एप्रैमको अधिकारको भाग
16
अनि यूसुफका सन्तानको भाग गोला हाल्दा यरिहोको नजिक यर्दनदेखि लिएर पूर्वतिर यरिहोको पानी हुँदै यरिहोबाट बेतएलको पहाड़ी देशसम्म चढ़्दै गरेको उजाड़स्थान निस्क्यो, 2 अनि बेतएलदेखि लूजसम्म पुग्छ, र अरकीको सिमाना भएर अतारोतसम्म अघि बढ़्छ; 3 अनि पश्चिमतिर ओर्लेर यप्लेतीहरूको सिमाना हुँदै तल्लो बेत-होरोनको सिमाना र गेजेरसम्म जान्छ; अनि त्यसको टुङ्गोचाहिँ समुद्र हो। 4 यसरी यूसुफका सन्तान मनस्से र एप्रैमले आ-आफ्नो अधिकारको भाग लिए। 5 अनि तिनीहरूका परिवारहरूअनुसार एप्रैमका सन्तानको सिमाना यही थियो: पूर्वपट्टि तिनीहरूको अधिकारको भागको सिमाना अत्रोत-अद्दार, माथिल्लो बेत-होरोनसम्म थियो। 6 अनि सिमाना उत्तरपट्टि मिक्मतातसम्म समुद्रतिर लाग्यो; अनि सिमाना पूर्वतिर फेरो मारेर तानत्-शीलोसम्म पुग्यो, अनि त्यसलाई नाघेर पूर्वपट्टि यानोहसम्म अघि बढ्यो; 7 अनि यानोहदेखि त्यो अतारोत र नारासम्म ओरालो लागेर यरिहोमा आइपुग्यो र यर्दनमा निस्क्यो। 8 अनि पश्चिमपट्टि सिमाना तप्पूहदेखि काना नदीसम्म चढ्यो; अनि त्यसको टुङ्गो समुद्रमा थियो। तिनीहरूका परिवारहरूअनुसार एप्रैमका सन्तानको कुलको अधिकारको भाग यही हो। 9 अनि मनस्सेका सन्तानको अधिकारको भागको बीचमा एप्रैमका सन्तानका निम्ति छुट्टै शहरहरू थिए – सबै शहरहरू तिनका गाउँबस्तीहरूसमेत थिए। 10 अनि तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई धपाएनन्क; तर आजको दिनसम्म ती कनानीहरू एप्रैमीहरूको बीचमा रहन्छन् र बेगारीमा काम गर्ने दासहरू भएका छन्।