पलिस्तीहरूद्वारा वाचाको सन्दुक खोसियो
4
अनि शमूएलको वचन सारा इस्राएलकहाँ आयो। अनि इस्राएल पलिस्तीहरूको विरोधमा लड़ाइँ गर्नका निम्ति निस्क्यो र एबेन-एजेरको छेउमा छाउनी हाल्यो; अनि पलिस्तीहरूले चाहिँ अपेकमा छाउनी हाले। 2 अनि पलिस्तीहरूले इस्राएलको विरोधमा मोर्चा बाँधे; अनि जब तिनीहरू लड़ाइँमा जुधे, तब इस्राएलीहरू पलिस्तीहरूको सामु हारे; अनि तिनीहरूले मैदानमा सेनाका लगभग चार हजार मानिसहरूलाई मारे। 3 अनि जब ती मानिसहरू छाउनीमा आए, तब इस्राएलका बूढ़ा प्रधानहरूले भने: “के कारणले परमप्रभुले आज हामीलाई पलिस्तीहरूको सामु परास्त गर्नुभएको छ? हामी शीलोबाट परमप्रभुको वाचाको सन्दुक आफूकहाँ ल्याऔं, र जब यो हाम्रो बीचमा आउँछ, तब यसले हामीलाई हाम्रा शत्रुहरूको हातबाट बचाउनेछ।” 4 तब ती मानिसहरूले शीलोमा पठाए; अनि तिनीहरूले त्यहाँबाट करूबहरूको बीचमा वास गर्नुहुने सेनाहरूका परमप्रभुको वाचाको सन्दुक ल्याए; अनि एलीका दुईजना छोरा होप्नी र पीनहास त्यहाँ परमेश्वरको वाचाको सन्दुकसितै थिए।5 अनि जब परमप्रभुको वाचाको सन्दुक छाउनीभित्र आयो, तब सम्पूर्ण इस्राएल ठूलो स्वरले चिच्च्यायो, यसैले पृथ्वी नै आवाजले घन्क्यो। 6 अनि जब पलिस्तीहरूले त्यो चिच्च्याहटको आवाज सुने, तब तिनीहरूले भने: “हिब्रूहरूको छाउनीमा यो ठूलो चिच्च्याहटको आवाजको अर्थ के हो?” अनि परमप्रभुको सन्दुक छाउनीमा आएछ भनेर तिनीहरूले थाहा पाए। 7 अनि पलिस्तीहरू डराए; किनभने तिनीहरूले भने: “परमेश्वर छाउनीमा आउनुभएको छ।” अनि तिनीहरूले भने: “हामीलाई हाय! किनकि पहिले यस्तो कुरा कहिल्यै भएको थिएन। 8 हामीलाई हाय! कसले हामीलाई यस्ता शक्तिशाली ईश्वरहरूको हातबाट बचाउला? यी त ती ईश्वरहरू हुन्, जसले उजाड़स्थानमा सबै प्रकारका महामारीहरूले मिस्रीहरूलाई मारेथे। 9 हे पलिस्तीहरूहो, बलिया होओ, र पुरुषार्थ देखाओ; नत्र तिमीहरू हिब्रूहरूका दासहरू हुनुपर्छ, जसरी तिनीहरू तिमीहरूका दासहरू भएका छन्; यसैले पुरुषार्थ देखाओ, र लड़ाइँ गर!” 10 अनि पलिस्तीहरूले लड़ाइँ गरे, र इस्राएल हार्यो, अनि उनीहरू हरेक आ-आफ्ना डेरातिर भागे; अनि त्यहाँ एउटा अति ठूलो काटमार भयो; किनभने त्यहाँ इस्राएलका तीस हजार पैदल सिपाहीहरू मारिए। 11 अनि परमेश्वरको सन्दुक खोसियो, र एलीका दुईजना छोरा होप्नी र पीनहास मारिए।
पूजाहारी एलीको मृत्यु
12 अनि बिन्यामिनको एकजना मानिस त्यही दिन सेनाबाट दगुरेर शीलोमा आयो; उसका लुगाहरू च्यातिएका थिए, र उसको टाउकोमा माटो थियो। 13 अनि जब त्यो आयो, हेर, नियालेर हेरिरहेका एली बाटोको छेउमा एउटा आसनमा बसिरहेका थिए; किनकि उनको हृदय परमेश्वरको सन्दुकका निम्ति काम्दैथियो। अनि जब त्यो मानिस शहरभित्र आएर यो कुरा बतायो, तब सारा शहरै चिच्च्याइउठ्यो। 14 अनि जब एलीले त्यस चिच्च्याहटको आवाज सुने, तब उनले भने: “यो खैलाबैलाको आवाजको अर्थ के हो?” अनि त्यो मानिस हतारिँदै आयो, र एलीलाई बतायो। 15 अनि एली त अन्ठानबे वर्षका थिए; अनि उनका आँखाहरू धमिला भएका थिए, र उनले देख्न सक्दैनथिए। 16 अनि त्यस मानिसले एलीलाई भन्यो: “म सेनाबाट आएको मानिस हुँ, र आजै सेनाबाट भागेको हुँ।” अनि उनले भने: “मेरो छोरा, त्यहाँ के भइरहेको छ?” 17 अनि त्यस दूतले जवाफ दिएर भन्यो: “इस्राएल पलिस्तीहरूको सामुबाट भाग्यो, र मानिसहरूको बीचमा ठूलो काटमार पनि भयो, अनि तपाईंका दुईजना छोरा होप्नी र पीनहास पनि मरे, अनि परमेश्वरको सन्दुक पनि खोसियो।” 18 अनि यस्तो भयो: जब त्यसले परमेश्वरको सन्दुकको कुरा बतायो, तब एलीक मूलढोकाको छेउमा आसनबाट पछिल्तिर ढले, र उनको गर्धन भाँचियो, अनि उनी मरे; किनभने उनी वृद्ध र भारी जीउका मानिस थिए। अनि उनले चालीस वर्ष इस्राएलको न्याय गरेका थिए।
19 अनि उनकी बुहारी, पीनहासकी पत्नी जन्माउने समय भएको गर्भवती थिई; जब उसले परमेश्वरको सन्दुक खोसिएको र आफ्ना ससुरा र आफ्ना पति मरेका खबर सुनी, तब ऊ घोप्टो परी, अनि जन्माई; किनकि उसको पीड़ा उसमाथि आइलाग्यो। 20 अनि उसको मर्ने समयमा उसको छेउमा उभिरहेका स्त्रीहरूले उसलाई भने: “नडराऊ; किनभने तिमीले एउटा छोरा जन्माएकी छ्यौ।” तर उसले न जवाफ दिई, न ता त्यस कुरामा ध्यान नै दिई। 21 अनि परमेश्वरको सन्दुक खोसिएको कारणले साथै उसका ससुरा र उसका पतिको कारणले उसले ‘इस्राएलबाट महिमा लगियो’ भन्दै त्यस बालकको नाम इकाबोदख राखी। 22 अनि उसले भनी: “इस्राएलबाट महिमा लगियो; किनभने परमेश्वरको सन्दुक खोसियो।”