तेह्रौं न्यायकर्ता: शिमसोन
13
अनि इस्राएलीहरूले फेरि पनि परमप्रभुको दृष्टिमा खराबी गरे; अनि परमप्रभुले तिनीहरूलाई चालीस वर्षसम्म पलिस्तीहरूको हातमा सुम्पिदिनुभयो।2 अनि दानीहरूको घरानाबाट सोराका एकजना मानिस थिए, जसको नाम मानोह थियो; अनि उनकी पत्नी बाँझी थिइन्, र सन्तान जन्माइनन्। 3 अनि परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परे, र तिनलाई भने: “हेर त, तिमी बाँझी छ्यौ र सन्तान जन्माउँदिनौ; तर तिमी गर्भवती हुनेछ्यौ, र एउटा छोरा जन्माउनेछ्यौ। 4 यसकारण अब म तिमीलाई यो विन्ती गर्छु: तिमी होशियार होऊ, अनि दाखमद्य वा मदिरा नपिउनू, र कुनै अशुद्ध कुरा नखानू! 5 किनकि हेर, तिमी गर्भवती हुनेछ्यौ, र एउटा छोरा जन्माउनेछ्यौ। अनि उसको शिरमा कुनै छुरा नपरोस्; किनकि त्यो बालक गर्भदेखि नै परमेश्वरका निम्ति नाजीरक हुनेछ। अनि उसले चाहिँ इस्राएललाई पलिस्तीहरूको हातबाट छुटाउन थाल्नेछ।”
6 तब ती स्त्री आइन्, र आफ्ना पतिलाई यसो भन्दै बताइन्: “परमेश्वरका एक जन मकहाँ आउनुभयो, र उहाँको चेहरा परमेश्वरका दूतको चेहराजस्तै अति भययोग्य थियो; तर उहाँचाहिँ कहाँबाटका हुनुहुन्थ्यो, सो मैले उहाँलाई सोधिनँ, अनि उहाँले पनि मलाई आफ्नो नाम भन्नुभएन। 7 तर उहाँले मलाई भन्नुभयो: ‘हेर, तिमी गर्भवती हुनेछ्यौ, र एउटा छोरा जन्माउनेछ्यौ। अनि अब कुनै दाखमद्य वा मदिरा नपिउनू, र कुनै अशुद्ध कुरा नखानू; किनकि गर्भदेखि नै उसको मृत्युको दिनसम्म त्यो बालक नाजीरक रहनेछ।’ ”
8 तब मानोहले यसो भन्दै परमप्रभुसित विन्ती गरे: “हे मेरा प्रभु, म तपाईंलाई विन्ती गर्छु, कृपया तपाईंले पठाउनुभएको ती परमेश्वरको जन हामीकहाँ फेरि आऊन्, र जन्मन लागेको त्यस बालकका निम्ति हामीले के-कसो गर्नुपर्ने हो, सो हामीलाई सिकाइदिऊन्!” 9 अनि परमेश्वरले मानोहको सोर सुन्नुभयो, र ती स्त्री खेतबारीमा बसिरहेकी बेलामा परमेश्वरका दूत तिनीकहाँ आए; तर तिनका पति मानोह तिनको साथमा थिएनन्। 10 तब ती स्त्री हतार-हतार दगुरेर गइन् र आफ्ना पतिलाई बताइन्; अनि तिनले उनलाई यसो भनिन्: “हेर्नुहोस्, त्यस दिन मकहाँ आउनुभएको मानिस फेरि मकहाँ देखा पर्नुभएको छ।” 11 तब मानोह उठेर तिनकी पत्नीको पछि-पछि गए, र ती मानिसकहाँ आएर उनलाई भने: “के यस स्त्रीसित कुरा गर्नुहुने मानिस तपाईं नै हुनुहुन्छ?” अनि उनले भने: “म नै हुँ।” 12 अनि मानोहले भने: “अब तपाईंका वचनहरू पूरा होऊन्! यस बालकको व्यवस्थाख केकस्तो हुनुपर्छ, र उसका निम्ति हामी के गरौंग?” 13 अनि परमप्रभुका दूतले मानोहलाई भने: “जुन-जुन कुराको विषयमा मैले यस स्त्रीलाई भनेको छु, ती सबै कुरामा ऊ होशियार बसोस्! 14 उसले दाखको बोटबाट उत्पादन भएको कुनै पनि थोक नखाओस्, र दाखमद्य वा मदिरा नपिओस्, अनि कुनै अशुद्ध कुरा नखाओस्! मैले उसलाई जुन-जुन आज्ञा दिएको छु, ती सबै उसले पालन गरोस्!”
15 तब मानोहले परमप्रभुका दूतलाई भने: “कृपया हामी तपाईंलाई रोकिराख्न पाऔं, र हामी तपाईंका निम्ति एउटा बाख्राको पाठो तयार पार्नेछौं।” 16 अनि परमप्रभुका दूतले मानोहलाई भने: “तिमीले मलाई पर्खन लाए तापनि म तिम्रो भोजनबाट केही खान्नँ। अनि तिमीले एउटा होमबलि तयार गर्यौ भने तिमीले त्यो परमप्रभुकै निम्ति त्यो चढ़ाउनुपर्छ!” किनकि उनी परमप्रभुका दूत हुन् भनी मानोहलाई थाहा थिएन। 17 अनि मानोहले परमप्रभुका दूतलाई भने: “तपाईंको नाम के हो, फलस्वरूप तपाईंका वचनहरू पूरा भएपछि हामी तपाईंलाई आदर गर्न सकौं?” 18 अनि परमप्रभुका दूतले तिनलाई भने: “तिमी किन यसरी मेरो नामको बारेमा सोध्छौ? किनकि यो अद्भूत छ।” 19 तब मानोहले अन्नबलिको साथमा एउटा बाख्राको पाठो लिएर एउटा चट्टानमाथि परमप्रभुका निम्ति चढ़ाए; अनि परमप्रभुका दूतलेघ अद्भूत काम गरे; अनि मानोह र तिनकी पत्नीले हेरिबसे। 20 किनकि यस्तो भयो: जब त्यस वेदीबाट ज्वाला आकाशतिर उठिरहेथ्यो, तब त्यही वेदीको ज्वालामा भएर परमप्रभुका दूत उँभो गए। अनि मानोह र तिनकी पत्नी हेरेका-हेरेकै भए, त्यसपछि तिनीहरू भुइँमा घोप्टो परे। 21 तर परमप्रभुका दूत मानोह र तिनकी पत्नीकहाँ फेरि कहिल्यै देखा परेनन्। तब उनी त परमप्रभुका दूत रहेछन् भनी मानोहले थाहा पाए। 22 अनि मानोहले आफ्नी पत्नीलाई भने: “हामी अवश्यै मर्नेछौं; किनभने हामीले परमेश्वरलाई देख्यौं।” 23 तर तिनकी पत्नीले तिनलाई भनिन्: “परमप्रभुले हामीलाई मार्न चाहनुभएको भए, उहाँले हाम्रा हातबाट त्यो होमबलि र त्यो अन्नबलि ग्रहण गर्नुहुने नै थिएन, न ता हामीलाई यी सबै कुराहरू देखाउनुहुनेथियो, न ता अहिले यीजस्ता कुराहरू नै हामीलाई सुनाउनुहुनेथियो।”