अम्मोनीहरूद्वारा दाऊदका नोकरहरूको अपमान
10
अनि त्यसपछि यस्तो भयो: अम्मोनीहरूका राजा मरे, र तिनका छोरा हानूनले तिनको सट्टामा राज्य गरे। 2 तब दाऊदले भने: “म नाहाशका छोरा हानूनलाई, तिनका बुबाले मलाई दया देखाएझैं दया देखाउनेछु।” अनि दाऊदले आफ्ना नोकरहरूको हातद्वारा तिनका बुबाको विषयमा तिनलाई सान्‍त्‍वना दिन पठाए। अनि दाऊदका नोकरहरू अम्मोनीहरूको देशमा आए। 3 अनि अम्मोनीहरूका शासकहरूले आफ्ना मालिक हानूनलाई भने: “के दाऊदले तपाईंकहाँ सान्‍त्‍वना दिनेहरू पठाएर तपाईंका पितालाई आदर गरेको हो भन्‍ने तपाईंलाई लाग्दैछ? दाऊदले त यस शहरको खोजतलाश गर्न, यसको जासुस गर्न र यसलाई पल्टाउन भनी आफ्ना नोकरहरूलाई तपाईंकहाँ पठाएको होइन र?” 4 यसैले हानूनले दाऊदका नोकरहरूलाई पक्रे, तिनीहरूका आधा-आधा दाह्री खौरिदिए, तिनीहरूका लुगाहरू बीचैमा, तिनीहरूका चाकसम्‍मै काटिदिए र तिनीहरूलाई पठाइदिए। 5 जब तिनीहरूले यो कुरा दाऊदलाई बताए, तब उनले तिनीहरूलाई भेट्न पठाए; किनकि ती मानिसहरू शर्मले भुतुक्‍कै भएका थिए; अनि राजाले भने: “तिमीहरूका दाह्री नबढुन्जेल यरिहोमा बस, त्यसपछि फर्क!”
अम्मोनीहरू र अरामीहरूसितको लड़ाइँ
6 अनि जब अम्मोनीहरूले दाऊदको सामु आफू घृणित बनेका देखे, तब अम्मोनीहरूले मानिस पठाएर अरामी बेत-रहोब र अरामी जोबाहका बीस हजार पैदल सिपाहीलाई, साथै माकाका राजाका एक हजार मानिसलाई र इश्तोबका बाह्र हजार मानिसलाई भाड़ामा लिए। 7 अनि जब दाऊदले यो कुरा सुने, तब उनले योआबलाई शक्तिशाली मानिसहरूको सारा सेनाको साथ पठाए। 8 अनि अम्मोनीहरू निस्केर आए, अनि मूलढोकाको प्रवेशद्वारमा लड़ाइँका निम्ति मोर्चा बाँधे; अनि जोबाह र रहोबका अरामीहरू, अनि इश-तोब र माकाका मानिसहरू अलग्गै मैदानमा थिए।
9 जब योआबले आफ्नो विरोधमा आफ्नो अघिल्तिर र पछिल्तिर लड़ाइँ-व्यूह भएको देखे, तब तिनले इस्राएलका सबै चुनिएका मानिसहरूबाट कतिलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरोधमा मोर्चा बाँधे। 10 अनि बाँकी मानिसहरूलाई तिनले आफ्नो भाइ अबिशैको हातमा, उनले तिनीहरूलाई अम्मोनीहरूको विरोधमा मोर्चा बाँधून् भनेर सुम्पिदिए। 11 अनि तिनले भने: “अरामीहरू मभन्दा बलिया भए भने तिमीले मलाई सहायता गर्नू; तर अम्मोनीहरू तिमीभन्दा बलिया भए भने म आएर तिमीलाई सहायता गर्नेछु। 12 साहसी होऊ, र हाम्रा मानिसहरूका निम्ति र हाम्रा परमेश्‍वरका शहरहरूका निम्ति हामी वीरता देखाऔं; अनि परमप्रभुले उहाँलाई जे असल लाग्छ, त्यही गरून्!” 13 अनि योआब र तिनीसँग भएका मानिसहरू अरामीहरूको विरोधमा लड़ाइँ गर्न नजिक गए; अनि तिनीहरू तिनको सामुबाट भागे। 14 अनि जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि अबिशैको सामुबाट भागे, र त्यस शहरभित्र पसे। तब योआब अम्मोनीहरूकहाँबाट फर्केर यरूशलेममा आए।
15 अनि जब अरामीहरूले इस्राएलको सामु आफू हारेको देखे, तब तिनीहरू एकसाथ भेला भए। 16 अनि हदद-एजेरले मानिस पठाए, र त्यस नदीपारिका अरामीहरूलाई निकालेर ल्याए; अनि तिनीहरू हेलाममा आए; अनि हदद-एजेरका सेनापति शोबकचाहिँ तिनीहरूको अघि थिए। 17 अनि जब दाऊदलाई यो कुरा सुनाइयो, तब उनले सारा इस्राएललाई भेला गरे, यर्दन पार गरे र हेलाममा आइपुगे। अनि अरामीहरूले दाऊदको विरोधमा मोर्चा बाँधे र उनीसँग लड़ाइँ गरे। 18 तर अरामीहरू इस्राएलको सामुबाट भागे, अनि दाऊदले अरामीहरूका सात सय रथहरू र चालीस हजार घोड़चढ़ीहरूलाई मारे, साथै तिनीहरूको सेनापति शोबकलाई पनि प्रहार गरे, र तिनी त्यहीं मरे। 19 अनि जब हदद-एजेरको अधीनतामा भएका ती सबै राजाहरूले इस्राएलको अघि आफू हारेको देखे, तब तिनीहरूले इस्राएलसित मेलमिलाप राखे र उनीहरूको सेवा गरे। तब अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए।