरूले अम्मोनीहरूलाई नष्‍ट गरे, र रब्बालाई घेरामा हाले; तर दाऊद यरूशलेममा बसिरहे।
2 अनि एक साँझ यस्तो भयो: दाऊद आफ्नो पलङबाट उठे, र राजभवनको कौसीमाथि घुम्‍न लागे; अनि माथि त्यस कौसीबाट उनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे; र ती स्त्री हेर्दा साह्रै सुन्दरी थिइन्। 3 अनि दाऊदले ती स्त्रीको विषयमा जानकारी लिन पठाए। अनि कसैले भन्यो: “के यिनी एलिआमकी छोरी, हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन् र?” 4 तब दाऊदले दूतहरू पठाए, र तिनलाई ल्याए; अनि तिनी उनीकहाँ आइन्, र उनी तिनीसँग सुते; किनकि तिनी आफ्नो अशुद्धताबाट शुद्ध भएकी थिइन्; अनि तिनी आफ्नो घर फर्किन्। 5 अनि ती स्त्री गर्भवती भइन्, र दाऊदकहाँ पठाएर भनिन्: “म गर्भवती भएकी छु।”
6 तब दाऊदले योआबकहाँ यस्तो खबर पठाए: “हित्ती उरियाहलाई मकहाँ पठाइदेऊ!” अनि योआबले उरियाहलाई दाऊदकहाँ पठाए। 7 अनि जब उरियाह दाऊदकहाँ आए, तब उनले योआबको अवस्था र मानिसहरूको अवस्था कस्तो छ, अनि लड़ाइँ कसरी चल्दैछ भनी सोधे। 8 अनि दाऊदले उरियाहलाई भने: “तल आफ्नो घरमा जाऊ, र आफ्ना पाउहरू धोऊ!” अनि उरियाह राजभवनबाट निस्केर गए; अनि तिनको पछि-पछि राजाकहाँबाट केही खानेकुरा पठाइयो। 9 तर उरियाह राजभवनको ढोकामा आफ्ना मालिकका सबै नोकरहरूसँग सुते, र तल आफ्नो घरमा गएनन्। 10 अनि जब तिनीहरूले उरियाह तल आफ्नो घरमा गएनन् भनी दाऊदलाई बताइदिए, तब दाऊदले उरियाहलाई भने: “के तिमी यात्राबाट आएका होइनौ र? तब तिमी किन तल आफ्नो घरमा गएनौ?” 11 तब उरियाहले दाऊदलाई भने: “सन्दुक, साथै इस्राएल र यहूदा पालहरूमा बस्छन्; अनि मेरा मालिक योआब, र मेरा मालिकका दासहरू खुला मैदानमा पाल टाँगेर बसेका छन्; तब के मचाहिँ खान-पिन गर्न र मेरी पत्‍नीसित सुत्‍न आफ्नो घरमा जाऊँ? तपाईंको जीवनको शपथ र तपाईंको प्राणको शपथ! म यसो गर्नेछैनँ।” 12 अनि दाऊदले उरियाहलाई भने: “आज पनि यहीं बस, र भोलि म तिमीलाई बिदा दिनेछु।” तब उरियाह त्यस दिन र भोलिपल्ट यरूशलेममा बसे। 13 अनि दाऊदले तिनलाई बोलाए; अनि तिनले उनको सामु खाए र पिए; अनि उनले तिनलाई मताए; अनि साँझमा तिनी आफ्ना मालिकका नोकरहरूको साथमा आफ्नो ओछ्यानमा सुत्‍न निस्के, तर तल आफ्नो घरमा गएनन्।
14 अनि बिहान यस्तो भयो: दाऊदले योआबलाई एउटा चिट्ठी लेखे र त्यो उरियाहकै हातमा पठाइदिए। 15 अनि त्यस चिट्ठीमा उनले यसो लेखे: “उरियाहलाई घमासान लड़ाइँको मुखमा सबभन्दा अघिल्‍लो पङ्क्तिमा राखिदेओ, र तिमीहरूचाहिँ ऊदेखि पछि हट, र ऊचाहिँ प्रहार गरियोस् र मरोस्!” 16 अनि यस्तो भयो: जब योआबले त्यस शहरको निरीक्षण गरे, तब तिनले उरियाहलाई त्यस ठाउँमा खटाए, जहाँ शूरवीर मानिसहरू छन् भनी तिनले जानेका थिए। 17 अनि त्यस शहरका मानिसहरू बाहिर निस्केर योआबसित लड़ाइँ गरे; अनि दाऊदका नोकरहरूमध्ये कति मानिसहरू मारिए; अनि हित्ती उरियाह पनि मरे। 18 तब योआबले मानिस पठाए, र दाऊदलाई लड़ाइँको विषयमा सबै कुराहरू बताए; 19 र यसो भन्दै दूतलाई आज्ञा दिए: “जब तिमीले राजालाई लड़ाइँको विषयमा सबै कुरा बताइसक्छौ, 20 तब यस्तो होस्: राजाको क्रोध दन्कियो भने, र उनले ‘लड़ाइँ गर्दा तिमीहरू त्यस शहरको यति नजिक किन गयौ? तिनीहरूले माथि पर्खालबाट हान्छन् भनेर के तिमीहरूलाई थाहा थिएन र? 21 यरूब्बेशेतका छोरा अबिमेलेकलाई कसले मार्‍यो? के एउटी स्त्रीले माथि पर्खालबाट एउटा जाँतोको फग्लेंटो तिनीमाथि खसालेकीले तिनी तेबेसमा मरेनन् र? तिमीहरू किन पर्खालको नजिक गयौ?’ भन्दै तिमीलाई भने भने तिमीले यसो भन: तपाईंको दास हित्ती उरियाह पनि मरे।”
22 तब त्यो दूत गयो, र आएर योआबले उसलाई जे भन्‍न पठाएका थिए, ती सबै कुरा दाऊदलाई बताइदियो। 23 अनि दूतले दाऊदलाई भन्यो: “ती मानिसहरू हामीमाथि प्रबल भए, र मैदानमा हामीकहाँ निस्केर आए; तर हामीले तिनीहरूलाई पेल्दै-पेल्दै मूलढोकाको प्रवेशद्वारसम्मै लग्यौं। 24 तब माथि पर्खालबाट ती धनुर्धारीहरूले तपाईंका दासहरूमाथि हाने; अनि राजाका कति दासहरू मरे, र तपाईंका दास हित्ती उरियाह पनि मरे।” 25 तब दाऊदले त्यस दूतलाई भने: “तिमीले योआबलाई यसो भन्‍नू: ‘यो कुरा तिमीलाई खराब नलागोस्; किनकि जसरी तरवारले एउटालाई निल्छ, त्यसरी नै अर्कालाई पनि निल्छ; त्यस शहरको विरोधमा आफ्नो लड़ाइँ बलियो पार, र त्यसलाई पल्टाइदेऊ!’; यसरी तिनलाई उत्साह देऊ!”
26 अनि जब उरियाहकी पत्‍नीले आफ्नो पति उरियाह मरेका सुनिन्, तब तिनले आफ्ना पतिका निम्ति विलाप गरिन्। 27 अनि जब विलापको समय पूरा भयो, तब दाऊदले मानिस पठाए, र तिनलाई आफ्नो घरमा ल्याए; अनि तिनी उनकी पत्‍नी भइन्, र उनका निम्ति एउटा छोरा जन्माइन्। तर दाऊदले गरेको त्यो कुरा परमप्रभुलाई खराब लाग्यो।