शमूएल इस्राएलका न्यायकर्ता
7
अनि किर्यत-यारीमका मानिसहरू आएर परमप्रभुको सन्दुक माथि लगे, र यसलाई डाँड़ामा अविनादाबको घरमा ल्याए, अनि तिनका छोरा एलाजारलाई परमप्रभुको सन्दुकको देखरेख गर्न पवित्र गर्यो।2 अनि यस्तो भयो: सन्दुक किर्यत-यारीममा रहेको दिनदेखि धेरै समय, अँ, बीस वर्ष बित्यो; अनि इस्राएलको सारा घरानाले परमप्रभुको पछि-पछि विलाप गरे। 3 अनि शमूएलले इस्राएलको सारा घरानालाई यसो भने: “तिमीहरू आफ्नो सारा हृदयले परमप्रभुकहाँ फर्कन्छौ भने तिमीहरूले आफ्नो बीचबाट ती पराई देवताहरू र अश्तारोत देवीहरूलाई हटाइदेओ, परमप्रभुका निम्तिक आफ्नो हृदय तयार पारख, र उहाँको मात्र सेवा गर! तब उहाँले तिमीहरूलाई पलिस्तीहरूको हातबाट छुटकारा दिनुहुनेछ।” 4 तब इस्राएलीहरूले बाल देवताहरू र अश्तारोत देवीहरू हटाइदिए, र परमप्रभुको मात्र सेवा गरे।
5 अनि शमूएलले भने: “सारा इस्राएललाई मिस्पामा भेला गराओ! र म तिमीहरूका निम्ति परमप्रभुलाई प्रार्थना गरिदिनेछु।” 6 अनि उनीहरू मिस्पामा भेला भए, र पानी उघाएर त्यो परमप्रभुको सामु धारो लगाए, अनि त्यस दिन उपवास बसेर त्यहाँ भने: “हामीहरूले परमप्रभुको विरोधमा पाप गरेका छौं।” अनि मिस्पामा शमूएलले इस्राएलीहरूको न्याय गरे। 7 अनि जब पलिस्तीहरूले इस्राएलीहरू मिस्पामा भेला भएको कुरा सुने, तब पलिस्तीहरूका शासकहरू इस्राएलको विरोधमा माथि आए। अनि इस्राएलीहरू यो सुनेर पलिस्तीहरूसँग डराए। 8 अनि इस्राएलीहरूले शमूएललाई भने: “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई पुकार्न नछोड़्नुहोस्, र उहाँले हामीलाई पलिस्तीहरूको हातबाट बचाऊन्!” 9 अनि शमूएलले एउटा दूध चुस्ने पाठो लिए, र त्यसलाई परमप्रभुका निम्ति सर्वाङ्ग होमबलि चढ़ाए; अनि शमूएलले परमप्रभुलाई इस्राएलका निम्ति पुकारे; अनि परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो। 10 अनि जब शमूएलले त्यो होमबलि चढ़ाइरहेका थिए, तब पलिस्तीहरू इस्राएलको विरोधमा लड़ाइँ गर्न नजिक आए; तर त्यस दिन परमप्रभु ठूलो गर्जनले पलिस्तीहरूमाथि गर्जनुभयो, र तिनीहरूलाई अत्त्याउनुभयो; अनि तिनीहरू इस्राएलको सामु हारे। 11 अनि इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, पलिस्तीहरूलाई पिछा गरे र बेत-कारमुनि आइनपुगेसम्म तिनीहरूलाई प्रहार गरे। 12 तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यो मिस्पा र शेनको बीचमा खड़ा गरे, र यसो भन्दै त्यसको नाम ‘एबेन-एजेर’ग राखे: “यहाँसम्म परमप्रभुले हामीलाई सहायता गर्नुभयो।” 13 यसरी पलिस्तीहरू अधीनमा आए; अनि तिनीहरू फेरि कहिल्यै इस्राएलको सिमानाभित्र आएनन्; अनि शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिस्तीहरूको विरोधमा उठिरह्यो। 14 अनि जुन शहरहरू पलिस्तीहरूले इस्राएलबाट खोसेर लगेका थिए, ती शहरहरू एक्रोनदेखि गातसम्म इस्राएललाई फिर्ता दिइए, र तिनका इलाकाहरू इस्राएलले पलिस्तीहरूको हातबाट छुटायो। अनि इस्राएल र एमोरीहरूको बीचमा मिलाप थियो।
15 अनि शमूएलले आफ्नो जीवनभरि नै इस्राएलको न्याय गरे। 16 अनि वर्षैपिच्छे तिनी बेतएल, गिल्गाल र मिस्पामा चक्कर लाउँथे, र यी सबै ठाउँहरूमा इस्राएलको न्याय गर्थे। 17 अनि तिनी रामामा फर्कन्थे; किनभने तिनको घर त्यहीं थियो; अनि त्यहीं तिनले इस्राएलको न्याय गर्थे; अनि त्यहाँ तिनले परमप्रभुका निम्ति एउटा वेदी बनाए।