शिमसोनको विवाह
14
अनि शिमसोन तिम्नाततिरक झरे, अनि तिम्नातमा पलिस्तीहरूका छोरीहरूमध्ये एउटी स्त्रीलाई देखे। 2 तब तिनी माथि आए, अनि आफ्ना बुबा र आफ्नी आमालाई बताए र भने: “मैले तिम्नातमा पलिस्तीहरूका छोरीहरूमध्ये एउटी स्त्रीलाई देखेको छु; यसकारण अब मेरा निम्ति पत्नी हुन त्यसलाई ल्याइदिनुहोस्!” 3 अनि तिनका बुबा र तिनकी आमाले तिनलाई भने: “के तिम्रै दाजुभाइहरूका छोरीहरूमध्ये अथवा मेरो सारा जातिमध्ये कुनै स्त्री छैन, र तिमी खतनारहित पलिस्तीहरूबाट एउटी पत्नी लिन जान्छौ?” तब शिमसोनले आफ्ना बुबालाई भने: “मेरा निम्ति उही ल्याइदिनुहोस्; किनकि ऊचाहिँ मलाई मन पर्यो।” 4 तर त्यो कुरा परमप्रभुबाटै भएको हो भनेर तिनका बुबा र तिनकी आमालाई थाहा थिएन। किनभने उहाँले पलिस्तीहरूको विरोधमा दाउ हेरिरहनुभएको थियो; किनकि त्यस बेला पलिस्तीहरूले इस्राएलमाथि अधिकार जमाएका थिए।5 त्यसपछि शिमसोन तिनका बुबा र तिनकी आमासँग तिम्नाततिर झरे, र तिनीहरू तिम्नातका दाखबारीहरूमा आइपुगे; अनि हेर, एउटा जवान सिंह तिनको विरोधमा गर्ज्यो। 6 अनि परमप्रभुका आत्मा सामर्थ्यसित तिनीमाथि आउनुभयो, र तिनले त्यसलाई एउटा बाख्राको पाठालाई च्यातचुत पारेझैं च्यातचुत पारे; अनि तिनको हातमा केही थिएन; तर तिनले जे गरे, सो कुरा आफ्ना बुबा र आफ्नी आमालाई बताएनन्। 7 अनि तिनी तल झरे, र त्यस स्त्रीसित कुरा गरे; अनि ऊ शिमसोनलाई मन पर्यो। 8 अनि केही समयपछि तिनी उसलाई लिन भनी फर्केर जाँदाखेरि त्यस सिंहको सिनु हेर्नलाई त्यतातिर लागे; अनि हेर, त्यस सिंहको सिनुमा एक हूल मौरी, साथै मह थियो। 9 अनि तिनले त्यसबाट केही झिके, र आफ्नो हातमा लिएर खाँदै-खाँदै गए, र आफ्ना बुबाआमाकहाँ आएर उनीहरूलाई पनि दिए; अनि उनीहरूले खाए; तर तिनले त्यो मह सिंहको सिनुबाट झिकेको कुरा उनीहरूलाई भनेनन्।
शिमसोनको अड़्को
10 अनि तिनका बुबा तल त्यस स्त्रीकहाँ झरे; अनि शिमसोनले त्यहाँ एउटा भोज लगाए; किनकि जवान मानिसहरूले त्यस्तै गर्ने गर्थे। 11 अनि यस्तो भयो: जब तिनीहरूले तिनलाई देखे, तब तिनको साथमा रहनलाई तिनीहरूले तीसजना साथीहरूलाई ल्याइदिए। 12 अनि शिमसोनले तिनीहरूलाई भने: “म तिमीहरूलाई एउटा अड़्को थाप्छु। तिमीहरूले यस भोजको सात दिनभित्रमा साँच्चै यसको अर्थ खोलेर मलाई त्यो बताउन सक्यौ भने म तिमीहरूलाई तीस थान कपड़ा र तीस जोड़ा लुगा दिनेछु; 13 तर तिमीहरूले त्यो मलाई बताउन सकेनौ भने चाहिँ तिमीहरूले मलाई तीस थान कपड़ा र तीस जोड़ा लुगा दिनुपर्नेछ।” अनि तिनीहरूले तिनलाई भने: “तिम्रो अड़्को थापिहाल, र हामी त्यो सुन्न पाऔं!” 14 अनि तिनले तिनीहरूलाई भने:
“खानेबाट खानेकुरा निस्क्यो; अँ, बलियोबाट गुलियो कुराख निस्क्यो; के हो?”
तर तिनीहरूले तीन दिनसम्म त्यो अड़्को फुकाउन सकेनन्।
15 अनि सातौं दिनमा यस्तो भयो: तिनीहरूले शिमसोनकी पत्नीलाई भने: “तिम्रा लोग्नेलाई फकाऊ, र तिनले हामीलाई त्यो अड़्को फुकाइदिऊन्, नत्र हामी तिमीलाई र तिम्रा बुबाको घर आगो लगाएर जलाइदिनेछौं। के तिमीहरूले हाम्रा चीजहरू लैजानग बोलाएका हौ? होइन र?” 16 तब शिमसोनकी पत्नीले तिनको सामु रोई-रोई भनी: “निश्चय तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ, र माया गर्नुहुन्न। तपाईंले मेरो जातिका मानिसहरूलाई एउटा अड़्को थाप्नुभयो, तर त्यो मलाई बताउनुभएन।” अनि तिनले उसलाई भने: “हेर, मैले मेरै बुबा र मेरी आमालाई त बताएको छैनँ, तब के म त्यो तिमीलाई बताऊँ?” 17 अनि ऊ तिनको सामु यी सात दिनसम्म, तिनीहरूको भोज नसिद्धिउन्जेल रोइरही; अनि सातौं दिनमा यस्तो भयो: उसले तिनलाई साह्रै व्याकुल पारिरहेकी हुनाले तिनले उसलाई बताइदिए; अनि उसले त्यो अड़्को आफ्नो जातिका मानिसहरूलाई बताइदिई। 18 अनि सातौं दिनमा, सूर्य अस्ताउनुभन्दा अघि त्यस शहरका मानिसहरूले तिनलाई भने:
“महभन्दा गुलियो के छ र? अनि सिंहभन्दा बलियो के छ र?”
तब तिनले तिनीहरूलाई भने: “तिमीहरूले मेरो कोरलीलाई लिएर नजोतेका भए तिमीहरूले मेरो अड़्को फुकाउन सक्नेथिएनौ।” 19 तब परमप्रभुका आत्मा सामर्थ्यसित तिनीमाथि आउनुभयो, र तिनी अश्कलोनमा झरे, अनि तिनीहरूमध्ये तीसजना मानिसहरूलाई मारे, र तिनीहरूको लुटको माल लिएर ती अड़्को फुकाउनेहरूलाई जोड़ा लुगाहरू दिए। अनि तिनको रिस दन्कियो, र तिनी माथि आफ्ना बुबाको घरतिर हिँड़े। 20 तर शिमसोनकी पत्नी तिनकै साथीकी भई, जो तिनका लोकन्त हुने साथी थिए।