वाचाको सन्दुक पलिस्तीहरूको बीचमा
5
अनि पलिस्तीहरूले परमेश्वरको सन्दुक लगे, र यसलाई एबेनएजेरबाट अश्दोदमा ल्याए। 2 जब ती पलिस्तीहरूले परमेश्वरको सन्दुक लगे, तब तिनीहरूले यसलाई दागोनको भवनमा ल्याए, र यसलाई दागोनको छेउमा राखे। 3 अनि जब अश्दोदीहरू भोलि बिहानै उठे, तब हेर, दागोन परमेश्वरको सन्दुकको अघिल्तिर आफ्नो अनुहार भुइँमा टेकाएर लड़िरहेको रहेछ! अनि तिनीहरूले दागोनलाई उठाए, र फेरि त्यसकै ठाउँमा राखे। 4 अनि जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब हेर, दागोन परमेश्वरको सन्दुकको अघिल्तिर आफ्नो अनुहार भुइँमा टेकाएर लड़िरहेको रहेछ! अनि दागोनको टाउको र त्यसका दुवै हातका हत्केलाहरू काटिएर सँघारमा पड़िरहेका थिए, खालि दागोनसँग त्यसको धड़क मात्र रहेको थियो। 5 यसैकारण आजको दिनसम्म अश्दोदमा, दागोनको सँघारमाथि दागोनका पूजाहारीहरूले, साथै दागोनको भवनमा आउने कसैले पनि टेक्दैनन्।6 तर परमप्रभुको हात अति भारी भएर अश्दोदीहरूमाथि पर्यो, र उहाँले तिनीहरूलाई नाश गर्नुभयो, र गिर्खाहरूलेख तिनीहरूलाई प्रहार गर्नुभयो – अश्दोद र त्यसका इलाकाहरूमा। 7 अनि जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने: “इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनुहुँदैन; किनकि उहाँको हात कड़ा गरी हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।” 8 तब तिनीहरूले मानिस पठाए र पलिस्तीहरूका सबै शासकहरूलाई आफूकहाँ भेला गरे, र भने: “इस्राएलका परमेश्वरको सन्दुकलाई हामी के गरौं?” अनि तिनीहरूले जवाफ दिए: “इस्राएलका परमेश्वरको सन्दुक गातमा लगियोस्!” अनि तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुक त्यतैतिर घुमाएर लगे। 9 अनि यस्तो भयो: तिनीहरूले यसलाई त्यतैतिर लगेपछि परमप्रभुको हात अति ठूलो विनाशको साथ त्यस शहरको विरोधमा आइपर्योग; अनि उहाँले त्यस शहरका मानिसहरूलाई, साना र ठूला दुवैलाई प्रहार गर्नुभयो, र तिनीहरूमा गिर्खाहरूघ निस्के। 10 यसकारण तिनीहरूले परमेश्वरको सन्दुक एक्रोनमा पठाए। अनि यस्तो भयो: जब परमेश्वरको सन्दुक एक्रोनमा आइपुग्यो, तब एक्रोनीहरू यसो भन्दै चिच्च्याए: “हामीलाई र हाम्रा मानिसहरूलाई मार्नका निम्ति तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन्!” 11 तब तिनीहरूले मानिस पठाए र पलिस्तीहरूका सबै शासकहरूलाई भेला गरे, र भने: “इस्राएलका परमेश्वरको सन्दुक पठाइदेओ, र त्यो फेरि आफ्नै ठाउँमा फर्केर जाओस्, र त्यसले हामीलाई र हाम्रा मानिसहरूलाई नमारोस्!” किनभने त्यस सारा शहरभरि नै घातक विनाश आएको थियो; परमेश्वरको हात त्यहाँ ज्यादा भारी भएको थियो। 12 अनि जुन मानिसहरू मरेनन्, तिनीहरू गिर्खाहरूलेख प्रहार गरिए; अनि त्यस शहरको चिच्च्याहट माथि स्वर्गसम्म पुग्यो।