शिमसोनको कमजोरी र पतन
16
त्यसपछि शिमसोन गाजातिर गए; अनि त्यहाँ तिनले एउटी वेश्यालाई देखे, र तिनी त्यसकहाँ गए। 2 अनि शिमसोन त्यहाँ आएका छन् भन्ने समाचार गाजाकाहरूलाई सुनाइयो; अनि तिनीहरूले तिनलाई घेरा हालेर त्यस शहरको मूलढोकामा रातभरि तिनलाई ढुकिबसे, र ‘बिहान, उज्यालो हुँदा हामी त्यसलाई मार्नेछौं’ भन्दै रातभरि चुपचाप बसे। 3 तर शिमसोन आधारातसम्म ढल्किरहे, र आधारातमै उठेर त्यस शहरको मूलढोकाका दैलाहरू र दुईपट्टिका खाँबाहरू समातेर आग्लोसमेत ती जम्मैलाई उखेले, र तिनलाई आफ्ना काँधमा हालेर हेब्रोनको सामु भएको एउटा डाँड़ाको टाकुरामा बोकेर लगे।4 अनि पछि यस्तो भयो: तिनले सोरेकको बेंसीमा दलीला नामकी एउटी स्त्रीलाई प्रेम गर्न थाले। 5 अनि पलिस्तीहरूका शासकहरू माथि त्यसकहाँ आए र त्यसलाई भने: “तिनलाई फकाई-फकाईकन तिनको ठूलो शक्ति केमा रहेछ, र कुन उपायले हामी तिनीमाथि प्रबल हुने रहेछौं, र तिनलाई कष्ट दिनलाई तिनलाई बाँध्न सक्ने रहेछौं, सो पत्ता लगाऊ, र हामी, हामीहरूमध्ये हरेकले तिमीलाई एघार सय टुक्रा चाँदी दिनेछौं।” 6 तब दलीलाले शिमसोनलाई भनी: “म तपाईंलाई विन्ती गर्छु, तपाईंको ठूलो शक्ति केमा छ, र तपाईंलाई सास्ती दिनलाई तपाईंलाई केले बाँध्न सकिन्छ, सो मलाई बताइदिनुहोस्!” 7 अनि शिमसोनले त्यसलाई भने: “तिनीहरूले मलाई सातवटा ताजा नसुकाइएका ताँदाले बाँधे भने म निर्बल भइहाल्नेछु, र अरू मानिसहरूजस्तै हुनेछु।” 8 तब पलिस्तीहरूका शासकहरूले माथि त्यसकहाँ सातवटा ताजा नसुकाइएका ताँदा ल्याइदिए; अनि त्यसले तिनलाई तिनैले बाँधी। 9 अनि ढुकेर बस्ने मानिसहरू त्यससित कोठामा बसिरहेका थिए। अनि त्यसले तिनलाई भनी: “शिमसोन, पलिस्तीहरू तपाईंमाथि आइलागे!” तब तिनले ती ताँदाहरू सनपाटकोक धागो आगोले छुँदा छिनेझैं छिनाइदिए। त्यसो हुँदा तिनको शक्तिको भेद जानिएन।
10 अनि दलीलाले शिमसोनलाई भनी: “हेर्नुहोस्, तपाईंले मेरो मजाक गर्नुभयोख, र मसित झूट बोल्नुभयो। म तपाईंलाई विन्ती गर्छु, अब मलाई भन्नुहोस्, तपाईंलाई केले बाँध्न सकिन्छ?” 11 अनि तिनले त्यसलाई भने: “तिनीहरूले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले बलियो गरी बाँधे भने म निर्बल भइहाल्नेछु, र अरू मानिसहरूजस्तै हुनेछु।” 12 तब दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई बाँधी, र तिनलाई भनी: “शिमसोन, पलिस्तीहरू तपाईंमाथि आइलागे!” अनि कोठामा ढुकेर बस्नेहरू बसिरहेका थिए। अनि तिनले ती डोरीहरू धागोजस्तै गरी आफ्ना पाखुराबाट चुँड़ाइदिए।
13 तब दलीलाले शिमसोनलाई भनी: “अहिलेसम्म तपाईंले मेरो मजाक गर्नुभयोख, र मसित झूट बोल्नुभयो। मलाई भन्नुहोस्, तपाईंलाई केले बाँध्न सकिन्छ?” अनि तिनले त्यसलाई भने: “तिमीले मेरा कपालका सातवटा लट्टा तानमा बुन्यौ भने हुन्छ।” 14 अनि त्यसले ती लट्टा एउटा कीलाले कसिदिई, र तिनलाई भनी: “शिमसोन, पलिस्तीहरू तपाईंमाथि आइलागे!” तब तिनी आफ्नो निद्राबाट बिउँझे, र तानको कीला तानैसित उखेलिदिए।
शिमसोनबाट शक्ति हटिगयो
15 अनि त्यसले तिनलाई भनी: “तपाईंको हृदय मसित छैन भने ‘म तिमीलाई प्रेम गर्छु’ भनी तपाईंले कसरी भन्न सक्नुहुन्छ? यी तीन पल्ट तपाईंले मेरो मजाक गर्नुभएकोख छ, र तपाईंको ठूलो शक्ति केमा छ, सो मलाई बताउनुभएको छैन।” 16 अनि यस्तो भयो: त्यसले दिनहुँ तिनलाई आफ्ना शब्दहरूले व्यथित पारिरहँदा र तिनलाई विवश तुल्याइरहँदा तिनको प्राण ज्यानै जाला जस्तो गरी व्याकुल भयो। 17 तब तिनले त्यसलाई आफ्नो सम्पूर्ण हृदय खोलेर बताइदिए, र त्यसलाई भने: “मेरो कपालमा कहिल्यै छुरा परेको छैन; किनभने मेरी आमाको गर्भदेखि नै परमेश्वरका निम्ति म एक नाजीरग हुँ। मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट जानेछ, र म निर्बल हुनेछु, र अरू सबै मानिसजस्तै हुनेछु।”
18 अनि जब दलीलाले तिनले त्यसलाई आफ्नो सम्पूर्ण हृदय खोलेर बताइदिएको थाहा पाई, तब त्यसले पठाई, र पलिस्तीहरूका शासकहरूलाई यसो भन्दै बोलाई: “यसपालिचाहिँ तपाईंहरू माथि आइदिनुहोस्; किनकि तिनले मलाई आफ्नो सम्पूर्ण हृदय खोलेर बताएका छन्।” तब पलिस्तीहरूका शासकहरू आफ्नो हातमा पैसाघ लिएर माथि त्यसकहाँ आए। 19 अनि त्यसले तिनलाई आफ्ना घुँड़ामाथि सुताई र एकजना मान्छेलाई बोलाएर तिनको कपालका सातवटा लट्टा खौरन लगाई; अनि त्यसले तिनलाई सास्ती दिन थाली, र तिनको शक्ति तिनीबाट गइहाल्यो। 20 अनि त्यसले भनी: “शिमसोन, पलिस्तीहरू तपाईंमाथि आइलागे!” अनि आफ्नो निद्राबाट बिउँझेर तिनले भने: “म अरू बेलाजस्तै निस्कनेछु, र तिनीहरूलाई टकटक्याएर मुक्त हुनेछु।” तर परमप्रभु तिनीबाट गइसक्नुभएको तिनलाई थाहै भएन। 21 तब पलिस्तीहरूले तिनलाई पक्रे, तिनका आँखाहरू घोचेर निकालिदिए, र तिनलाई तल गाजामा लगे, अनि तिनलाई पित्तलका नेलहरूले बाँधे; अनि झ्यालखानामा तिनी जाँतो पिँध्ने गर्थे। 22 तर तिनको शिरको केश खौरेपछि फेरि बढ़्न लाग्यो।
शिमसोनको अन्तिम बदला
23 त्यसपछि पलिस्तीहरूका शासकहरू आफ्नो देवता दागोनलाई एउटा ठूलो बलि चढ़ाउन र खुशी मनाउन भेला भए; किनकि तिनीहरूले भने: “हाम्रो देवताले हाम्रो शत्रु शिमसोनलाई हाम्रो हातमा सुम्पिदियो।” 24 अनि जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्नो देवताको प्रशंसा गरे; किनकि तिनीहरूले भने: “हाम्रो देवताले हाम्रो शत्रु र हाम्रो देश उजाड़ पार्नेलाई, जसले हाम्रा धेरैलाई मारेथ्यो, हाम्रै हातमा सुम्पिदियो।” 25 अनि यस्तो भयो: जब तिनीहरूका हृदयहरू आनन्दित भइरहेका थिए, तब तिनीहरूले भने: “शिमसोनलाई बोलाओ, र त्यसले हामीलाई खेलतमाशा देखाओस्!” अनि तिनीहरूले शिमसोनलाई झ्यालखानाबाट बोलाए, अनि तिनले तिनीहरूको सामु खेलतमाशा देखाए; अनि तिनीहरूले तिनलाई खाँबाहरूको बीचमा उभ्याए। 26 अनि शिमसोनले तिनको हात समातिरहेको ठिटालाई भने: “मलाई ती खाँबाहरू छाम्न देऊ, जसमाथि यो घर अड़िएको छ, र म तिनमा अड़ेस लाग्न सकूँ!” 27 अनि त्यो घर पुरुष र स्त्रीहरूले भरिएको थियो; अनि पलिस्तीहरूका सबै शासकहरू पनि त्यहाँ थिए; अनि त्यस छानामाथि प्राय: तीन हजार पुरुष र स्त्रीहरू थिए, जसले शिमसोनले खेलतमाशा देखाउँदा हेरिरहेका थिए। 28 अनि शिमसोनले परमप्रभुलाई पुकारे, र भने: “हे प्रभु यहोवा, म तपाईंलाई विन्ती गर्छु, मलाई सम्झनुहोस्! र म तपाईंलाई विन्ती गर्छु, हे परमेश्वर, यस पल्ट मात्र मलाई शक्ति दिनुहोस्, र एकचोटि म यी पलिस्तीहरूबाट मेरा दुई आँखाको बदला लिन सकूँ!” 29 अनि शिमसोनले बीचका ती दुई खाँबाहरू, जसमाथि त्यो घर अड़िएको थियो र जसमाथि त्यो स्थापित गरिएको थियो, एउटालाई आफ्नो दाहिने हातले र अर्कोलाई आफ्नो देब्रे हातले अँठ्याए। 30 अनि शिमसोनले यसो भने: “मलाई पलिस्तीहरूसँगै मर्न दिनुहोस्!” अनि तिनी भएभरको शक्ति लगाएर निहुरे; तब त्यो घर ती शासकहरूमाथि र त्यसमा भएका सबै मानिसहरूमाथि ढल्यो। अनि आफ्नो मृत्यु हुँदा तिनले जतिलाई मारे, ती मरेकाहरूको संख्या तिनले आफू जिउँदा हुँदा मारेकाहरूको भन्दा बढ़ी भयो। 31 त्यसपछि तिनका भाइहरू र तिनका बुबाको सारा घराना तल झरे, र तिनलाई उठाए, माथि ल्याए अनि तिनलाई सोरा र एश्ताओलको बीचमा तिनका बुबा मानोहको कब्रस्तानमा गाड़े। अनि बीस वर्षसम्म तिनले इस्राएलको न्याय गरे।