कब्जा गर्न बाँकी रहेका इलाकाहरू
13
जब यहोशू वृद्ध भए र उनको उमेर ढल्किसकेको थियो, तब परमप्रभुले उनलाई भन्‍नुभयो: “तिमी वृद्ध छौ, र तिम्रो उमेर ढल्किसकेको छ; तर अझै अति धेरै देश अधिकारमा ल्याउनु बाँकी नै छ। 2 अझ बाँकी रहेको देश यही नै हो: पलिस्तीहरूका सबै इलाकाहरू र सारा गशूरी; 3 शिहोरदेखि, जो मिस्रको सामु छ, उत्तरपट्टि एक्रोनको सिमानासम्म, जुन एक्रोन कनानीहरूको भाग गनिन्छ – पलिस्तीहरूका पाँच शासकहरू अर्थात् गाजी, अश्दोदी, अश्कलोनी, गित्ती र एक्रोनीहरू; अनि अव्वीहरू पनि; 4 दक्षिणपट्टि कनानीहरूको सारा देश र सिडोनीहरूको मारा, अपेकसम्‍म, अँ, एमोरीहरूको सिमानासम्म; 5 र घाम झुल्कने दिशापट्टि गबालीहरूको देश, र हेर्मोन पहाड़मुनि भएको बाल-गाददेखि लिएर हमातको मुखसम्म सारा लबानोन; 6 लबानोनदेखि लिएर मिस्रपोत-मैमसम्मको पहाड़ी देशका सबै बासिन्दाहरू, अर्थात्‌ सबै सिडोनीहरू– तिनीहरूलाई म इस्राएलीहरूको सामुबाट निकालिदिनेछु; केवल मैले तिमीलाई आज्ञा गरेअनुसार तिमीले गोला हालेर इस्राएलीहरूलाई यो पैतृक सम्पत्तिको रूपमा बाँड़िदेऊ!”
यर्दनको पूर्वपट्टिको भाग पैतृक सम्पत्तिको रूपमा बाँड़चुँड़ गरिएको बयान
7 “यसैले अब तिमीले यो देश नौ कुलहरूलाई र मनस्सेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा बाँड़िदेऊ! 8 जसको साथमा रूबेनीहरू र गादीहरूले आफ्नो पैतृक सम्पत्ति पाइसकेका छन्, जुन पैतृक सम्पत्ति मोशाले यर्दनपारि पूर्वपट्टि उनीहरूलाई दिए, जसरी परमप्रभुका दास मोशाले उनीहरूलाई दिए। 9 अरोएरदेखि लिएर, जोचाहिँ अर्नोन नदीको किनारमा छ, अनि नदीको माझमा भएको शहर, र मेदबाको सारा टार दीबोनसम्मै; 10 अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै शहरहरू, जसले हेश्बोनमा राज्य गर्थे; 11 अनि गिलाद र गशूरीहरू र माकातीहरूका सिमानाहरू र सारा हेर्मोन पहाड़ र सल्कासम्म सारा बाशान; 12 बाशानमा ओगको सारा राज्य, जसले अश्तारोत र एद्रेईमा राज्य गर्थे; तिनीचाहिँ बाँकी रहेका रपाईहरूबाट बचेका थिए; किनकि मोशाले तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई निकाले।” 13 तर इस्राएलीहरूले न गशूरीहरूलाई नता माकातीहरूलाई नै देश निकाला गरे; तर गशूरीहरू र माकातीहरू आजको दिनसम्म इस्राएलीहरूको बीचमा बस्छन्। 14 लेवी कुललाई मात्र उनले कुनै पैतृक सम्पत्ति दिएनन्; किनभने परमप्रभु इस्राएलका परमेश्‍वरका निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूचाहिँ उनीहरूको पैतृक सम्पत्ति हुन्, जस्तो उहाँले उनीहरूलाई भन्‍नुभएको थियो।
15 अनि मोशाले रूबेनीहरूको कुललाई तिनीहरूका परिवारहरूअनुसार पैतृक सम्पत्ति दिए। 16 अनि तिनीहरूको सिमाना अर्नोन नदीको किनारमा अवस्थित भएको अरोएरदेखि नदीको माझको शहर र मेदबाको नजिकको सारा टार, 17 हेश्बोन र टारमा भएका त्यसका सबै शहरहरू अर्थात् दीबोन, बमोत-बाल र बेत-बाल-मेओन; 18 अनि यहसा, कदेमोत र मेपात; 19 अनि किर्यातैम, सिब्मा र बेंसीको डाँड़ामा भएको सेरेत-शहार; 20 अनि बेत-पोर र पिस्गाका पाखाहरू र बेत-यशीमोत, 21 अनि त्यस टारका सबै शहरहरू, र एमोरीहरूका राजा सीहोनको सारा राज्य, जसले हेश्बोनमा राज्य गर्थे, जसलाई मोशाले मिद्यानका शासकहरू एवी, रेकेम, सूर, हूर र रेबाको साथ-साथै मारेका थिए, जो सीहोनका अधिपतिहरू थिए र त्यही देशमा बस्थे। 22 अनि बओरको छोरा बालाम, त्‍यस जोखना हेर्नेलाई पनि इस्राएलीहरूले उनीहरूद्वारा मारिएहरूको साथ-साथै तरवारले मारे। 23 अनि रूबेनीहरूको सिमाना यर्दन र त्यसको किनार थियो। रूबेनीहरूको पैतृक सम्पत्ति तिनीहरूका परिवारहरूअनुसार शहरहरू र तिनका गाउँहरू यी नै हुन्।
24 अनि मोशाले गाद कुललाई, अँ, गादीहरूलाई पनि तिनीहरूका परिवारहरूअनुसार पैतृक सम्पत्ति दिए। 25 अनि तिनीहरूको सिमाना यस प्रकारको थियो: याजेर, र गिलादका सबै शहरहरू र अम्मोनीहरूको आधा देश, रब्बाको सामु भएको अरोएरसम्म; 26 अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनैमदेखि दबीरको सिमानासम्म; 27 अनि बेंसीमा बेत-आराम, बेत-निम्रा, सुक्‍कोत र सापोन, साथै हेश्बोनका राजा सीहोनको राज्यको बाँकी भाग, यर्दन र त्यसको किनार र यर्दनपारि पूर्वपट्टि किन्‍नरेतको समुद्रको किनारसम्म। 28 गादीहरूको पैतृक सम्पत्ति तिनीहरूका परिवारहरूअनुसार शहरहरू र तिनका गाउँहरू यी नै हुन्।
29 अनि मोशाले मनस्सेको आधा कुललाई पैतृक सम्पत्ति दिए; अनि योचाहिँ तिनीहरूका परिवारहरूअनुसार मनस्सेलीहरूको आधा कुलको पैतृक सम्पत्ति थियो। 30 अनि तिनीहरूको सिमाना यस प्रकारको थियो: महनैमदेखि लिएर सारा बाशान, बाशानका राजा ओगको सारा राज्य र याइरका सबै गाउँहरू, जो बाशानमा छन् – साठीवटा शहरहरू। 31 अनि आधा गिलाद, साथै अश्तारोत र एद्रेई, बाशानमा भएको ओगको राज्यका शहरहरू – यी शहरहरू मनस्सेका छोरा माकीरका सन्तान अर्थात् तिनीहरूका परिवारहरूअनुसार माकीरका सन्तानको आधा भागका भए;
32 जुन देशहरू मोशाले यर्दनपारि यरिहोको पूर्वतिर मोआबका मैदानहरूमा पैतृक सम्पत्तिको रूपमा बाँड़ेका थिए, ती देशहरू यी नै हुन्। 33 तर लेवी कुललाई मोशाले कुनै पैतृक सम्पत्ति दिएनन्; परमप्रभु इस्राएलका परमेश्‍वर नै उनीहरूको पैतृक सम्पत्ति हुनुहुन्थ्थो, जसरी उहाँले उनीहरूलाई भन्‍नुभयो।