कनान देशको बाँड़चुँड़
14
अनि ती देशहरू यी नै हुन्, जुन देशहरू इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका थिए, जोचाहिँ पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलहरूका बुबाहरूका अगुवाहरूले तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा बाँड़िदिए। 2 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार साढ़े नौ कुलहरूका निम्ति गोला हालेर तिनीहरूको अधिकारको भाग बाँड़ियो। 3 किनकि मोशाले अढ़ाई कुलको अधिकारको भाग यर्दनपारि बाँड़िदिएका थिए; तर लेवीहरूलाई चाहिँ उनले तिनीहरूको बीचमा कुनै अधिकारको भाग दिएनन्। 4 किनकि यूसुफका सन्तान मनस्से र एप्रैम दुई कुल थिए; यसकारण तिनीहरूले लेवीहरूलाई बस्‍नका निम्ति शहरहरू र उनीहरूका गाईबस्तु र उनीहरूका सम्पत्तिहरूका निम्ति उनीहरूका खुला जमिनहरूबाहेक कुनै भाग दिएनन्। 5 जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै इस्राएलीहरूले गरे; अनि तिनीहरूले त्यो देश बाँड़िदिए।
कालेबको अधिकारको भाग
6 तब यहूदाका सन्तान गिल्गालमा यहोशूकहाँ आए। अनि कनज्जी यपून्‍नेका छोरा कालेबले उनलाई भने: “कादेश-बर्नेअमा परमप्रभुले परमेश्‍वरका जन मोशालाई मेरो र तपाईंको विषयमा भन्‍नुभएको कुरा तपाईंलाई थाहै छ। 7 परमप्रभुका दास मोशाले मलाई कादेश-बर्नेअबाट यस देशको जासुसी गर्न पठाउँदा म चालीस वर्षको थिएँ; अनि जस्तो मेरो हृदयमा थियो, त्यस्तै मैले उनीकहाँ खबर फर्काएर ल्याएँ। 8 तर पनि मेरा दाजुभाइहरू जो मसँग गएका थिए, तिनीहरूले त मानिसहरूको मन लल्‍याकलुलुक पारिदिए; तर मैले चाहिँ पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरलाई पछ्याइरहें। 9 अनि त्यस दिन मोशाले यसो भन्दै शपथ खाए: ‘निश्‍चय त्यो देश, जसमाथि तिम्रा खुट्टाहरूले टेकेका छन्, सधैंका निम्ति तिम्रा र तिम्रा सन्तानको पैतृक सम्पत्ति हुनेछ; किनकि तिमीले पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरलाई पछ्याएका छौ।’ 10 यसकारण अब हेर, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गरेको बेलामा परमप्रभुले मोशालाई यो कुरा भन्‍नुभएको समयदेखि यसो अँ, यी पैंतालीस वर्षभरि परमप्रभुले आफूले भन्‍नुभएबमोजिम मलाई जीवितै राख्‍नुभएको छ; अनि अब हेर, आजको दिन म पचासी वर्ष भएको छु। 11 आज पनि म उत्तिकै बलियो छु, जत्तिको म मोशाले मलाई पठाएको दिनमा थिएँ; लड़ाइँ गर्न, बाहिर जान र भित्र आउनका निम्ति त्यस बेला मेरो बल जत्तिको थियो, मेरो बल अहिले पनि त्यत्तिकै छ। 12 यसकारण अब त्यो पहाड़ मलाई देऊ, जसको बारेमा परमप्रभुले त्यस दिन भन्‍नुभएको थियो; किनकि त्यहाँ अनाकीहरू छन्, अनि शहरहरू ठूला-ठूला र पर्खालले घेरिएका छन् भन्‍ने कुरा तिमीले त्यस दिन सुनेका थियौ। यदि परमप्रभु मेरो साथमा रहनुभयो भने परमप्रभुले भन्‍नुभएझैं म तिनीहरूलाई धपाउन सक्नेछु।” 13 तब यहोशूले तिनलाई आशीर्वाद दिए, र यपून्‍नेका छोरा कालेबलाई पैतृक सम्पत्तिको रूपमा हेब्रोन दिए। 14 यसैकारण आजको दिनसम्म हेब्रोन कनज्जी यपून्‍नेका छोरा कालेबको पैतृक सम्पत्ति बन्‍न गयो; किनकि उनले परमप्रभु इस्राएलका परमेश्‍वरलाई पूर्ण रूपले पछ्याएका थिए। 15 अनि हेब्रोनको नाम पहिले किर्यत-अर्बा थियो; यही अर्बाचाहिँ अनाकीहरूमा सबैभन्दा महान् पुरुष थिए। अनि देशले लड़ाइँबाट विश्राम पायो।