शरणनगरहरू ठहराओ!
20
अनि परमप्रभु यहोशूसँग यसो भन्दै बोल्नुभयो: 2 “इस्राएलीहरूलाई यसो भन: तिमीहरूका निम्ति शरणनगरहरू ठहऱ्याओ, जसको विषयमा मैले तिमीहरूलाई मोशाद्वारा भनेको थिएँ; 3 र मार्ने, जसले झुक्‍किएर वा अनजानमा कुनै मानिसलाई मार्छ भने त्यहाँ भागेर जाओस्; अनि ती रगतको बदला लिनेबाट तिमीहरूका निम्ति शरणस्थान हुनेछन्। 4 अनि जब ती शहरहरूमध्ये एउटामा भागेर जाने मानिस त्यस शहरको मूलढोकाभित्र पस्‍ने ठाउँमा उभिन्छ, र त्यस शहरका बूढ़ा प्रधानहरूका कानमा आफ्नो मुद्दा सुनाउँछ; तब तिनीहरूले त्यसलाई त्यस शहरमा आफूकहाँ ग्रहण गरून् र त्यसलाई ठाउँ दिऊन्, र त्यो तिनीहरूको साथमा बसोस्! 5 अनि यदि रगतको बदला लिनेले त्यसको पिछा गर्‍यो भने तिनीहरूले त्यस मार्नेलाई उसको हातमा नसुम्‍पून्; किनभने त्यसले अनजानमा आफ्नो छिमेकीलाई मारेको हो, र त्यसलाई पहिले घृणा गरेको थिएन। 6 अनि न्यायका निम्ति समुदायको सामु नउभिएसम्म अथवा ती दिनहरूमा हुने महा पूजाहारीको मृत्यु नभएसम्म त्यो त्यही शहरमा बसिरहोस्! त्यसपछि त्यो मार्ने फर्कोस्, अनि आफ्नै शहर र आफ्नै घरमा जाओस् – त्यस शहरमा, जहाँबाट त्यो भागेको थियो।”
7 अनि तिनीहरूले नप्‍तालीको पहाड़ी देशमा गालीलको केदेश, एप्रैमको पहाड़ी देशमा शेकेम र यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा, जो हेब्रोन हो, अलग पारे 8 अनि यर्दनपारि यरिहोको पूर्वपट्टि तिनीहरूले रूबेन कुलको भागबाट उजाड़स्थानको टारमा भएको बेसेर, गाद कुलको भागबाट गिलादमा भएको रामोत र मनस्से कुलको भागबाट बाशानमा भएको गोलान ठहऱ्याए। 9 सबै इस्राएलीहरूका निम्ति र तिनीहरूको बीचमा बस्‍ने परदेशीका निम्ति ठहऱ्याइएका शहरहरू यी नै हुन्, यसैले कि हरेक जसले अनजानमा कुनै मानिसलाई मार्छ, त्यो त्यहाँ भाग्‍न सकोस्, र जबसम्म समुदायको सामु उभिँदैन, तबसम्म रगतको बदला लिनेको हातद्वारा त्यो नमरोस्।