मेपिबोशेतमाथि दाऊदको दया
9
अनि दाऊदले भने: “के शाऊलको घरानामा अझ कोही बाँकी छ, जसलाई म योनातानको खातिर दया देखाउन सकूँ?” 2 शाऊलको घरानामा एकजना जिबा नाम भएको नोकर थियो। अनि जब तिनीहरूले उसलाई दाऊदकहाँ बोलाए, तब राजाले उसलाई भने: “के तँ जिबा होस्‌?” अनि उसले भन्यो: “तपाईंको दास उही हो।” 3 तब राजाले भने: “के शाऊलको घरानामा अझ कोही बाँकी छैन, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” अनि जिबाले राजालाई भन्यो: “योनातानका अझै एकजना छोरा छन्, जसका खुट्टाहरू लङ्गड़ा छन्।” 4 अनि राजाले उसलाई भने: “तिनी कहाँ छन्?” अनि जिबाले राजालाई भन्यो: “हेर्नुहोस्, तिनी लोदेबारमा अम्मिएलका छोरा माकीरको घरमा छन्।”
5 तब राजा दाऊदले पठाएर तिनलाई लोदेबारबाट, अम्मिएलको छोरा माकीरको घरबाट ल्याए। 6 जब योनातानका छोरा अर्थात् शाऊलका नाति मेपिबोशेत दाऊदकहाँ आइपुगे, तब तिनले भुइँमा आफ्नो अनुहार टेकाएर दण्‍डवत्‌ गरे। अनि दाऊदले भने: “मेपिबोशेत!” अनि तिनले जवाफ दिए: “हेर्नुहोस्, तपाईंको दास हाजिर छ!” 7 अनि दाऊदले तिनलाई भने: “नडराऊ; किनभने निश्‍चय तिम्रा बुबा योनातानको खातिर म तिमीलाई दया देखाउनेछु, र तिमीलाई तिम्रा पिता शाऊलको सबै जग्गा-जमिन फर्काइदिनेछु; अनि तिमीले चाहिँ मेरो टेबलमा लगातार भोजन गर्नेछौ।” 8 अनि तिनले दण्‍डवत्‌ गरे, र भने: “तपाईंको दास को हो, र तपाईंले मजस्तो मरेको कुकुरमाथि कृपादृष्‍टि राख्‍नुहुन्छ?”
9 तब राजाले शाऊलको नोकर जिबालाई बोलाए, र उसलाई भने: “शाऊल र उनको सारा घरको सबै सम्पत्ति मैले तेरा मालिकका छोरालाई दिएको छु। 10 यसकारण तँ, तेरा छोराहरू र तेरा नोकरहरूले तिनका निम्ति जमिन खनजोत गर्नू, र तैंले त्यसका फलहरू भित्र्याउनू, र तेरा मालिकका छोराका निम्ति खानलाई भोजन होस्; तर तेरा मालिकका छोरा मेपिबोशेतले चाहिँ सधैं मेरो टेबलमा भोजन गर्नेछन्।” अनि जिबाका पन्ध्रजना छोरा र बीसजना नोकर थिए। 11 तब जिबाले राजालाई भन्यो: “मेरा प्रभु राजाले आफ्नो दासलाई आज्ञा गर्नुभएको सबै कुराअनुसार तपाईंको दासले गर्नेछ।” राजाले भने: “अनि मेपिबोशेतले चाहिँ राजाका छोराहरूमध्ये एकजनाले झैं मेरो टेबलमा खानेछन्।” 12 अनि मेपिबोशेतको एकजना सानो छोरा थियो, जसको नाम मीका थियो। अनि जिबाको घरमा बस्‍ने सबैजना मेपिबोशेतका नोकरहरू थिए। 13 यसरी मेपिबोशेत यरूशलेममा बसे; किनभने तिनले लगातार राजाको टेबलमा खाने गर्थे; अनि तिनी आफ्ना दुवै खुट्टामा लङ्गड़ा थिए।