शिमसोनको बदला
15
तर केही समयपछि गहुँको कटनीको समयमा यस्तो भयो: शिमसोन एउटा बाख्राको पाठो लिएर आफ्नी पत्‍नीलाई भेट्न गए; अनि तिनले भने: “म त्‍यस कोठाभित्र मेरी पत्‍नीकहाँ जान्छु।” तर उसका बुबाले तिनलाई भित्र जान दिएनन्। 2 अनि उसका बुबाले भने: “मैले त साँच्‍चै तिमीले उसलाई पूरा घृणा गर्दा रहेछौ भन्ठानें; यसैले मैले उसलाई तिम्रा साथीलाई दिइहालें। के उसकी बहिनी ऊभन्दा राम्री छैन र? म विन्‍ती गर्छु, उसको सट्टामा त्यसलाई लैजाऊ!” 3 तब शिमसोनले तिनीहरूको विषयमा यसो भने: “मैले पलिस्तीहरूलाई खराबी नै गरे तापनि यसपल्ट तिनीहरूभन्दा बरु म निर्दोष ठहरिनेछु।” 4 अनि शिमसोन गएर तीन सयवटा स्याल पक्रे, र राँकाहरू लिए, अनि एक पुच्छर अर्को पुच्छरसित बाँधिदिए र दुई पुच्छरको बीचमा एक-एकवटा राँको लगाइदिए। 5 अनि ती राँकाहरू सल्काएपछि तिनले तिनीहरूलाई पलिस्तीहरूका खड़ा बालीहरूतिर छोड़िदिए, र अन्‍नका कुनिउँहरू र खड़ा अन्‍नहरू, साथै दाखबारी र जैतुनका बारीहरू जलाइदिए। 6 तब पलिस्तीहरूले भने: “कसले यो गरेको हो?” अनि तिनीहरूले जवाफ दिए: “तिम्‍नीको जुवाइँ शिमसोनले यसो गरेका हुन्‌; किनभने उनले तिनकी पत्‍नीलाई लिए र उसलाई तिनका साथीलाई दिए।” तब पलिस्तीहरू माथि आए, र तिनीहरूले उसलाई र उसका बुबालाई आगो लगाएर जलाइदिए। 7 तब शिमसोनले तिनीहरूलाई भने: “तिमीहरूले यसो गरेका हुनाले निश्‍चय म तिमीहरूसित बदला लिनेछु, त्यसपछि म रोक्नेछु।” 8 अनि तिनले बड़ो मारामारीको साथ तिनीहरूलाई फिला र तिघ्रामा हिर्काए; तब तिनी तल झरे र एतामको चट्टानको धाँदोमा बसे।
9 तब पलिस्तीहरू उँभो गए, अनि तिनीहरूले यहूदामा छाउनी हाले, र लेहीमा आफूलाई फैलाए। 10 अनि यहूदाका मानिसहरूले भने: “तिमीहरू किन हामीमाथि आइलाग्दैछौ?” अनि तिनीहरूले जवाफ दिए: “शिमसोनले हामीसित जस्तो गरेको छ, त्यससित पनि त्यस्तै गरौं भनी हामी त्यसलाई बाँध्‍न माथि आएका हौं।” 11 तब यहूदाका तीन हजार मानिसहरू एतामको चट्टानको धाँदोमा गएर शिमसोनलाई भने: “पलिस्तीहरूले हामीमाथि शासन गरिरहेछन् भन्‍ने कुरा के तिमीलाई थाहा छैन? तिमीले हामीलाई गरेको यो के हो?” अनि तिनले उनीहरूलाई भने: “तिनीहरूले मसित जस्तो गरे, मैले पनि तिनीहरूसित त्यस्तै गरेको हुँ।” 12 अनि उनीहरूले तिनलाई भने: “हामी तिमीलाई बाँधेर पलिस्तीहरूको हातमा सुम्पिदिन झरेका छौं।” अनि शिमसोनले उनीहरूलाई भने: “तिमीहरू आफैचाहिँ ममाथि आइलाग्दैनौ भनी मसँग शपथ खाओ!” 13 अनि उनीहरूले तिनलाई भने: “हामी आइलाग्दैनौं, तर हामी तिमीलाई बलियो गरी बाँधेर तिमीलाई तिनीहरूको हातमा सुम्पिदिनेछौं। तर हामी तिमीलाई निश्‍चय नै मार्नेछैनौं।” अनि उनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधेर तिनलाई त्यस चट्टानबाट माथि ल्याए।
14 अनि जब तिनी लेहीमा आइपुगे, तब पलिस्तीहरू तिनको विरोधमा चिच्च्याउन लागे। तब परमप्रभुका आत्मा सामर्थ्यसित तिनीमाथि आउनुभयो, र तिनका पाखुरामा लगाइएका डोरीहरू आगोले डढ़ेको सनपाटजस्तै भए, अनि तिनका बन्धनहरू तिनका हातहरूबाट फुस्के। 15 अनि तिनले एउटा गधाको आलो बङ्गाराको हाड़ भेट्टाए, र आफ्नो हात बढ़ाए र त्यसलाई उठाए, अनि त्यसैले एक हजार मानिसलाई मारे। 16 तब शिमसोनले भने: “गधाको बङ्गाराको हाड़ले रासका रास! गधाको बङ्गाराको हाड़ले मैले हजार मानिसहरूलाई मारें।” 17 अनि यस्तो भयो: जब तिनी बोलिसके, तब तिनले त्यो बङ्गाराको हाड़ आफ्नो हातबाट फ्याँकिदिए, र त्यस ठाउँको नाम रामत-लेही राखे।
18 अनि तिनलाई साह्रै तिर्खा लागेको थियो; अनि तिनले परमप्रभुलाई पुकारे, र भने: “तपाईंले आफ्नो दासको हातमा यो ठूलो छुटकारा दिनुभयो। अनि के म अब तिर्खाले मरूँ, र ती खतना नभएका मानिसहरूको हातमा परूँ?” 19 तब परमेश्‍वरले त्यही लेहीमा भएको खोपिल्टा चिर्नुभयो, र त्यसबाट पानी निस्क्यो। अनि पानी पिएपछि तिनको हिम्मत फर्केर आयो, र तिनी ताजा भए; यसैले तिनले त्यस ठाउँको नाम एन-हक्‍कोरे राखे, जुन मुहानचाहिँ लेहीमा आजको दिनसम्म छँदैछ। 20 अनि तिनले पलिस्तीहरूको समयमा बीस वर्षसम्म इस्राएलको न्याय गरे।