इस्राएलको राजाको माग
8
अनि यस्तो भयो: जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता बनाए। 2 अनि तिनको जेठा छोराको नाम योएल थियो; अनि तिनको माहिलाको नाम अबियाह थियो। अनि तिनीहरू बेरशेबामा न्यायकर्ता थिए। 3 अनि तिनका छोराहरू तिनका चालमा हिँड़ेनन्, तर रुपियाँ-पैसाको लाभतिर लागे, घूस लिन्थे र न्याय बिगार्ने गर्थे। 4 तब इस्राएलका सबै बूढ़ा प्रधानहरू भेला भए, र रामामा शमूएलकहाँ आए; 5 अनि उनीहरूले तिनलाई भने: “हेर्नुहोस्, तपाईं वृद्ध हुनुहुन्छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड़्दैनन्; अब अरू सबै देशहरूजस्तै हाम्रो न्याय गर्नलाई हाम्रा निम्ति एकजना राजा नियुक्त गर्नुहोस्!” 6 तर जब उनीहरूले ‘हामीलाई हाम्रो न्याय गरिदिने राजा दिनुहोस्’ भने, तब यस कुराले शमूएल दुःखित भएक; अनि शमूएलले परमप्रभुलाई प्रार्थना गरे। 7 अनि परमप्रभुले शमूएललाई भन्नुभयो: “मानिसहरूले तिमीलाई भनेका सबै कुराहरूको सम्बन्धमा तिनीहरूको कुरा मानख; किनभने तिनीहरूले तिमीलाई रद्द गरेका होइनन्, तर मैले तिनीहरूमाथि शासन नगरूँ भनी मलाई पो रद्द गरेका हुन्। 8 मैले तिनीहरूलाई मिस्रबाट निकालेर ल्याएको दिनदेखि आजको दिनसम्म तिनीहरूले जे गरेका छन्, ती सबै कामअनुसार तिनीहरूले जसरी मलाई त्यागेका छन् र अरू देवताहरूको पूजा गरेका छन्, त्यसरी नै तिनीहरूले तिमीसित पनि गर्दैछन्। 9 यसकारण अब तिनीहरूको कुरा मानख; तैपनि तिनीहरूलाई गम्भिरतासँग चेताउनी देऊ, र तिनीहरूमाथि राज्य गर्ने राजाको नियम कस्तो हुन्छ, तिनीहरूलाई बताइदेऊ!”10 तब शमूएलले आफूबाट राजा माग्ने मानिसहरूलाई परमप्रभुका सबै वचनहरू बताइदिए। 11 अनि तिनले भने: “तिमीहरूमाथि राज्य गर्ने राजाको नियम यस प्रकारको हुनेछ: उनले तिमीहरूका छोराहरू लिएर तिनीहरूलाई आफ्ना निम्ति, आफ्ना रथहरूका निम्ति र आफ्ना घोड़चढ़ीहरूको रूपमा नियुक्त गर्नेछन्; अनि कतिचाहिँ उनको रथको अघि-अघि दगुर्नेछन्। 12 अनि उनले आफ्ना निम्ति हजारौंमाथिका कप्तानहरू र पचासौंमाथिका कप्तानहरू नियुक्त गर्नेछन्; अनि उनले तिनीहरूलाई आफ्नो बारी जोत्न र कटनी गर्न, साथै आफ्ना लड़ाइँका हतियारहरू र आफ्ना रथहरूका हतियारहरू बनाउन नियुक्त गर्नेछन्। 13 अनि तिमीहरूका छोरीहरूलाई लिएर उनले अत्तर बनाउने, भान्से र रोटी पकाउनेहरू तुल्याउनेछन्। 14 अनि उनले तिमीहरूका खेतबारीहरू, तिमीहरूका दाखबारीहरू र तिमीहरूका जैतुनका बारीहरू, अँ, तिनका सर्वोत्तम भागहरू लिनेछन्, र आफ्ना नोकरहरूलाईग दिनेछन्। 15 अनि उनले तिमीहरूको बीउको र तिमीहरूका दाखबारीहरूको दसौं भाग लिएर आफ्ना अफिसरहरू र नोकरहरूलाई दिनेछन्। 16 अनि उनले तिमीहरूका दासहरू र तिमीहरूका दासीहरू, साथै तिमीहरूका सबैभन्दा असल जवान मानिसहरू र तिमीहरूका गधाहरू लिएर आफ्नो काममा लाउनेछन्। 17 उनले तिमीहरूका भेड़ाबाख्राहरूको दसौं भाग लिनेछन्, र तिमीहरू उनका दास बन्नेछौ। 18 अनि त्यस दिन तिमीहरू आफैले चुनेका आफ्नो राजाको कारणले पुकार्नेछौ; तर परमप्रभुले त्यस दिन तिमीहरूको सुन्नुहुनेछैन।”
19 तर ती मानिसहरूले शमूएलको कुरा मान्न इन्कार गरे; अनि तिनीहरूले भने: “अहँ, तर हामीमाथि राजा हुनैपर्छ; 20 र हामी पनि अरू सबै जातिहरूजस्तै हुन सकौं; र हाम्रा राजाले हामीलाई न्याय गरून्, हाम्रा अघि-अघि निस्कून् र हाम्रा लड़ाइँहरू लड़िदिऊन्।” 21 अनि शमूएलले ती मानिसहरूका सबै कुराहरू सुने, र परमप्रभुका कानमाघ सुनाइदिए। 22 तब परमप्रभुले शमूएललाई भन्नुभयो: “तिनीहरूको कुरा मानख, र तिनीहरूका निम्ति एक जना राजा बनाइदेऊ!” अनि शमूएलले इस्राएलका मानिसहरूलाई भने: “तिमीहरू हरेक आ-आफ्ना शहरमा जाओ!”