बाँकी देश बाँड़चुँड़ गरियो
18
अनि इस्राएलीहरूको सारा समुदाय शीलोमा भेला भए, र त्यहाँ तिनीहरूले भेट हुने पाल खड़ा गरे। अनि त्यो देश तिनीहरूको सामु वशमा आइसकेको थियो। 2 अनि इस्राएलीहरूमध्ये सात कुलहरू बाँकी थिए, जसले आ-आफ्नो अधिकारको भाग पाएका थिएनन्। 3 अनि यहोशूले इस्राएलीहरूलाई भने: “जुन देश परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको छ, त्यस देशलाई अधिकार गर्न जानलाई तिमीहरू कहिलेसम्म सुस्त रहन्छौ? 4 तिमीहरूको बीचबाट हरेक कुलका निम्ति तीन-तीनजना मानिस ठहऱ्याओ, र म तिनीहरूलाई पठाउनेछु; अनि तिनीहरू उठून्, देशभरि घुमून्, आ-आफ्नो अधिकारको भागअनुसार त्यसको विवरण लेखून् र मकहाँ फर्केर आऊन्! 5 अनि तिनीहरूले त्यसलाई सात भागमा बाँडून्! यहूदा दक्षिणपट्टि आफ्नै सिमानाभित्र रहनेछ, र यूसुफको घरानाचाहिँ – तिनीहरू उत्तरपट्टि आफ्नै सिमानाभित्र रहनेछन्। 6 यसकारण तिमीहरूले त्यस देशको विवरण सात भागमा गर, अनि त्यो यहाँ मकहाँ ल्याओ, कि म यहाँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु तिमीहरूका निम्ति गोला हालिदिन सकूँ! 7 तर लेवीहरूका निम्ति तिमीहरूको बीचमा कुनै भाग हुनेछैन; किनकि परमप्रभुको पूजाहारी-सेवा नै तिनीहरूको अधिकारको भाग हो। अनि गाद, रूबेन र मनस्सेको आधा कुलले पूर्वपट्टि यर्दनपारि आ-आफ्नो अधिकारको भाग पाइसकेका छन्, जुन भाग परमप्रभुका दास मोशाले तिनीहरूलाई दिए।” 8 अनि ती मानिसहरू उठे, र गए। अनि त्यस देशको विवरण तयार गर्न जानेहरूलाई यहोशूले यसो भनेर आज्ञा गरे: “जाओ, र त्यस देशभरि घुम, त्यसको विवरण लेख र मकहाँ फर्केर आओ, कि म शीलोमा परमप्रभुको सामु तिमीहरूका निम्ति गोला हालिदिन सकूँ!” 9 अनि ती मानिसहरू गए, र त्यस देशभरि घुमे, अनि शहर-शहर गरी सात भाग गरेर एउटा पुस्तकमा त्यसको विवरण लेखे, र शीलोको छाउनीमा यहोशूकहाँ फर्के। 10 अनि शीलोमा यहोशूले परमप्रभुको सामु तिनीहरूका निम्ति गोला हाले; अनि त्यहीं यहोशूले इस्राएलीहरूलाई तिनीहरूका भाग-भागअनुसार त्यो देश बाँड़िदिए।
बिन्यामीनको अधिकारको भाग
11 अनि बिन्यामिनीहरूको कुलको भाग तिनीहरूका परिवारहरूअनुसार निस्क्यो; अनि तिनीहरूको भागको सिमाना यहूदाका सन्तान र यूसुफका सन्तानको बीचमा पर्‍यो। 12 अनि तिनीहरूको उत्तरपट्टिको सिमाना यर्दनदेखि शुरु भएको थियो; अनि सिमाना उत्तरमा यरिहोको छेउबाट भएर उक्लिँदै गयो र पश्‍चिमतिर पहाड़ी देश हुँदै चढ्‍यो, अनि त्यसको टुङ्गो बेत-आवनको उजाड़स्थानमा थियो। 13 अनि त्यहाँबाट सिमाना लूजतिर, लूज अर्थात् बेतएलको छेउसम्म दक्षिण लाग्यो; अनि सिमाना तल्‍लो बेत-होरोनको दक्षिणपट्टि परेको पहाड़को छेउमा भएको अत्रोत-अद्दारसम्म झर्‍यो। 14 अनि त्यहाँबाट सिमाना तानियो, अनि दक्षिणतिर, बेत-होरोनको सामु भएको पहाड़देखि दक्षिण पश्‍चिमपट्टि फेरो मार्‍यो; अनि त्यसको टुङ्गो किर्यत-बालमा थियो, जो यहूदाका सन्तानको शहर किर्यत-यारीम हो। यो नै पश्‍चिम सिमाना हो।
15 अनि दक्षिणी सिमानाचाहिँ किर्यत-यारीमको किनारदेखि शुरु भएको थियो; अनि सिमाना पश्‍चिमतिर लागेर नप्‍तोहको पानीको धारामा निस्क्यो। 16 अनि सिमाना त्यस पहाड़को पल्‍लो किनारतिर ओरालो लाग्यो, जुन पहाड़ हिन्‍नोमको छोराको बेंसीको सामु छ, र जुन पहाड़चाहिँ रपाईहरूको बेंसीमा छ, उत्तरतिर; अनि सिमाना दक्षिणमा यबूसीको छेउमा हिन्‍नोमको बेंसीमा झर्‍यो, र एन्-रोगेलमा झर्‍यो। 17 अनि उत्तरपट्टिबाट तानिएर एन्-शेमेशतिर लाग्यो, र गलीलोतमा निस्क्यो, जोचाहिँ अदुम्मीमको उकालोको सामुन्‍नेमा छ, अनि रूबेनको सन्तान बोहनको ढुङ्गामा झर्‍यो; 18 अनि अराबाको उत्तरपट्टि भएर अघि बढ्यो र अराबामा झर्‍यो। 19 अनि सिमाना बेत-होग्लाको छेउमा उत्तरपट्टि हुँदै अघि बढ्यो; अनि सिमानाको टुङ्गो यर्दनको दक्षिणी पुच्छरमा, क्षार समुद्रको उत्तरी खाड़ीमा थियो; दक्षिण सिमाना यही हो। 20 अनि त्यसको पूर्वपट्टिको सिमानाचाहिँ यर्दन ठहरियो। बिन्यामिनीहरूको अधिकारको भाग, चारैतिरका सिमानाअनुसार, तिनीहरूका परिवारहरूअनुसार यही थियो।
21 अब तिनीहरूका परिवारहरूअनुसार बिन्यामिनीहरूको कुलका शहरहरू यी नै थिए: यरिहो, बेत-होग्ला, कजीजको बेंसी, 22 अनि बेत-अराबा, समारैम, बेतएल, 23 अव्वीम, पारा, ओप्रा, 24 कप्पर-अम्मोनी, ओप्‍नी र गेबा; तिनका गाउँबस्तीहरूसमेत बाह्र शहरहरू। 25 अनि गिबोन, रामा, बेरोत, 26 मिस्पा, कपीरा, मोसा, 27 रेकेम, यिर्पेल, तरला, 28 सेला, एलेप, यबूसी, जो यरूशलेम हो, गिबत र किर्यत; तिनका गाउँबस्तीहरूसमेत चौध शहरहरू। तिनीहरूका परिवारहरूअनुसार बिन्यामिनीहरूको अधिकारको भाग यही हो।